छोरीको शव हेर्न नसक्ने पीडा, परिवारको अनुरोधमा यूएईमै गरियो अन्तिम संस्कार

यूएई । बुवा आमा र भाईलाई ललितपुरको दुई कोठा भाडामा राखी सिन्धुपाल्चोककी ममता दाहाल ५ वर्ष पहिले यूएई आएकी हुन् । एउटा सामान्य सुपरमार्केटमा काम गर्न आएकी ममताले आफ्नो मासिक तलबबाट बुवा आमा र भाईको दैनिक गर्जो टार्दै आएकी थिइन् ।

छोरीले पठाएको पैसाले नपुग्दा सकी नसकी ममताका ५५ वर्षिय बुवाले काठमाडाैंमा गाडी कुदाउँथे । हुर्कदै गरेको एउटा भाई र बुढेसकालले च्याप्दै गरेका आमा बुवाको दुई गाँस जोहो गर्न परदेश आएकी ममताको दुई महिना पहिले संयुक्त अरब एमिरेट्स यूएईको उम्मलक्विनको एक अस्पतालमा सास गयो ।

दैनिक १२ देखी १४ घण्टा काममा खटिने ममता, एक दिन एक्कासी छाती दुखेको भन्दाभन्दै ढलिन्। पीडा सहन नसकी जमिनमा गर्लम्मै ढलेकी उनलाई छिमेकी श्रीलंकन नागरिकले उम्मअलक्विनको अस्पताल पुर्‍याए।

तर, अस्पतालले ममताको निधन भएको भनिदियो । ममाताले ज्यान गुमाइन भने उनका बुढा बुवा आमा तथा भाईले दिदी गुमाए । दिदीकै सहयोगले भाई क्याम्पस पढदै थिए ।

ममताको प्राण अरबमा ढलेको खबर परिवारले पाएको महिना दिनसम्म मुर्छित भए । ममताको निधनको खबरले परिवारमा बज्रपात गर्‍यो। बुबा-आमा शोकमा मुर्छित भए, भाइ आघातमा परे। ममाताको परिवारको सपनाको घर गर्याल्मगुर्लुम ढल्याे । त्यही पीडामा रहेकी उनकी आमा दुई महिनासम्म पनि साधारण अवस्थामा फर्किन सकेकी छैनन् ।

ममताको मृत्‍युको खबर नेपाली दुतावास आबुधावीले यूएईमै कार्यरत ममताकी सानी आमा मार्फत घरपरिवारसम्म त पुर्‍यायो तर परिवारले ममताको मृत्‍यु स्विकार्न नसक्दा झन्डै दुई महिना सम्म मृत् शरीर शब घरमै रहिरह्यौ । नेपाली दुतावासले शब नेपाल पठाउन कम्पनी, परिवार तथा आफन्तसँग मात्रै होइन नेपाली समाज यूएई तथा अन्य संघसस्था सँग समन्वयब गरिरह्यो । यद्यपी बुढा बुवा आमाले छोरीको मृत्‍यु स्वीकार्न सकेनन् ।

साना झिल्कामा अत्तालिने आमा,घाउ देख्दा रुने बुबा, ममताको निश्चल अनुहार हेर्न सक्ने सामर्थ्य गुमाइसकेका थिए।

‘लास नेपाल नपठाउनु, त्यतै दाहसंस्कार गरिदिनु।’ – बुबा-आमाले भने। किनभने शरीर नदेखे मनलाई अझै जीउँदै छे कि भन्ने धोको रहन्छ रे…

परिवारले मृत्‍यु स्वीकारी, शव बुझ्न तयार नहुँदा सम्म शव नेपाल पठाउन नमिल्ने भएकाले शव दुई महिनासम्म यूएईकै शव गृहमै अड्कियो । यता अस्पताल तथा स्थानीय प्रशाशन मार्फत शवको व्यवस्थापन गर्न नेपाली दुतावासमा दबाब आइरह्यो ।

ममाताको मृत्‍यु भएको बारे दूतावास नियोग उपप्रमुख रन्जिता दाहाल आँफैले कैयौ पटक परिवारलाई टेलिफोन मार्फत ‘कन्भिन्स’ प्रयास गरिन् । अनेकन प्रयासपछि परिवारले मृत्‍यु स्वीकारे पनि छोरीको मृत शरीर देख्न नसक्ने भन्दै शव यूएईमै दाहसस्कार गर्न अनुमति प्रदान गर्न तयार भयो ।

नेपाली दुतावास आबुधावी र नेपाली समाज यूएईको संयुक्त प्रयासमा जबिललालीमा रहेको ‘सनातनी फेडेरल घाट’ नयाँ सोनापुरमा हिन्दू सस्कार अनुसार गएको साता ममताको दाहसस्कार गरिएको हो ।

नेपाली दुतावासकी उपनियोग प्रमुख दाहाल तथा नेपाल कन्सुलेट दुबईका कृष्ण प्रशाद चापागाई, त्रितिय सचिव बीमलेश मिश्र, लेखा अधिकृत बिकास भट्टराइ, नेपाली समाजका पुर्व अध्यक्ष बेद प्रसाद अर्याल, उपाध्यक्ष केदार कुवर, पाल्पाली समाजकी पुर्व अध्यक्ष ओमकुमारी खाड, लगायत घाट सम्म मलामीको रुपमा पुगेर ममताकी सानीआमा राधा श्रेष्ठले दागबत्ती दिई ममताको बिधिवत अन्त्येष्टी गरे ।

घाट सम्मपुगेकी ममताकी सानी आमा मात्रै होइन मलामी पुगेका दुतावासका अधिकारीहरुका गहभरी टिलपिल आशु थिए । नेपाली समुदायका दर्जनौं मलामीहरूले ‘ममता..१’ भन्दै चितामा अन्तिम श्रद्धाञ्जली अर्पण गरे।

३ वर्षमा २४ नेपालीको दाहसंस्कार यूएईका विभिन्न घाटमा

कोरोना संक्रमणकालमा ११ जनासहित पछिल्ला ३ बर्षमा २४ नेपालीको दाहसस्कार यूएईका बिभिन्न घाटमा गरिएको छ । सारजा , रसअल खेमा, अलऐन र दुबईका घाटमा गरी २४ नेपालीको यूएईमा अन्त्येष्टी गरिएको नेपाली दुतावास आबुधावीले जनाएको छ ।

नेपाली समाजको यूएईका पूर्व अध्यक्ष वेदप्रसाद अर्यालका अनुसार यसै वर्षको पछिल्लो ५ महिनामा ३ जना नेपालीको शव यूएईमै दाहसंस्कार गरिएको बताए । ममता दाहालसहित रविन टण्डन र रोल्पाका झनकबहादुर खत्रीको अन्त्येष्टी यूएईमा गरिएको हो ।

परिवार नभए राज्यले शव नेपालमै ल्याउन सक्नुपर्छ

श्रम गरेर आएकी ममताको शव नेपाल पठाउन समस्या थिएन । परिवारले शव बुझ्न अस्वीकार गर्दा उनको शब यतै दाहसंस्कार गर्नुपरेको हो । छोरी जिवितै छ भन्ने आशा मात्रै भएपनि गरिरहन्छौं भन्दै परिवारले शब बुझ्न् नमान्दा उनको दुबईमा अन्त्येष्टी गर्नुपरेको हो ।

ममता मात्रै नभएर ज्यान गुमाएकाको परिवार नहुँदा वा परिवारले लाश देख्न नसक्ने वा पैसा अभावको अवस्थामा कतिपयको परिवार वा सम्बन्धितको अनुमतिमा यूएईमा दाहसंस्कार गर्ने गरिएको छ ।

यद्यपी परिवार पनि नहुने वा परिवारले शब बुझ्न अस्विकार गरेमा राज्य आँफैले आफ्ना नागरिकको शव स्वदेशमै ल्याइ दाहसस्कार गर्न पर्ने परदेशमा श्रमरत श्रमिकहरुको आग्रह छ ।

विभिन्न कारणले परदेश आउनु बाध्यता भए पनि आफ्नो नागरिकको ज्यान गएको अवस्थामा परिवार वा कोही नहुँदा राज्यले आफ्नो उपस्थिती देखाउनु पर्ने सामाजिक अभियान्ता तथा सरोकारवालाको भनाइ छ ।

बाचुन्जेल श्रम गर्दा कमाएको रेमिट्यान्स स्वीकार्ने राज्यले ज्यान गुमाएका नेपालीको शव घरदेशमै दाहसंस्कार गर्न व्यवस्था मिलाउन पर्ने यूएईमा २५ वर्षदेखि कार्यरत रोल्पाली समाज यूएईका अध्यक्ष दिल पुनको भनाइ छ । परिवारको अनुमति पत्रसहित काठमाडाैंसम्म पुर्‍याएर भए पनि आफ्नै माटोमा दाहसंस्कार हुनुपर्ने माग परदेशिएका धेरै नेपालीको छ ।

Comments

One response to “छोरीको शव हेर्न नसक्ने पीडा, परिवारको अनुरोधमा यूएईमै गरियो अन्तिम संस्कार”

  1. ओम कुमारी खाँण Avatar
    ओम कुमारी खाँण

    ओहो सर त्यो पल पटक्कै सम्झिन मन छैन र त्यस्तो दिन कहिल्यै नआवश !

Leave a Reply

Your email address will not be published. Required fields are marked *