ओली र प्रचण्ड लक्षित घनश्यामको टिप्पणी- जित्ने मनपरी बोल्दै हिँडेको छ, हार्ने अर्को रुँदै कराउँदैछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रमा शुद्धीकरण आवश्यक रहेको बताएका छन् ।

एकीकृत समाजवादी पोखरा महानगरको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आजकै अवस्थामा मुलुक लामो समय जान नसक्ने बताए । उनले राजनीतिक अस्थिरताको कारणले आज मुलुकमा उकुसमुकुस रहेको बताए ।

एमालेका अध्यक्ष केपी ओली लक्षित गर्दै महासचिव भुसालले भने, ‘आज गणतन्त्रको खासगरी नेतृत्वका तहमा हेर्नुहुन्छ भने यी जुवाडे जस्ता भए, गणतन्त्रको नेतृत्व वास्तवमा जुवाडेहरूको एउटा समुदाय जस्तो भयो । आज एउटाले जित्यो, चौका-छक्का हान्यो, उसले दुनियाँसँग गफ गर्दै, दुनियाँलाई हेप्दै, मनपरी बोल्दै हिँडेको छ ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै अहिले सत्ताबाट हटायो भनेर रुँदै कराउँदै हिँडेको टिप्पणी गरे ।

महासचिव भुसालले भने, ‘अर्को जुवामा हार्‍यो, रुँदैछ कराउँदैछ, बलिन्द्र धारामा आँसु चुहाउँदै मलाई सत्ताबाट निकाले, मलाई सत्तामा जान दिएनन् भनेर ऊ त्यही सत्ताको लागि रुँदैछ । सत्ताबाट हटेकाले पनि यो जिम्मेवारी महसुस गरेको छैन । सत्तामा पुगेका त त्यो झन् घमन्डी भएको छ । गणतन्त्रको नेतृत्वको कुरा गर्ने हो भने हारेर र जितेकाहरूको समूह जस्तो भयो ।’

गणतन्त्र आएपछि अपेक्षित काम गर्न नसकेकाले पुरानो दरबारमा रहेकाहरूले प्रश्न उठाउन थालेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *