काठमाडौं । चौथो हप्तामा प्रवेश गरेको चलचित्र ‘ऊनको स्वेटर’ ले हालसम्म १० करोड पाँच लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ ।
आटमान्डु नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्र चौथो हप्ता प्रवेश गरिसक्दा पनि देशभर सयभन्दा बढी शो पइरहेको छ । चौथो हप्ता पुग्दाको यो शो संख्या उल्लेखनीय मानिन्छ ।
यद्यपि चलचित्र विकास बोर्डले भने आधिकारिक रूपमा ‘ऊनको स्वेटर’ को ग्रस कलेक्सन सार्वजनिक गरेको छैन । विकास बोर्डको तथ्यांक र निर्माताको दाबीमा केही लाख रकम तलमाथि हुने गरेको छ ।
नवीन चौहान निर्देशित यस चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बूलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रले दर्शकबाट पाइरहेको प्रशंसा र सकारात्मक समीक्षाले गर्दा चलचित्रको चौथो सातासम्मको यात्रालाई उल्लेखनीय बनाएको हो ।
हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन, तर विदेशमा पनि चलचित्रले लगातार राम्रो प्रदर्शन गरिरहेको निर्माताको दाबी छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले व्यापारको आधारमा यो चलचित्रलाई ‘सुपरहिट’ को ट्याग दिएको छ ।

Leave a Reply