परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबीच हङकङमा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ ।

विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन हङकङ पुगेकी राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल-चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका विषयमा कुराकानी भएको बताइएको छ ।

राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसङ्ग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्‍याउँदै आएको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिइन् । आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानीलगायत विविध क्षेत्रहरूमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको उनले बताइन् ।

त्यस अवसरमा मन्त्री डा. राणाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहिआएको दोहोर्‍याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने प्रष्ट्याइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत डिसेम्बरको भ्रमणको क्रममा भएका सहमति एवं सम्झौताहरूको कार्यान्वयका बारेमा पनि कुराकानी भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङले नेपालले हालै आयोजना गरेको सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न गरेकामा मन्त्री डा. राणामार्फत नेपाल सरकारलाई बधाई दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *