फोन नै नलाग्ने ठाउँमा फोरजी पुर्‍याए, सेवा सुधारकै क्रममा अस्ताए

कैलाली । दशैं तिहार होस् या बिदाको दिन बाजुराका स्थानीयले नेपाल टेलिकममा समस्या आएको गुनासो गरेलगत्तै आफैं पुग्ने लोक बहादुर खड्का ।

दुई वर्ष पहिले अत्तरियाबाट नेपाल टेलिकम बाजुरा शाखा प्रमुख भएर सरुवा भएपछि उनले त्यहाँको दूरसञ्चार सेवामा ठूलो परिवर्तन गरे । नेपाल टेलिकमको टावरसमेत नआउने क्षेत्रमा इन्टरनेटको लागि फोरजी सेवा विस्तार गरे ।

दुई वर्षकै अन्तरालमा जिल्लामा विभिन्न पालिकामा १३ वटा टावर आफ्नै सक्रियतामा तयार गरे । दुई टावर निर्माण भने उनले पूरा गर्न पाएनन् ।

बाजुराको विकट क्षेत्र जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा मङ्गलबार बिहान भएको गाडी दुर्घटनामा बाजुरामा सञ्चारको सेवा विस्तार गर्ने खड्का सदैका लागि अस्ताए ।

दूरसञ्चारकै सेवामा समर्पित खड्काको सेवा सुधारकै क्रममा मृत्यु भयो । नेपाल टेलिकमको काँडाकोटस्थित टावरमा ब्याट्री फेर्नका लागि ब्याट्री लिएर गएका उनको टावर नपुग्दै जाँदै गर्दा बा ५ च २२०९ नम्बरको टेलिकमको जिप पल्टिदा उनीसहित जिप चालक करन सिंह महता र सुरक्षा गार्ड रवीन्द्र धामीको मृत्यु भयो । २ जना घाइते भए ।

खड्काको निधनले अहिले बाजुरा मात्रै होइन सुदूरपश्चिममै सञ्चारको एउटा कुशल प्राविधिक गुमेको आभास भएको छ ।

केही समय अघिसम्म सुदूरपश्चिम प्रादेशिक निर्देशनालय अत्तरियाका टेक्निकल इन्चार्ज रहेका गोविन्द धामीले खड्काले सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आइरहेको बताउँछन् ।

‘हामीसँगै जागिर खाएका हौँ, सहकर्मी पनि हौँ उहाँ कुशल प्राविधिक हुनुहुन्थ्यो । कहीँ केही समस्या आइहाले उहाँ गएपछि जस्तो सुकै समस्या भएपनि हल हुन्थ्यो’, हाल नेपाल टेलिकम ब्याकबोन प्रशासन निर्देशनालय काठमाडौँमा रहेका धामी भन्छन्, ‘उहाँ जत्तिको कुशल प्राविधिक हामीले पाउन धेरै समय लाग्छ ।’

बाजुराको बुढिनन्दामा मात्रै खड्काले आफ्नो कार्यकालमा तीन वटा टावर ठड्याएका थिए ।

बुढिनन्दा ७ को कार्केला, ८ को हर्साली र ३ नम्बरको तलिकोटी भुलेनामा खड्का आफैं उपस्थित भएर टावर तयार गरे । नेटवर्क समेत नहुने ती ठाउँमा अहिले फोरजी चलिरहेको छ ।

‘फोन नै नलाग्ने क्षेत्रमा पनि उहाँले इन्टरनेट सेवा समेतको विस्तार गर्नु भएको छ । सञ्चार क्षेत्रमा बाजुरामा पुराउनु भएको योगदान हामी कहिल्यै भुल्न सक्दैनौँ’, बुढीनन्दाका मेयर जनक बोहरा भन्छन्, ‘ आफ्नो कामलाई उहाँले जनताको काम भन्दै रातदिन नभनेर सञ्चार विस्तार गर्नु भएको थियो ।’

बाजुराका थप दुई स्थानमा राम्रो सञ्चार सेवा विस्तार गर्ने खड्काको सपना भने अधुरै रहेको छ । बाजुरावासीले उनलाई कहिल्यै भुल्न नसक्ने बुढिगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँ पनि बताउँछन् ।

‘बाजुराको कुनाकन्दरामा पनि टेलिफोन सेवा उहाँले पुराउनु भएको थियो । एउटा मान्छे मात्रै असल हुँदा धेरै परिवर्तन हुनसक्छ भन्ने उहाँले पुष्टि गरिसक्नु भएको थियो’, मेयर बानियाले भने, ‘अझै राम्रो बनाउने र सुधार गर्ने सिलसिलामा उहाँको दुर्घटनामा ज्यान गयो हामी विक्षिप्त छौँ ।’

मङ्गलबार दुर्घटनामा ज्यान गुमाएका खड्कालाई बुधाबार गोदावरी घाटमा अन्तिम संस्कार गरिँदै छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *