तस्बिरमा दुई हात जोडी उभिएका सिरहाको गोलबजार नगरपालिका- ३ भाङ्गवारी गाउँका ६५ वर्षीय असर्फी सदा मुसहरको घर संविधानसभा निर्वाचनताका तुल र ब्यानरले झिलिमिली थियो । भूमिहीन सुकुमबासी तथा कृषि मजदुर सदा तन्नेरी हुञ्जेल गणतन्त्र स्थापनाको लागि भएका दर्जनौं आन्दोलनको मोर्चामा सामेल भए । गणतन्त्र र मधेश सरकार आएपछि एकमुट्ठी माटोको लालपुर्जा पाइएला भन्ने उनको धोको थियो, जुन अहिलेसम्म अधुरै छ । उनले जीवनमा आर्जन गरेको जायजेथा भनेको त्यही एउटा झुपडी थियो ।
दोस्रो संविधानसभाको निर्वाचनका बेला उनको झुपडीमा हँसिया हथौडा अंकित कम्युुनिष्ट पार्टीको रातो झन्डा सिउरिन आउने नेतालाई उनले आग्रह गरेका थिए- ‘यति मेरो झुपडीले चर्चेको जमिनको लालपुर्जा मिलोस् ।’
त्यसैगरी ‘अबकी बार मधेश सरकार’को ब्यानर टाङ्नेहरूसँग पनि उनले बिन्ती बिसाएका थिए, ‘हजुर उट्ठीबास नहोस् । जिउँदो रहुञ्जेल सुत्ने र मरेपछि गाड्ने मेरो शरीरको आयतन बराबरको माटोको लालपुर्जा पाउँ । यो घडेरीमा मेरो बाजे र बाउको जीवन बित्यो । मेरो पनि बुढेसकाल भयो ।’
गणतन्त्र स्थापना भएको १७ वर्ष व्यतित भयो, तर उनी भूमिपति नभई यो संसार छोडेर जानुपर्ने पीरले हिजोआज थलिएका छन् । असर्फी सदाले गणतन्त्रसँग धेरै मागेका छैनन् । फगत उनको झुपडीले चर्चेको ७० स्क्वायर फिट भूमिको लालपुर्जा मागेका छन् । यो देशमा जन्मिएर सारा जीवन कृषि मजदुर भएर घोटिएका असर्फी पनि नागरिक हुन्, तर जमिन जोतेर लाल बनाउने कृषि मजदुर सदाले लालपुर्जा पाएनन् ।
गणतन्त्र पनि तन्नेरी वयमा प्रवेश गर्दैछ, तर वृद्ध वयका असर्फी सदाका बालबच्चा उठीबास हुने भयले त्राहीत्राहीमा छन् । ४ पुस्तादेखि बस्दै आएको उनको झुपडी उभिएको ठाउँ कुनै जमिनदारको ‘जिरायत’ हो रे ! राणाकालमा पोत तिर्न नसकेर जफत भई अमानतमा लागेको यो जग्गामा खेती गर्न चाहिने मजदुर मुसहर समुदायलाई थालथलो बनाउन दिइयो । अहिले काल्पनिक कथा बुनिएको छ ।
एक भूमाफियाले उहिले टाटपल्टिएका जमिनदारका पनाति हुँ भन्दै जिजुबाजेको नाउँको जग्गा आफ्नो नाममा दर्ता गराई मुसहरहरूलाई उठीबास लगाउँदैछन् । स्थानीय सरकारले पनि भूमाफियालाई सघाएको छ । गणतन्त्र र मधेश सरकार स्थापना भएपछि लालपुर्जा लालपुर्जा भन्दै प्राण त्याग्ने बेला भएका असर्फी सदाका बालबच्चाले अब उठीबास हुनुपर्ने अवस्था आएको छ ।
कम्युनिष्टहरूले सत्ता नपाउञ्जेल भूमिको सवाल उठाए । सत्तामा पुगेपछि भूमिको सवाललाई राजनीतिको एउटा कुइनेटोमा छोपछाप पारे । मधेशको मसिहा हौं भन्नेहरू मधेशमा जमिनदारको वर्चस्व कायम राख्न भूमि वितरणको विरुद्ध अभेद्य पर्खाल बनेर उभिएका छन् ।
भाङबारीको मुसहर बस्ती प्रतिनिधि उदाहरणमात्र हो । तराई-मधेशमा उठीबासको सिलसिला चलेको छ । थातथलो उजाडिएकाहरूको लर्को छ । दलित मुसहर, चमार, डोम, खत्बे जस्ता कथित पानी नचल्ने जातजाति, जो ८० प्रतिशत भूमिहीन छन्- उनीहरूलाई बासस्थानबाट विस्थापित गरिँदैछ । तराई-मधेशमा दलित सुकुमबासीहरू मालिकको ‘हरबाह चरबाह’का रूपमा काम गर्थे । मालिकलाई असीमित जमिनदारीमा खेती लगाउन कृषि मजदुर चाहिन्थ्यो । दयामाया लागेर वा मजदुरको आवश्यकता पूरा गर्न मालिकले झुपडी बनाउने जमिन (स्वामित्व आफैंसग राखेर) दिन्थे । यसरी मालिकको जमिनमा बस्ने, ऐलानी पर्ती, पोखरीको डिल, सडकको किनार, नदी उकास र गौचरणको छेउछाउमा घर बनाएर बस्ने दलित सुकुमबासीहरूको संख्या ८० प्रतिशत छ ।
अहिले तराई-मधेशमा दलित भूमिहीनहरू उठीबासको शिकार हुँदैछन् । स्थानीय सरकारहरूले विकासका नाममा सडक विस्तार गर्ने वा अन्य भौतिक संरचना निर्माण गर्ने नाममा अर्को वैकल्पिक व्यवस्था नगरिकन अविवेकी ढंगले दलित भूमिहीनहरूको थातथलो भत्काउँदैछन् ।
भूमाफियाहरूले अनेक तिकडम गरेर फर्जी कागजात बनाएर दलित सुकमबासी बस्ती आफ्नो नाममा गराउँछन् । त्यसपछि पुस्तौंपुस्तादेखि बसोबास गरिरहेको स्थानमा डोजर लगाएर, घर भत्काइ दिएर जमिन कब्जा गर्छन् । मालिकले जमिन खाली गराउँछन् । कहिले सिङ्गो दलित बस्तीलाई नाकाबन्दी गरेर थातथलो छोड्न बाध्य पारिन्छ ।
तराई-मधेशमा यतिबेला उठीबासमा परेका दलित भूमिहीन सुकुमबासीहरूको ताँती देखिन्छ । स्थानीय प्रहरी प्रशासन भूमाफिया र मालिकको ‘नोटको बिटो’ समाएर उठीबासको रमिता हेर्छन् । उल्टो दलित सुकुमबासीहरूमाथि दमन गर्छन् । कतै कुनै सहारा नपाउँदा पीडतहरू मिडियासमक्ष आएर मनको बह पोख्छन् ।
वास्तवमा सुशासनको चिरहरण र सामाजिक न्यायको अभावमा गणतन्त्र कुपोषणमा परेको छ । क्षयरोग लागेर हाडछालामात्रै बाँकी भए जस्तै गणतन्त्र फुकिढल देखिन्छ । मधेशको मसिहा हौं भन्नेहरू पनि एक दशक नबित्दै मधेशमा अस्तित्व रक्षाका लागि संघर्षरत छन् ।
उठीबासमा परेका सुरुङ्गा नगरपालिका- ४ सप्तरीका कुञ्जिलाल सदा भन्छन्, ‘पञ्चायतकालमा पनि घरधुरी च्यात्न पाइँदैनथ्यो । हामीलाई उठीबास लगाउने कुन गणतन्त्र आयो ? अब हामी बालबच्चा लिएर कहाँ जाऔं । बाँदर होइनौं कि रुखमाथि चढेर बसौं । धर्तीमा कतै टेक्ने र ओत लाग्ने ठाउँ रहेन ।’ उनको दुर्दशापूर्ण बिल्लीबाठ हृदयविदारक छ ।
उहिले उहिले त कम्युनिष्टहरू गीत गाउँथे, ‘बसाइ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ ।’ राता मान्छे भनिने कम्युनिष्टहरूको गीत सुनेर दलित सुकुमबासीहरू लालझन्डामुनि गोलबन्द भए । मधेश सरकार बनेपछि मधेशमा पनि सामाजिक न्याय र समानतामा आधारित समाज निर्माण हुने उनीहरूले आशा गरेकै थिए । असर्फीको झुपडीमा लालझन्डा र ‘अब कि बार मधेश सरकार’को ब्यानर टाङ्नेहरूको जीवनमा बहार आयो । उनीहरू सुखसयल र बिलासी जीवन जिउँदैछन्, तर असर्फी र कुञ्जिलालहरू ओत लाग्ने झुपडीबमोजिमको माटो पनि खोसिएर फिरन्ता बनेर विरहमा भौतारिंदैछन् ।
कम्युनिष्टहरूले सत्ता नपाउञ्जेल भूमिको सवाल उठाए । सत्तामा पुगेपछि भूमिको सवाललाई राजनीतिको एउटा कुइनेटोमा छोपछाप पारे । मधेशको मसिहा हौं भन्नेहरू मधेशमा जमिनदारको वर्चस्व कायम राख्न भूमि वितरणको विरुद्ध अभेद्य पर्खाल बनेर उभिएका छन् । नेपाली कांग्रेसले बीपीको ‘श्राद्ध पिण्ड’सँगै समाजवादलाई वनारसको गंगाघाटमा सेलाइसक्यो ।
यता सिरहाका असर्फी सदा र सप्तरीका कुञ्जिलाल सदा जस्ता हजारौं मुसहरलगायत अन्य दलित परिवार उठीबासको शिकार भएका छन् । उता नेकपा एमाले र नेपाली कांग्रेसको सरकार भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखकलाई जोगाएर गणतन्त्रको दीर्घायुका लागि काठमाडौं कब्जा गर्दैछन् ।
वास्तवमा सुशासनको चिरहरण र सामाजिक न्यायको अभावमा गणतन्त्र कुपोषणमा परेको छ । क्षयरोग लागेर हाडछालामात्रै बाँकी भए जस्तै गणतन्त्र फुकिढल देखिन्छ । मधेशको मसिहा हौं भन्नेहरू पनि एक दशक नबित्दै मधेशमा अस्तित्व रक्षाका लागि संघर्षरत छन् । सुशासनको प्रत्याभूति र न्याय तथा समानतामा आधारित समाज निर्माणतर्फ अग्रसर भएर असर्फी र कुञ्जिलालहरू जस्ता नागरिक गणतन्त्रको रक्षाका लागि उभिने वातावरण नबनाएसम्म गणतन्त्रमाथि सधैँ खतरा रहिरहनेछ । गणतन्त्रको क्षयीकरण रोक्ने ओखती नै सुशासन र सामाजिक न्याय हो । चेतना भया !

Leave a Reply