राप्रपाको पार्टी स्थापना दिवस आजै, लिङदेनलाई भ्याइनभ्याइ

काठमाडौं । राजसंस्था पक्षधर प्रमुख राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आफ्नो ३५ औं स्थापना दिवस मनाउँदैछ । संयोगले राप्रपाको स्थापना दिवस गणतन्त्र दिवसकै दिन पर्छ ।

प्रजातन्त्र पुनस्र्थापना पश्चात २०४७ साल जेठ १५ गते एकैदिन पूर्वपञ्चहरुका दुई पार्टी जन्मिएका थिए । राप्रपा (थापा) र राप्रपा (चन्द) नाममा जन्मेका दुई पार्टीको नेतृत्व सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले गरे ।

त्यसयता कम्युनिष्टहरुमा जस्तै राजावादीहरुमा पनि अनेकपटक टुटफुट, एकता, पुनर्गठन हुँदै आएको छ । अहिले राजेन्द्र लिङदेन नेतृत्वको मुलधारको राप्रपाले जेठ १५ लाई नै स्थापना दिवस मनाउने गरेको छ ।

स्थापना दिवसका अवसरमा आज पार्टी कार्यालयमा झण्डोत्तोलनको कार्यक्रम राखिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी कार्यालयमा आयोजिक एक समारोहमा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको झण्डोत्तलन गरेका हुन् ।

आजैबाट राप्रपाको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन सुरु हुँदैछ । साथै, बजेट भाषण पनि आजै हो । लिङदेन आन्दोलनमा सहभागी भएपश्चात बजेट भाषण सुन्न संसद जानेछन् । एकै दिन दिनवटा सन्दर्भहरु जुध्दा उनलाई चटारो परोके छ ।

आज गणतन्त्र दिवस पनि हो । हरेक वर्ष गणतन्त्र दिवसकै दिन राप्रपाले स्थापना दिवस मनाउने गर्छ । यस बारेमा श्रेष्ठ भन्छन्, ‘हाम्रो पार्टी स्थापना दिवसकै दिन उनीहरुले गणतन्त्र ल्याए । हामीले पनि यही दिन पारेर गणतन्त्र फाल्ने आन्दोलन सुरु गर्दैछौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *