कर्तव्यको कठोरता पछाडिको करुणा : वृद्धाश्रम पुगेकी प्रहरी निरीक्षक रन्जु केसी (भिडिओ)

रुपन्देही । सधैँ कडा अनुशासन, नियम र निर्देशनका साथ सडकमा देखिने ट्राफिक प्रहरी निरीक्षक रन्जु केसीको एउटा भिन्न रूप देखियो, जब उनी प्रहरीको वर्दीमै वृद्धाश्रम पुगिन्।

रुपन्देहीका सडकमा ट्राफिक नियम पालना गराउने सख्त स्वभावकी अधिकारी भनेर चिनिएकी केसी भैरहवाको सत्य साई वृद्धाश्रम पुग्दा त्यहाँका वृद्ध आमाबुबाका आँखामा आश्चर्य र हर्ष छल्किएको थियो। बाहिरबाट कठोर देखिने रन्जु केसीभित्र लुकेको करुणामय संवेदना, ममतामयी मन र नागरिकप्रतिको समर्पण त्यही क्षण उजागर भयो।

बिहीबार बिहानको सूर्य झुल्किन नपाउँदै रन्जु केसी आफ्नो नियमित कार्यालयको काम सकेर वृद्धाश्रमतिर लागिन्।

 

पारिश्रमिकबाट वृद्ध आमाबुवाका लागि न्यानो भोजनको व्यवस्था गर्दै, उनी आफैँ सत्य साई वृद्धाश्रम पुगिन्। प्रवेशद्वारमै वृद्धहरूले हर्षित अनुहारमा आशीर्वाद दिँदै उनलाई स्वागत गरे। केसी त्यहाँ सधैँ झैं “प्रहरी निरीक्षक” भएर होइन, ‘एक असल छोरी’ भएर पुगिन्।

उनले आफैँ वृद्ध आमाबुबासँग बसेर खाना खाइन्, उनीहरूसँग आत्मीय संवाद गरिन् र केहीबेर भए पनि उनीहरूलाई सन्तानको अभाव महसुस हुन दिइनन्।

बर्दीभित्रको मानवीयता

सामान्यतः प्रहरी वर्दी अनुशासन र कठोरतासँग जोडिन्छ। अपराध नियन्त्रण, नियम कार्यान्वयन, ट्राफिक व्यवस्थापन—यसबेला वर्दीभित्र मान्छे हो भन्ने भुलिन्छ। तर, रन्जु केसीले वर्दीमै मानवीयता देखाउने उदाहरण प्रस्तुत गरिन्। उनी वृद्धाश्रम पुगेपछि त्यहाँका वृद्धहरूका अनुहारमा देखिएको उज्यालो, उनीहरूको भरिएको मन, र पुनः भेटको आशा- यी दृश्यहरूले प्रहरीको मानवीय छाया प्रस्तुत गरे।

वृद्धाश्रमकी अध्यक्ष माया खडालले भनिन् “रन्जु केसी बहिनी यहाँ आउँदा लाग्यो, राज्य नै आएको हो। उहाँ आमाबुबासँग माया बाँड्न, सुखद् क्षण बिताउन आउनुभयो। उहाँको उपस्थितिले वृद्धहरूको मनमा सन्तोष आयो।” अझ, त्यहाँ रहेका वृद्ध आमाबुबा उनीलाई ‘हाम्रो छोरी’ भन्ने गर्वसाथ बोलिरहेका थिए।

प्रहरी निरीक्षक केसी वृद्धाश्रममा लामो समय बस्न सकिनन्। उनको कार्यक्षेत्र, कर्तव्य, जिम्मेवारीले उनलाई फर्कायो। तर उनका मीठा शब्द, सादगीपूर्ण व्यवहार, भोजनको स्वाद, र आत्मीय संवादले त्यहाँ बस्ने वृद्धको मनमा दिगो छाप छोड्यो। त्यही भएर वृद्ध आमा रानी खडाल भन्छिन्, “नानी जस्तो लाग्यो। सँगै बसेर खाई, माया गरिन, अझै पनि त्यो क्षण मानसपटलमा घुमिरहेछ।”

रुपन्देहीका सडकमा नियम उल्लङ्घन गर्नेलाई कानुनी कारबाहीमा कुनै सम्झौता नगर्ने प्रहरी निरीक्षक केसीलाई धेरैले कडाभन्दा कडा अधिकारी भनेर चिन्थे। तर यो दिनको उनको भावुक अनुहार, संवेदनशील हृदय र सेवा भावले प्रमाणित गर्‍यो—कर्तव्यमा कठोर भए पनि व्यवहारमा उनी पूर्ण करुणामयी प्रहरी हुन्।

आजभोलि प्रहरी संस्था आलोचनाको शिकार बन्ने गरेको छ-भ्रष्टाचार, दुर्व्यवहार, प्रभावहीनता जस्ता आरोपहरू सामान्यजस्तै छन्। यस्ता अवस्थामा रन्जु केसीजस्ता अधिकारीले प्रहरीलाई नागरिकको मनमा पुनः स्थापित गराउने कार्य गरेका छन्। वृद्धाश्रममा बिताएको केही घडीले उनले सन्देश दिइन्- प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छन्।

केसीको यो सानो लगानी-समय, भावना, भोजन-वृद्धाश्रमका बुढाबुढीहरूका लागि असाधारण भएको यहाँका सञ्चालकहरूले बताएका छन् । यहाँ आश्रितहरूको एक्लोपनमा मलम लगाउने, उनीहरूलाई सम्झिनेजस्तै सम्झिने, माया दिने मान्छे बनिन् केसी। उनको यस्तो कार्यले न केवल प्रहरी संस्थाको छवि उज्यालो बनाएको छ, समाजका अन्य सेवा प्रदायकलाई पनि प्रेरणा दिएको छ।

रन्जु केसीले ठूला भाषण दिइनन्, फोटोसेसनको व्यवस्था गरिनन्। तर उनले स–सानो आत्मीय कर्म गरेर, वर्दीभित्रको मानिसलाई उजागर गरिन्। त्यही भएर वृद्धहरू भन्छन्-“यिनी हाम्रो छोरी हुन्, जस्को नाम याद राखिन्छ।”

रन्जु केसीले आफ्नो कर्तव्यलाई एउटा संवेदनशील रूप दिइन्- जहाँ अनुशासनसँगै करुणा मिसिएको छ। उनको यो व्यवहारले प्रहरीको वर्दीलाई मात्र हैन, समग्र समाजलाई पनि सेवा, संवेदना र जिम्मेवारीको पाठ पढाएको छ।

यदि प्रहरी संगठनका प्रत्येक व्यक्तिमा यस्तो मानवीय संवेदना भरिन सकोस् भने- सुरक्षा व्यवस्था मात्रै हैन, समाज आफैँ मानवता प्रधान, संवेदनशील र सुन्दर बन्न सक्ने अपेक्षा सहभागीले गरेका छन् ।

Comments

One response to “कर्तव्यको कठोरता पछाडिको करुणा : वृद्धाश्रम पुगेकी प्रहरी निरीक्षक रन्जु केसी (भिडिओ)”

  1. RK Avatar
    RK

    जति सुकै गुनगान गाए पनि ड्रेशमा नगएको भए अझ राम्रो । ड्रेसमा जानु मुर्खता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *