काठमाडौं । डेढ दशकदेखि कविता, आख्यान, गैरआख्यान, काव्य, फिल्म र नाटकको समीक्षा लेखिरहेका लेखक तथा समीक्षक गुरुङ सुशान्तको निबन्धात्मक गैरआख्यान किताब ‘इतर समीक्षा’ सार्वजनिक भएको छ । १८ औं गणतन्त्र दिवस पारेर राजधानीको प्रज्ञा प्रतिष्ठानमा किताब लोकार्पण गरिएको हो ।
कार्यक्रममा वक्ताहरू खगेन्द्र संग्रौला, कुमार नगरकोटी, नवीन सुब्बा, उज्ज्वल प्रसाईं र दोभान राईले किताबमाथि टिप्पणी र समीक्षा गरेका थिए । कवि शकुन्तला जोशीले सञ्चालन गरेको कार्यक्रममा आख्यानकार कुमार नगरकोटीले जीवन–जगत्का दुःख, खुसी र सपना दर्शाउने दुईवटा कविता वाचन गरेका थिए भने यसपछि उनले समीक्षा–किताब ‘इतर समीक्षा’लाई सदीक्षा र शुभकामना दिए ।
लेखक संग्रौलाले ‘इतर समीक्षा’ समीक्षाको नयाँ आविष्कार भएको बताउँदै भने, ‘केही समीक्षकले समीक्षा र समालोचनाको बीउ जोगाए पनि त्यो अत्यन्तै कमजोर छ । लेख्ने कोही नभएका बेला प्रभावकारी र गुणस्तरीय समीक्षा लेख्ने दुस्साहस गर्नु नै यो किताबको महत्त्वपूर्ण र सुन्दर पक्ष हो ।’
निर्देशक सुब्बाले ‘इतर समीक्षा’ ले नेपाली ज्ञान निर्माणको क्षेत्रमा विगत एक दशकको नेपाली चित्र र चरित्र देखाएको बताए । उनले भने, ‘पुस्तकमै फिल्म समीक्षा पनि सुरु गरेकोमा लेखक गुरुङ सुशान्त धन्यवादका पात्र भएका छन् । सिनेमालाई बौद्धिक वृत्तले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन, तर कोसिस यो किताबले पक्कै गरेको छ ।
समाजशास्त्री एवम् कम्प्युटर वैज्ञानिक दोभान राईले ‘इतर समीक्षा’ मा अधिकांश समीक्षा पहिचानको दृष्टिकोणबाट लेखिएको बताइन् । लेखक तथा विश्लेषक उज्जवल प्रसाईंले भने ‘यो किताब नेपाली साहित्यमा समीक्षा विधाको दस्तावेज भएर रहनेछ । किताबले गुणस्तरीय समीक्षाको अभाव पनि पूर्ति गरेको छ र यो सानो सर्वेक्षणका रुपमा प्रकाशित भएको छ ।’
लेखक गुरुङ सुशान्तले आफू पुस्तक पढ्ने लोभले समीक्षक बन्न पुगेको सुनाए । ६५ वटा समीक्षा संग्रहित ‘इतर समीक्षा’मा कवि विनोदविक्रम केसीको लामो निबन्धात्मक भूमिका समेटिएको छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

Leave a Reply