काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी नवनियुक्त डीआईजी विनोद घिमिरेले पाउँदैछन् ।
प्रहरी महानिरीक्षक (आईजी) सचिवालयका डीआईजीले वहन गर्ने उक्त जिम्मेवारीमा रहेका डीआईजी दिनेशकुमार आचार्य गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर रिक्त थियो । उनको रिक्ततामा आईजी सचिवालयकै एसएसपी रमेश थापाले प्रवक्ताको जिम्मेवारी पाएका थिए ।
बढुवा भएका डीआईजीको शुक्रबार पदस्थापन हुँदा आईजी सचिवालयमा तोकिएका विनोद घिमिरेले प्रवक्ताको जिम्मेवारी पाउने आईजी सचिवालय स्रोतले जनायो । हाल प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी थापा सचिवालयकै अन्य भूमिकामा रहने भएका छन् ।
सरुवा हुँदै एसएसपी
शुक्रबार रातिसम्म एसएसपीहरुको सरुवा निकाल्ने तयारी भइरहेको छ । त्यसका निम्ति छलफल गर्न आईजी दीपक थापा गृह मन्त्रालय पुगेका छन् । एसएसपी सरुवा गृह सचिवस्तरको निर्णयबाट हुन्छ, तर बहालवाला मन्त्रीसँगको परामर्शमा सरुवा निकाल्ने गरिन्छ । सोही क्रममा आईजी थापा मन्त्रालय गएका हुन् ।
शुक्रबारदेखि लागु हुने गरी नेपाल प्रहरीका ११ एसएसपीले डीआईजीको जिम्मेवारी पाएपछि उनीहरुले एसएसपी दर्जामा सम्हालेका जिम्मेवारी रिक्त छन् । ती स्थानमा खटाउन एसएसपी सरुवा निकाल्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
एसएसपीकाे रिक्त जिम्मेवारीमध्ये सबैभन्दा आकर्षक मानिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ हो । त्यहाँ कार्यालय प्रमुख रहेका एसएसपी विनोद घिमिरेकाे आईजी सचिवालयमा पदस्थापन भएकाे छ ।
उपत्यका ट्राफिकका निम्ति एसएसपीहरु नवराज अधिकारी, प्रभुप्रसाद ढकालसहितको प्रस्ताव आएको गृह स्रोतले जनाएको छ । अधिकारी उपत्यका प्रहरी कार्यालय र ढकाल प्रधान कार्यालयस्थित कार्य विभागमा कार्यरत छन् ।
शुक्रबार नवनियुक्त डीआईजी पदस्थापनपछि एसएसपी कार्यालय प्रमुख हुने लागुऔषध नियन्त्रण व्युरो, मानव बेचबिखन अनुसन्धान व्युरो, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षा कार्यालय भैरहवा, डीआईजी पदस्थापनपछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलसहितका युनिटका निम्ति सरुवा निकाल्न लागिएको हो ।
प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, सुर्खेत (हाल नेपालगञ्ज), धरान र पर्साका एसएसपी पनि डीआईजीमा बढुवा भएका कारण त्यहाँ नयाँ एसएसपी पठाइँदैछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा एसएसपी हुँदै टुवाईसी रहेका ओमबहादुर रानाले बढुवासँगैको पदस्थापनमा जिम्मेवारी पाइसकेका छन् । त्यहाँ टुवाईसी हुने गरी अर्का एसएसपीको सरुवा हुने भएको छ ।
सरुवा हुने एसएसपीमध्ये एक जनाले नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सिलरको जिम्मेवारी पाउँदैछन् । त्यहाँको जिम्मेवारीमा रहेका सञ्जीव शर्मा दासको पदस्थापन प्रधान कार्यालयस्थित अपराध अनुसन्धान निर्देशनालयमा भएको छ ।

Leave a Reply