काठमाडौं । भोलि गणतन्त्र दिवसका क्रममा काठमाडौंमा हुने विभिन्न कार्यक्रम व्यवस्थापनका क्रममा राप्रपालाई दिउँसो साढे २ बजेपछि मात्रै रत्नपार्क प्रवेश अनुमति दिइने भएको छ ।
काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले त्यस्तो निर्णय गरेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।
एमालेले गर्ने गणतन्त्र उत्सवका सम्पूर्ण कार्यक्रम त्यसअघि सक्ने गरी यस्तो तालिका बनाइएको एसएसपी अधिकारीले बताए ।
सैनिक मञ्च, टुँडिखेलमा सरकारले आयोजना गर्ने कार्यक्रम १२ बजेभित्र सकिने, त्यसपछि एमालेको उत्सव भृकुटीमण्डपमा सुरू हुने तालिका छ । एमालेले २ बजेभित्र कार्यक्रम सिध्याउने कारण राप्रपालाई २ः३० मा प्रवेश अनुमति दिइएको अधिकारीले बताए ।
निर्धारित समय अगावै र त्यसभन्दा बढी समय कसैलाई पनि कार्यक्रम गर्न नदिने नीति जिल्ला सुरक्षा समितिले लिएको उनले बताए ।
यदि निर्धारित समयअगावै कोही त्यस स्थानमा प्रवेश गर्न खोजे नियन्त्रण गरिने भएको छ ।

Leave a Reply