आशिका तामाङविरुद्ध बब्लुको उजुरी, प्रहरीले बोलाएर गर्यो सोधपुछ

काठमाडौं । आफैंले अपलोड गरेको एउटा ४६ सेकेन्डको भिडियोले गर्दा अभियन्ता आशिका तामाङले प्रहरी कार्यालय धाउनु परेको छ । सो भिडिआमा आशिकाले मधेसी युवालाई ‘अपमानजन्य’ सम्बाेधन गरेको भन्दै मधेशी आयोगले प्रहरीमा मौखिक उजुरी गरेको थियो ।

प्रहरीले आज आशिकालाई बोलाएर यस विषयमा सोधपुछ गरेको हो । मामिला गम्भीर नदेखिएपछि घर पठाइएको प्रहरी स्रोतले बतायो ।

आशिकाले अस्ति भक्तपुरको राधेराधेमा खिचेको एउटा सानो भिडिओ क्लीप आफ्नो सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन् । केहीले नकारात्मक कमेन्ट गरेपछि उनले सो भिडिओ हिजो डिलिट गरिन् ।

हिजै यो भिडिओका विषयमा बब्लु गुप्ता नाम गरेका एक अभियन्ताले ४-५ जनाको समूह लिएर मधेसी आयोगमा गइ उजुरी गरे । त्यसपछि मधेशी आयोगबाट प्रहरी परिसरमा मौखिक उजुरी गरिएको थियो ।

सोही मौखिक उजुरीका आधारमा परिसरबाट आशिका तामाङलाई बोलाइएको थियो । प्रहरीले बोलाएको समयमा पुगेकी आशिकालाई एसपी अपिलराज बोहरा र डीएसपी प्रल्हाद कार्कीले सोधपुछ गरेका थिए ।

आशिकाको एकाउन्टबाट पहिल्यै डिलिट भएकाले उनीहरुले भिडिओ हेर्न पाएका थिएनन् । आशिकाले भिडिओ मगाएर देखाएपछि प्रहरी अधिकारीले ‘यसमा कुनै इस्यू नरहेको’ निष्कर्ष निकालेका थिए ।

प्रहरी परिसरमा डिएसपी कार्कीले नेपाल प्रेससित कुरा गर्दा मौखिक उजुरी आएकाले तामाङलाई सामान्य सोधपुछका लागि मात्र बोलाइएको बताए ।

भिडिओमा के छ ?

आशिकाले भक्तपुरको राधेराधेमा मोटरसाइकलको पछाडि सिटमा बसेर यात्रा गरिरहँदा सो भिडिओ खिचेकी हुन् ।

अगाडिको मोटरसाइकलमा पछाडि सिटमा रहेका युवकले गुट्खाको खोल बाटोमा फ्याँकेपछि उनले उनले दुईपटक ‘ओ भैयाजी’ भनेर बोलाइन् । त्यसपछि युवकहरुको मोटरसाइकल रोकिन्छ ।

आशिकाले भन्छिन्, ‘कहाँ फ्याँकेको गुट्खा ? गुट्खाको खोल त्यसरी फाल्ने हो खाएर ? पकेटमा राख्ने हो नि । भूईंमा फाल्ने होइन ।’

युवाले सहमतिमा मुन्टो हल्लाउँछन् ।

‘अबदेखि नफाल्नु है खाएर’ भनेर आशिका आफ्नो बाटो लाग्छिन् ।

आशिकाविरुद्ध उजुरी गर्ने बब्लु गुप्ता काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट छन् । सिराहा निवासी बब्लु स्थानीय चुनावमा बालेनको प्रचार प्रसारमा खटिएका थिए भने अहिले पनि उनी बालेनको कोर ग्रुपभित्र पर्छन् । स्रोतका अनुसार उनले आशिकामाथि उजुरी गरेको विषयमा बालेनलाई पनि भनेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *