काठमाडौं । नेपालमा चौथो चरणमा पुगेका पेटसम्बन्धी क्यान्सर बिरामीहरूको उपचारमा भइरहेको बेथितिबारे सजग गराउँदै नयाँ प्रविधिको प्रयोगबारे सचेत गर्न र गराउन पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।
सर्जिकल अन्कोलोजी सोसाइटी अफ नेपालले राजधानीमा ‘पेरिटोनियल सर्फेस मालिग्नासिस’ शीर्षकमा प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो । काठमाडौंमा यही जेठ १७ गते हुने सम्मेलनमा भारत र नेपालका चिकित्सकहरूको सहभागिता हुने निश्चित भइसकेको सोसाइटीका अध्यक्ष डा. प्रकाशराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार जर्मनीका चिकित्सकहरूले सुरुमा सहभागिता जनाउने बताए पनि अहिले समयाभावका कारण उनीहरू नआउने भएका छन् । सम्मेलनमा चौथो चरणको पेटभित्रको क्यान्सरको अप्रेसनसँगै किमोथेरापी दिइने नयाँ प्रविधि हाइपेक उपचार विधिबारे हालसम्म भएका प्रगति र यसको प्रयोगका बारेमा छुट्टाछुट्टै प्रस्तुति हुने उनले बताए ।
उनका अनुसार विदेशमा हाइपेक प्रविधि चलनचल्तीको भइसकेको छ, तर नेपालमा सरकारी अस्पतालतर्फ भक्तपुर क्यान्सर अस्पतालमा मात्रै यो हाइपेक प्रविधिबाट उपचार हुन्छ । यसबाट उपचार गर्दा बिरामीको आयु करिब दुई वर्ष लम्बिने उनले बताए ।
‘यो प्रविधिबाट उपचार गरिँदा क्यान्सर बिरामी करिब करिब २ वर्ष बढी बाँचेको पाइएको छ’, उनले भने, ‘परम्परागत रूपमा अप्रेसन गर्ने र किमोथेरापी गरी छुट्टाछुट्टै उपचार गर्दा बिरामीको चाँडै मृत्यु हुने गरेको थियो । यसरी उपचार गर्दा बिरामी मुस्किलले ६-७ महिना बढी बाँच्थ्यो, तर हाइपेक प्रविधिबाट उपचार गर्दा दुईअढाई वर्षसम्म बाँचेको देखियो ।’
प्रविधिकाे विकास र हाइपेककाे सफल उपचार पद्धतिले बिरामीकाे बाँच्ने सरदर आयु ५१ महिनासम्म बढेकाे पाइएकाे भक्तपुर क्यान्सर अस्पतालका सर्जिकल विभागका चिकित्सक एवम् सम्मेलन संयाेजक डा. उत्सवमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हाल नेपालमा यो प्रविधि सरकारी अस्पतालतर्फ भक्तपुर क्यान्सर अस्पतालमा मात्रै रहेको छ । यहाँ करिब २ वर्षअघि सुरु गरिएको उक्त प्रविधिबाट हालसम्म २८ जनाको उपचार गरिएको उनले जानकारी दिए ।

‘हाइपेक प्रविधिबाट उपचार गर्दा बिरामीको बाँच्ने समय बढेको पाइयो’, उनले भने, ‘हामीकहाँ हाइपेक प्रविधिबाट उपचार गराएका बिरामीहरूको अध्ययनले पनि यो पुष्टि भयो ।’
डा. श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालको यही उपचार प्रविधि र यसको उपलब्धि अन्य अस्पताल र त्यहाँका चिकित्सकहरूबीच साझा गर्न सम्मेलन गर्न लागिएको बताए ।
‘हामीकहाँ धेरै अस्पतालमा क्यान्सरको उपचार सेवा छ, तर यस प्रविधिबारे चिकित्सकलाई जानकारी नभएकाले बिरामीहरूले उपचार सेवा लिन सकेका छैनन्’, उनले भने, ‘परम्परागत उपचार पद्धतिभन्दा हाइपेकबाट उपचार गर्न बिरामी र उनका परिवारलाई सिफारिस गर्न र गराउनबारे सम्मेलनले निर्णय लनेछ ।’
सर्जिकल अन्कोलोजी सोसाइटीका अध्यक्ष डा. न्यौपानेले पनि पेटसम्बन्धी क्यान्सरको चौथो चरणमा पुगेका बिरामीहरूको उपचारमा अहिले भइरहेको बेथिति न्यूनीकरण गर्दै यससम्बन्धी नयाँ उपचार प्रविधि हाइपेकको प्रयोगबारे सचेतना फैलाउन सम्मेलन गर्न लागिएको स्पष्ट पारे ।
‘हामीकहाँ चौथो स्टेजमा पुगेका पेटसम्बन्धी क्यान्सरका बिरामीहरूको उपचारमा बेथिति छ । अप्रेसन र किमोथेरापी छुट्टाछुट्टै दिने प्रवृत्ति छ । यसले बिरारमीलाई पनि गाह्रो हुने र खर्च पनि बढी हुन्छ’, उनले भने, ‘जबकि ती बिरामीहरूको अप्रेसन गर्ने बेलामै किमोथेरापी दिने हाइपेक प्रविधि प्रयोगमा आइसक्यो । यसमा क्यान्सरको शल्यक्रिया गर्दागर्दा बिरामीलाई किमोथेरापी दिइन्छ । यसको साइड इफेक्ट पनि कम छ ।’
के हो हाइपेक उपचार प्रविधि ?
‘पेटमा क्यान्सर भित्रैबाट सुरु हुन्छ । आन्द्राको बाहिरी तह सबैतिर फैलिएको हुन्छ त्यसबाट प्यान्क्रियाज, पाठेघरलगायतसम्म क्यान्सर फैलियो भने उपचारको उपाय थिएन । त्यसले चाँडै मान्छेको मृत्यु हुन्छ’, उनले भने, ‘तर अहिले हाइपेक भन्ने नयाँ उपचार प्रविधि आएको छ । शल्यक्रिया गरेकै बेला ४०-४२ डिग्रीसम्म तातो किमो दिने उपचार पद्धति हाइपेक हो । अप्रेसन गर्दा सकेसम्म क्यान्सर लागेका कोशिकाहरू काटेर फाल्ने हो । यति गर्दा पनि क्यान्सरयुक्त कोशिकाहरू बाँकी छन् कि भनेर तातो किमो दिने हो ।’

उनका अनुसार यस प्रविधिबाट उपचार गर्न अस्पतालले थप जनशक्ति व्यवस्था गर्नुपर्दैन । याे प्रविधिबाट उपचार गर्न अपरेसन गर्ने, बेहोस बनाउने, ओटीमा काम गर्ने, प्याथोलोजिस्ट, फिजियोथेरापिस्ट, पोषणविद्लगायत चाहिन्छ । उनीहरूसहितको टीमले हाइपेक प्रविधिको प्रयोग गर्ने निर्णय गर्छ । ‘सर्जनले अप्रेसन गर्ने हो । किमो दिनेले किमो दिने हो । अस्पतालहरूले मेसिनमात्रै किनिदिए पुग्छ’, उनी भन्छन् ।
क्यान्सर सर्जन डा. श्रेष्ठले चौथो चरणमा पुगेका क्यान्सर बिरामीको जीवन लम्ब्याउने हाइपेक अहिलेसम्मकै राम्रो उपचारात्मक उपाय हो । यसले बिरामी र उनका परिवारलाई केही आश बढाउँछ, तर यसबारे धेरै बिरामी र उनका परिवारलाई थाहा छैन ।’
उनका अनुसार अप्रेसन गरेकै बेलामा अपरेसन कोठाभित्रै किमोथेरापी दिने भएकाले बिरामी र उनका परिवारले पटकपटक अस्पताल धाइरहनुपर्दैन । यस प्रविधिबाट उपचार गर्दा धेरै हदसम्म क्यान्सर निको हुन्छ ।
उनले भक्तपुर क्यान्सरमा अस्पतालमा दक्षिण कोरिया, भारत, सिंगापुरलगायतबाट सिकेर आएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टीमले हाइपेक प्रविधिबाट उपचार गर्दै आएको जानकारी दिए ।

Leave a Reply