लुम्बिनी केबलकारको दुई वर्ष: आन्तरिक र भारतीय पर्यटक भरिभराउ, तेस्रो देशबाट २ सय मात्रै

रुपन्देही । सञ्चालनको दुई वर्षमा बुटवलको लुम्बिनी केबलकारले साढे तीन लाख पर्यटक भित्र्याएको छ । भारतीय पर्यटकको विशेष आकर्षण भएको यो केबलकारमा गएपछि कामाख्या देवीको पूजा गर्न पाइने भएकाले पनि भारतीय पर्यटकले बढी रुचि देखाएका हुन् ।

२०८० जेठ १५ देखि व्यावसायिक सञ्चालनमा आएको केबलकारले दुई वर्ष मा ३ लाख ४७ हजार ९७६ पर्यटक भित्राएको कम्पनीले जनाएको छ । यो तथ्याङ्क वैशाख मसान्तसम्मको हो ।

केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेका अनुसार साढे तीन लाख पर्यटक मध्ये भारतीय पर्यटकको संख्या मात्रै ४१ हजार ६४८ जना र तेस्रो मुलुकका पर्यटकको संख्या २ सय जना छन् । बुटवल ३ बम घाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा केबलकारको माथिल्लो स्टेसन छ ।

समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको स्वच्छ, शान्त र रमणीय वसन्तपुर डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेसन सहित प्रख्यात शक्ति पीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ (आधुनिक पिङ), बाल उद्यान, रेष्टुरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडो लाई केबलकारले आकर्षक पर्यटकीय गन्तव्य बनाएको हो ।

वसन्तपुरको प्रख्यात शक्ति पीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनर्निर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् । यहाँ पुग्ने अधिकांश भारतीय पर्यटकहरू कामाख्यादेवीको पूजाका लागि आएको बताउँछन् ।

केबलकार बनेसँगै सुनसान गाउँमा आन्तरिक र बाह्य पर्यटकको आगमनले चहलपहल बढेको छ । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न सहरबाट भक्तजनहरू उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् ।

माथिल्लो स्टेसनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ (पिङ) लगायत पूर्वाधार बनेका छन् । वसन्तपुरबाट बुटवल, तिलोत्तमा हुँदै भैरहवासम्मको दृश्य र मौसम सफा हुँदा हिम शृङ्खला समेत देख्न सकिन्छ ।

समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको वसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको भारत सुनौलीका आलोक जोशी बताउँछन् ।

धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकूल मौसम, बजारको कोलाहल र प्रदूषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण वसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाइको थलो बनेको केबलकारका स्थानीय लगानीकर्ता तेजप्रसाद सुनारले बताए ।

अहिले वसन्तपुर सेलिब्रेटी कलाकार, खेलाडी, सबैजसो दलका नेता घुम्न आउनेदेखि म्युजिक भिडियो सुटिङ गर्ने थलो बनेको सुनारले सुनाए । ‘रुपन्देही आएका बेला पूर्व राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, चर्चित कलाकार सबै एक पटक वसन्तपुर आउने गरेका छन्’–सुनारले भने–‘शुरु गरेको दुई दशकसम्म केबलकार बनाउन नसक्दा धेरैले खिसीटिउरी गर्थे, अहिले उनीहरू नै स्याबासी दिन्छन् ।’

केबलकारले जन्मदिन परेका व्यक्तिलाई उक्त दिन निःशुल्क यात्रा गराउने अफर,हरेक महिनाको एक गते सन्ध्या आरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर सहित विभिन्न व्यावसायिक संघसंस्थाहरुसँग छुट सम्झौता गरेर बजार प्रवर्द्धन गरिरहेको छ ।

केबलकारले दुई वटा स्थानीय तहलाई वैशाख मसान्तसम्म २१ लाख २४ हजारका दरले कूल ४३ लाख ४८ हजार आम्दानी दिएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । यसबाहेक तिनाउ गाउँपालिकालाई मनोरञ्जन कर समेत दिने गरेको छ ।

अस्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ । विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर सैंजू बताउँछन् ।

केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले वसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचिमा सूचीकृत गरेको परिषद्का प्रमुख रामु जोशीले बताए ।

केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा वसन्तपुरमा एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको छ ।

केबलकार कम्पनीले वसन्तपुरमा होमस्टे सञ्चालन गर्न गाउँलेलाई आग्रह गरेको छ । उत्पादन भएका सबै खाले कृषि उपज खरिद गरिदिने तथा रोजगारीका लागि योग्य जनशक्ति भए रोजगारी दिने ग्यारेन्टी गरेको केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले बताए ।

रुपन्देही ब्यापार संघका अध्यक्ष दीपक अधिकारीले लुम्बिनी केबलकार सञ्चालनले बुटवलले प्रदेशको स्थायी राजधानी गुमाउँदा लागेको घाउमा केही हदसम्म मलहमपट्टि लगाउन सकेको टिप्पणी गर्दै यसले समग्र बुटवलको अर्थतन्त्र चलायमान बनाउन सघाएको बताए ।

उनले वसन्तपुरमा सबै वर्गका पर्यटकलाई मध्यनजर गरी होटेल छिटो बनाउनुपर्ने सुझाए । ‘क्यासिनो, बैंक्वेट हल, स्वीमिङ पुल सहितको होटेल सञ्चालनमा आउँदा भारतीय र आन्तरिक पर्यटक आगमन बढ्छ,त्यसलाई छिटो अघि बढाउनुपर्छ’–अधिकारीले भने । केबलकारलाई दीगो रुपमा सञ्चालन गरी बुटवलको अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने मान्यताले आफूहरूले केबलकारसँग टिकटमा छुट सहितको सम्झौता नै गरेको अधिकारीले बताए ।

केबलकारका परिकल्पनाकार लक्ष्मण गौतमले २९ वर्षअघि परिकल्पना गरेर धेरै दुःख, हण्डर खाँदै बीचमा धेरैले विश्वास गर्न छाडेको अवस्थामा केबलकार सञ्चालनको सपना पूरा भएपछि वसन्तपुर र बुटवल दुबैलाई गुल्जार बनाएकोमा खुशी व्यक्त गरे । ‘निजी क्षेत्रबाट ठूलो लगानी भएको यस्ता परियोजनालाई दीगोरुपमा चलाउन सरकारी निकायबाट साथ र सहयोग हुनुपर्छ,पर्यटकमैत्री नीति नियम बनाउनुपर्छ’–उनले भने ।

बुटवलमै स्थानीय लगानीकर्ता रहेको सिद्धार्थ केबलकार पनि सञ्चालनमा आएको छ । तर औपचारिक उद्घाटन भएको छैन । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले लुम्बिनी प्रदेशको पहिलो केबलकारको माथिल्लो स्टेसन वसन्तपुरमा बनेपछि उक्त ठाउँ आकर्षक पर्यटकीय गन्तव्य बनेको बताए ।

‘दुई वर्ष अघिसम्म सुनसान थलो अहिले तिनाउ गाउँपालिकाको मात्र हैन प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ’–अध्यक्ष श्रेष्ठले भने–‘केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर बापत दिएको छ, यसले स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *