‘काइँला सातु’ बेचिरहेका नारायण : खाडीमा कमाएको दुई करोड गाडीमा गुमाएँ (भिडियो)

२०६१ सालमा एसएलसी उत्तीर्ण गरेँ ।

दोलखाबाट काठमाडौं आएँ । आरआर क्याम्पसमा आइएमा भर्ना भएँ । एकातिर पढ्ने हुटहुटी थियो, अर्कातिर काठमाडौंमा टिक्नुुपर्ने चुनौती । पढ्नका लागि आरआर रोजेँ, बाँच्नका लागि जमलको एक होटल ।

दिनभरि काम गर्थें । साँझ छ बजेदेखि नौ बजेसम्म कलेज पढ्न थालेँ ।

होटलका साहुजी भन्नुहुन्थ्यो, ‘पढाइ र कामलाई सँगसँगै अघि बढाउन गाह्रो छ । कामसँगै पढाइलाई निरन्तरता दिन सकौला र ?’

साहुजीलाई मेरो जवाफ हुन्थ्यो, ‘कम्तीमा आइए त पास गर्छु ।’

बुवा चाहनुहुन्थ्यो, आईए सकाएर नेपाली सेनामा भर्ना हुन सकुँ । चाहेर मात्रै कहाँ हुँदोरहेछ र ! समयले कता कता लैजाँदोरहेछ ।

कलेज पढ्दापढ्दै पढाइलाई बीचमै छाडेर विदेशको उडान भर्ने रहर जाग्यो । विदेश जाने लहर चलेको थियो, त्यही लहरमा म मिसिएँ । झनै गाउँ नजिकैको मामा पर्नुहुनेले ‘तीन वर्षमा पाँच लाख कमाएर आएँ’ भन्नुभएसी त के चाहियो ? बलिरहेको आगोमा घिउ थप्ने काम भयो ।

भर्खरै अठार वर्ष मात्रै लागे लागेको मेरो दिमागमा नयाँ सपनाको बिजारोपन भयो, ‘पाँच लाखले त यो जमानामा धेरै गर्न सकिन्छ ।’

अनि २०६३ सालमा मलेसिया हान्निएँ ।

मैले सोचेको मलेसिया र भोग्नुपर्ने मलेसिया धेरै अलग थियो । जे सोचेर गएको थिएँ, त्यसको ठीक विपरीत थियो ।

जसोतसो मैले २२ महिना कटाएँ ।

जे जति भोगियो, सक्कियो । अब भने मलाई त्यो कठघराबाट निस्कनु थियो । तर मैले चाहेर मात्रै कहाँ हुन्थ्यो र ! कम्पनीले सजिलै घर पठाउनेवाला थिएन ।

मैले एउटा बहाना बनाएँ, आमा बिरामी भएको व्यहोराको चिठी लेख्न लगाएँ। कम्पनीलाई फ्याक्स गर्न लगाएँ । म्यानेजर र मालिकलाई समस्या सुनाएँ । उनीहरुले ४५ दिनको छुट्टी दिए । टिकटको आधा पैसा पनि तिरिदिए । किनभने कम्पनीको सबैभन्दा विश्वासिलो कामदारमध्ये एक म थिएँ ।

जसोतसो बहाना बनाएर नेपाल त आइयो । फेरि मलेसिया जान मलाई मनै थिएन । न मलेसियामा गएर पैसा कमाइयो । नेपालमै पढाइलाई निरन्तरता दिएको भए पनि हुने थिएछ । बाको सपना पूरा गरेको भए पनि हुन्थ्यो ।

नेपालमै बसे पनि बेरोजगार भएर बस्ने छुट मलाई थिएन ।

ठमेलमा एउटा रेस्टुरेन्टमा वेटरको काम गर्न थालेँ । गर्नेहरुले नेपालमै धेरैथोक गरिरहेका थिए । मजस्तो पारिवारिक धरातलबाट आएकाले के गर्न सकिन्थ्यो र ! व्यवसाय गर्नलाई पूँजी थिएन । वेटरको जागिरले के नै हुन्थ्यो र !

यहीबीचमा गाउँकै एकजना दाइ ओमान जानुभयो ।

उहाँ ओमान जानुअघि सामान्य कुराकानी भएको थियो, ‘म गएपछि तँलाई खबर गर्छु । राम्रो छ भन्ने सुनेको छु । राम्रो थिएछ तँ पनि आइज ।’

दाइ ओमान पुगेपछि खबर दिनुभयो, ‘रोयल प्यालेसमा गार्डेनको काम छ, महिनाको ३० हजार तलब हुन्छ, खान बस्न सुबिधा छ ।’

यसपछि मैले गार्डेन सम्बन्धी ट्रेनिङ लिएँ । हामी लगभग तीन सय जना थियौं । साउन महिनामा अन्तर्वार्ता भयो । म पास भएँ । मसहित अन्य ३० जना नेपाली पास भए । हामी २०६६ कात्तिक २२ गते ओमन पुग्यौं ।

भनेजस्तै सेवा सुविधा र तलब पाएपछि खुसी लाग्यो । मलेसियाको दर्दनाक जिन्दगीभन्दा त स्वर्ग नै पुगेजस्तो भयो । देश, साथीभाइ, इष्टमित्र सबै छोड्नुको पीडा सम्झिँदा त के स्वर्ग भन्नु र । त्यै पनि मलेसियाभन्दा कहाँ हो कहाँ उत्तम थियो ।

ओमानका राजाको दरबारभित्र काम थियो । सात घण्टा काम गरेपछि बाँकी समय फुर्सद हुन्थ्यो । त्यही फुर्सदको सदुपयोग गर्दै मैले थुप्रो गजल लेखेँ । गजल मेरा लागि कामको चाप र घरपरिवारसँगको बिछोड भुलाउने सेतु बन्यो ।

बेलाबखत नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा जाँदा मन फुरुंग हुन्थ्यो । नयाँ साथीभाइसित भेट हुन्थ्यो । यस्तै कार्यक्रम र साहित्यिक साथीभाइले गर्मीको मौसमक बितेको पत्तै हुँदैनथ्यो । समय त यति चाँडो बितेछ कि आठ वर्ष बितेको समेत पत्तो पाइनँ ।

३० हजार नेपाली रुपैयाँ मासिक तलबमा गएको म फर्कनेवेला ९० हजार पुगेको थियो । चाडपर्वमा राजाले बक्सिस अलग्गै थियो । तर, ९० हजार तलब मलाई थोरै लाग्न थाल्यो ।

भक्तपुरमा अलिअलि जग्गाजमिन जोडिसकेको थिएँ ।

तर, मान्छे कहिल्यै सन्तुष्ट हुन सक्दैन । म पनि भइनँ । बीचमा बिदामा नेपाल आउँदा एक आफन्तले भेटघाटको क्रममा भन्नुभयो, ‘सधैं एक्लै कति बस्नुहुन्छ ? परिवार नै लिएर जापान आउनुस् ।’

बिहे गरेको एक वर्ष मात्रै भएको थियो । सबै माहौल र परिस्थितिलाई ख्याल गरेर म परिवारसहित जापान जानलाई झण्डै लाख रुपैयाँको तलब छाडेर नेपाल फर्किएँ ।

नेपाल फर्कनसाथ जापानको तयारीमा लागेँ, २०७३ सालमा ।

जापानका लागि सबै कागजपत्र तयार गरेर जापान पठाएँ । दुर्भाग्य, मेरो कागजपत्र जापान पुग्नसाथ केही समयका लागि जापान सरकारले भिषा प्रक्रिया नै बन्द गरिदियो । ओमानको त्यति राम्रो सुविधा त्यागेर आएको मलाई मानसिक तनाव भयो । उता लाख तलब छाडेर आएँ, यता कामै नहुने पक्का भयो ।

अब म के गरौं ?

नेपालमा दाजुभाइहरुले बस संचालन गरिरहेका थिए अरनिको यातायात र मध्य उपत्यका काठमाडौंमा मैले पनि त्यसमा थोरबहुत लगानी गरेको थिएँ । एक दिन दाजुले बुवालाई भनेछ, ‘भाइ किन जापान जानुपर्यो ? यही गाडीमा लगानी गरेर कम्पनी चलाउँदा भइहाल्छ ।’

बुवाले मलाई सम्झाउनुभयो, ‘दश वर्ष विदेश बसिहालिस् । अब सबै परिवार सँगै बसौं । हामी पनि बुढाबुढी भइसक्यौं । दाजुको कुरा ठीकै त हो ।’

बुवा र दाजुको सल्लाह मानेँ मैले । भक्तपुरको चारआना जग्गा धितो राखेर चारवटा साना र दुईवटा ठूला बस ल्याएर काम सुरु गरियो । दाजुभाइको गाडी लाइनमा अनुभव भए पनि म विल्कूल नयाँ थिएँ ।

(भिडियो)

गाडीमा लगभग दुई करोड रुपैयाँ लगानी भयो । केही बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि पाइयो । केही रोजगारी सृजना समेत भयो । योभन्दा ठूलो कुरा के चाहिन्थ्यो र मलाई ?

गाडीको कमाइले जसोतसो बैंकलाई किस्ता बुझाउन पुग्थ्यो । यति मात्रै पुग्दा पनि काम गर्ने हौसला मिल्थ्यो ।

२०७५ सालको कुरा हो । केपी ओलीको सरकार थियो । खै के कारण हो, सरकारले अचानक यातायातको सिन्डिकेट खारेज गरिदियो । तर, विचौलियाहरुको सिन्डिकेट खारेज गरेन । अहिले पनि जतासुकै सिन्डिकेट नै सिन्डिकेट छ विचौलियाहरुको ।

अहिले मेरो सोझो बुझाइले भन्छ, त्यसवेला विचौलियासँग कमिसन खानलाई सिन्डिकेट खारेज गरेका रहेछन् ।

त्यसबेला सिन्डिकेट खारेज गरिएपछि एकाएक अनेकौं संस्था खोलिए । नयाँ-नयाँ कम्पनीका गाडी भित्रिए । पुराना व्यवसाय धाराशायी बन्ने अवस्थामा पुगे ।

नयाँ व्यवसायीको त कुरै छाडौं । उनीहरु गाडी किन्दैमा धनी भइन्छ भनेर गाडी किन्न थाले । लगानी सुरक्षित छ कि छैन भनेर लेखाजोखा नगरी अन्धानुन्ध लगानी गर्न थाले । विडम्बना, यो लहड धेरै समयसम्म टिकेन ।

धेरै व्यवसायीले हतोत्साहित मात्रै होइन, निराश भएँ । कतिले आत्महत्या गरे । लगानीको प्रतिफल त के, स्टाफ पाल्नै धौ धौ हुन थाल्यो । यही चपेटामा म पनि पिल्सिएँ । सुध्रेला कि भन्दाभन्दै वर्ष बित्यो । अन्तिममा आजित भएर ३५/३५ लाख लगानीमा तयार भएको गाडी २०/२० लाखमा बेच्नुपर्यो । दुःखले जोडेको जग्गा पनि बचाउन सक्ने अवस्था भएन । मैले खाडीमा कमाएको दुई करोड गुमाएँ ।

तनाव यति धेरै भयो कि मर्न मात्रै सकिनँ । घरमा ७५ वर्ष नाघेका बाआमा थिए, श्रीमती छोराछोरी थिए । उनीहरुको अवोध अनुहारले मलाई भागेर कतै पनि जान दिएन ।

सरकारको निर्णयले आसेपासे र विचौलियालाई सजिलो बनायो होला । तर, हामीजस्ता देशकै केही गर्छु भन्ने युवालाई भने सरकारको निर्णय बज्रपात भयो । विदेशमा मजदुरी गरेर जे जति कमाएको थिएँ, सरकारको एउटा निर्णयले खरानी भयो ।

यहीवेला छोराछोरीलाई स्कुल पढाउने वेला सुरु भयो । यहीवेला करोडबाट रोडमा आइपुगेको थिएँ । यिनै कारण वेलावेला घर झगडासमेत हुन्थ्यो । मनमा अनेक खाले कुराहरु खेल्थे । तर धेर्यता बाहेक अर्को विकल्प थिएन मसँग ।

फेरि विदेश जाने कोसिस समेत गरेँ । तर, पटकपटक असफल भएँ । ऋणमा चलेको जिन्दगी ऋणकै खाडलमा डुब्दै गयो । तर, मलाई अझैं पनि देशमै केही गर्छु भन्ने मनमा थियो ।

अनि आफन्तकै सल्लाहमा सानो मसला मिल,पसल गर्ने भनेर सटर लिएँ, काँडाघारी फोर्सपार्कमा ।सटर मात्रै लिएर के गर्नु, लगानी थिएन । एक महिनाको रित्तो सटरको भाडा तिरेँ । लगानी नभएकोबारे काका ज्वाइँलाई सुनाएँ । उहाँले भन्नुभयो, ‘धेरै त सक्दिनँ । ३० हजार लेऊ ।’

त्यो पैसाले मिल आयो । ढक तराजुका लागि पैसा थिएन, मामाससुराको छोरालाई भने उसले बीस हजार रुपैयाँ दियो । यहीवेला कोरोना महामारी सुरु भयो । अगाभी हिँडेको बाटो बांगो भन्थे, हो कि क्या हो भने झै भयो १ सटर भाडा, ऋणको ब्याज, खानपानको जोरजामले तनाव मात्रै दियो । तनावमै चल्यो जिन्दगी केही समय।

केही वित्तीय संस्था, चिनेका साथीभाइबाट पाएको ऋणपानले जसोतसो पसल चलाएँ । कतिपय साथीभाइको ऋण तिरिसकेँ, अलिअलि अझैं तिर्न बाँकी छ ।

अहिले मसला पसल चलाएको पनि पाँच वर्ष बितिसक्यो ।

अचेल गाउँघरतिरका लोकल सामान, दाल, गेडागुडी अझ भनौं सबै परिकार मिसाएको सातु बेच्न थालेको छु । अहिले मसला पसलले जेनतेन मेरो र परिवारको जीवन धानेको छ । मिहेनत गर्न छाडेको छैनौ । दिनरात नभनी श्रीमती र म खटिइरहेका छौं ।

राज्यले लगाएको कर खपिनसक्नु छ । ल मानौं, व्यवसायिक करप्रति आपत्ति छैन । तर, राज्यले के के सुविधा दिएको छ त करको बदलामा ? देशमै केही गर्छु भन्नेलाई प्रोत्साहन छैन । हामीजस्ता स–साना व्यवसाय गर्नेहरुलाई लगानी सुरक्षाको ग्यारेन्टी छैन । नागरिकता दिँदैमा राज्यको नागरिकप्रतिको कर्तव्य पूरा हुन्छ र ?

एसएलसी दिएर काठमाडौं आउँदा र अहिले काठमाडौंमा दुःख गरिरहँदा राज्यले दिने लगानी सम्बन्धी सुरक्षाको सन्दर्भमा स–साना व्यवसायीको हालत उस्तै छ । करोडौं लगानी गरेर देशमै केही गर्छु भनेर खाडीमा बगाएको पसिना खन्याएको म आज पनि उस्तै पीडामा छु । अहिले पनि विमानस्थल भरिभराउ छ । भिजिट भिषामा नागरिकलाई विदेश पठाउँदै कसिमन असुल्ने काममा राज्य नै लागेको भन्ने कुरा आइरहेको छ ।

अहिले लाग्दैछ, यो देश छाड्नु नै उत्तम विकल्प हो । देशमै केही गर्छु भन्ने आशा दिनप्रतिदिन मर्दै गइरहेको छ । देश चलाउनेहरुको प्रवृत्ति हेर्दा केही परिवर्तन होलाजस्तो पनि लाग्दैन । अहिले पनि ३० लाख ऋण छ । वार्षिक छ लाख ब्याज तिर्दैैछु । सहकारीको ऋण, पसलको लगानी र पुरानो ऋणको ब्याज हो यो ।

यो सातुको व्यापारले के होला र ! अहिले आफैंले आफैंलाई फकाउँदै, सम्झाउँदै काम गरिरहेको छु । कहाँ पुग्छु, थाहा छैन । तर, जिन्दगीले निराश मात्रै बनाउँदै लगिरहेको छ ।

जहिल्यै मनमा एउटै प्रश्न उठिरहन्छ, ‘आखेरी यो देश कहिले बन्छ ? कहिले बस्नलायक हुन्छ यो देश ?’

०००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *