काठमाडौं। राजावादी र नेकपा एमालेको प्रदर्शनको घानमा गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ परेको छ । देशभर फैलिएको विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माता हिमाल कडारियाले एक प्रेस विज्ञप्ती जारी गर्दै हाललाई ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको जानकारी दिएका छन् ।
तर, हलहरुमा ‘महाभोज’को बुकिङ खुलिसकेको थियो । चलचित्र हलहरुले एड्भान्स बुकिङ खुलाइसकेका थिए । चलचित्रका अभिनेता दयाहाङ राईले हिजो मात्रै भिडियो सन्देश जारी गरेर अग्रिम बुकिङ खुलिसकेको भन्दै आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरिसकेका थिए ।
गणतन्त्र दिवसको दिन प्रदर्शन गर्ने भनेर निर्माण टिमले चलचित्रको प्रचारमा निकै मिहेनत गरिसकेको थियो । तर गणतन्त्र दिवसकै दिन राजावादी र एमालेले आन्दोलनको आह्वान गरेपछि उनीहरुको मिहेनत खेर गएको छ ।
प्रचार गरिसकेर, अग्रिम बुकिङ खुलाइसकेर अचानक चलचित्रको प्रदर्शन स्थगित गर्नुपर्दा निर्माताले व्यहोर्ने क्षति अकल्पनीय हुने चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले बताए । साथै भोलिको प्रतिकूलतालाई मध्यनजर गर्दै ‘महाभोज’का निर्माताबाट प्रदर्शन स्थगित गरिएको वक्तव्य आएपछि आफूहरुले शोहरु हटाएको बताए ।
उनले भने, ‘यस्ता बन्द, हड्ताल र आन्दोलनले मात्रै होइन, स–साना कुराले पनि चलचित्रको व्यापारलाई एकदमै असर गर्छ ।’
उनले थपे, ‘निर्माताको करोडौं लगानी भएको हुन्छ । हामीले पनि हल भाडा र कर्मचारीको तलबमा लाखौं खर्च गर्नुपर्ने हुन्छ । यस्ता आन्दोलनहरुको मारमा नराम्रोसँग पिल्सिनुपर्छ हामी । देशका शान्ति सुव्यवस्था कायम भइदिए, हामीले निर्धक्क व्यापार गर्न पाए हुने नि । तर, त्यस्तो हुनन !’
अनि अग्रिम बुकिङ खुलाएपछि दर्शकले काटेको टिकटको पैसा चाहिँ के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो त टिकट काट्ने दर्शकलाई नै रिफन्ड हुन्छ ।’
दिनेश राउत निर्देशित ‘महाभोज’को हिजो मात्रै प्रिमियर गरिएको थियो । सहकारी पीडितको मुद्दामा बनेको यस चलचित्रको प्रिमियरमा सहकारी पीडितहरुलाई समेत देखाइएको थियो । चलचित्र हेर्न हलमा पुगेका सहकारी पीडितले हलमै नाराबाजी गरेका थिए । साथै प्रिमियरमा पुगेका अतिथिहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया समेत दिएका थिए ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अन्जना बराइली लगायत कलाकारको अभिनय छ । हाललाई स्थगित गरिएको चलचित्रको प्रदर्शन मिति चाँडै घोषणा गरिने बताइएको छ ।
‘महाभोज’ मात्रै होइन, हलमा प्रदर्शनरत ‘नरसिंहा : अवतार’, ‘के घर के डेरा : घर नम्बर २’, ‘एन्जिला’, ‘ऊनको स्वेटर’ जस्ता चलचित्र पनि मारमा परेका छन् । राजावादी र एमालेको आन्दोलनले उनीहरुको प्रदर्शन समेत बिथोलिने देखिन्छ ।

Leave a Reply