काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा पराजित भएका निवर्तमान महासचिव सुमन पुरीले आन्तरिक प्रतिस्पर्धामा हार भए पनि आन्तरिक लोकतन्त्र बलियो बनाउने आधार बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
पराजयपछि वक्तव्य दिँदै पुरीले खुला प्रतिस्पर्धा हुनु नै युवा संघमा आस्था राख्नेहरुको ठूलो जित भएको प्रतिक्रिया दिएका छन् । संघमा सर्वसम्मतिका नाममा निर्वाचन रोक्न खोजेपछि उनले अडान लिएर चुनावमा जान नेतृत्वलाई बाध्य पारेका थिए ।
पुरीले भनेका छन्, ‘यसरी खुला प्रतिस्पर्धा हुनु नै राष्ट्रिय युवा संघ नेपालमा आस्था राख्नुहुने सबै सबै युवाहरूको ठुलो जित हो। यो यात्रामा म केबल पदको लागि होइन, विचार, मूल्य र परिवर्तनको पक्षमा उभिएको थिएँ । यात्राको हरेक पाइला हार होस् वा जित संगठनमा आन्तरिक लोकतन्त्र बलियो बनाउने आधार बनेको छ र म गर्वका साथ भन्छु, म त्यो प्रक्रिया र विचारको हिस्सा बन्न पाएँ, जनताको बहुदलीय जनवादलाई संघमा उत्कृष्ट प्रयोग गर्नका लागि आवाज उठाए, जुन मेरो लागि जितभन्दा कम छैन । हामी सबैको यो कदमले संगठनभित्र बहस, विकल्प र परिपक्वताको नयाँ ढोका खोलेको छ ।’
मंगलवार भएको निर्वाचनमा क्षितिज थेबे ७९६ मतसहित युवा संघको अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका छन् । पुरीले ६०८ मत पाएका थिए ।

Leave a Reply