सुदूरपश्चिममा लगानी गर्न प्रवासी नेपाली तयार, सरकारसँग भर्चुअल संवाद

कैलाली । सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि प्रवासी नेपालीहरू लगानी गर्न इच्छुक देखिएका छन्।

बुधवार सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘नीति तथा कार्यक्रम लगानी तथा विकास सम्मेलन २०८२’ सम्बन्धी भर्चुअल संवाद कार्यक्रममा उनीहरूले लगानीप्रति आफ्नो प्रतिबद्धता जनाएका हुन्।

प्रदेश सरकारको पहलमा विभिन्न देशमा व्यवसाय सञ्चालन गरिरहेका गैरआवासीय नेपाली (एनआरएन) सँग गरिएको भर्चुअल छलफलमा सहभागी वक्ताहरूले सुदूरपश्चिममा लगानीमैत्री वातावरण निर्माणको आवश्यकता औँल्याए।

उनीहरूले प्राथमिकताको रूपमा क्षेत्रीय आवश्यकता पहिचान गरेर त्यहीअनुसार लगानीको ढोका खोल्नुपर्ने सुझाव दिएका छन्।

संवादमा अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया, रसियालगायत मुलुकबाट संलग्न भएका एनआरएनहरूले यदि लगानीको सुनिश्चितता र वातावरण अनुकूल बनाइयो भने ठुलो मात्रामा पुँजी नेपाल भित्रिन सक्ने धारणा राखे।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रवासी नेपालीहरूलाई समृद्ध नेपाल निर्माणमा आफ्नो योगदान दिन आग्रह गरेका थिए ।

‘विदेशमा कमाएको पुँजी, सीप र अनुभव अब आफ्नै भूमिमा लगानी गरौँ,’ उनले भने ‘प्रदेश सरकार लगानीमैत्री वातावरण बनाउन पूर्ण रूपमा तयार छ।’

सुदूरपश्चिम प्रदेश सरकारले असोज १ र २ गते लगानी सम्मेलन गर्दै छ । त्यसको तयारीका लागि यही २१ गते प्री सम्मीट हुँदै छ ।

लगानी तथा विकास सम्मेलनले दीर्घकालीन विकास योजनामा निजी क्षेत्र र प्रवासी नेपालीबीच सहकार्यका ढोका खोल्ने अपेक्षा गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *