काठमाडौं । २०५० वैशाखमा नेपाली महिलाहरूको प्रथम आरोहण दल बन्यो । नेता थिइन् अहिलेकी राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा, उपनेता थिइन् ल्हाक्पा फुटी शेर्पा र सदस्य थिइन् नन्दा राई ।
तीन सदस्य नेपाली महिला आरोहण दलले प्रथम नेपाली महिलाको सगरमाथा आरोहणको कीर्तिमान त बनायो तर पासाङ वैशाख १० को सफल आरोहणसँगै सदाका लागि अस्ताइन् ।
पासाङसँगै आरोहण दलमा रहेकी उपनेता ल्हाक्पा फुटी शेर्पा अहिले पनि त्यो दिनको दुःख सम्झन्छिन् । त्यो सुखद र पछिको दुःखद क्षण अनि अरू व्यक्तिगत तथा सामुदायिक जीवनको कथा समेटिएको ल्हाक्पा फुटीको पुस्तक हो ‘फोर्टी इयर्स इन द माउन्टेन’ । यो पुस्तक उनले बेलायती राजालाई पठाएकी थिइन् ।
अहिले बेलायती राजदरबार बकिङघम दरबारबाट उनलाई पत्र आएको छ । पत्रमा राजा चार्ल्स पुस्तक पढेर प्रभावित भएको, ल्हाक्पा फुटीको प्रथम पुस्ताको महिला आरोही भएको, मानवतावाद तथा वातावरण क्षेत्रको काम गरेको भन्दै राजा प्रसन्न भएको दरबारको पत्र ल्हाक्पा फुटीलाई प्राप्त भएको छ ।
पत्रबारेमा आज नेपाल प्रेससँग बोल्दै उनले भनिन्, ‘थोरै कुरामा पनि पुरा पुस्तक पढेको अनुभूति हुने खालको बेलायती दरबारको पत्र पाउँदा म धेरै खुशी भएँ । यो मेरो मात्रै होइन, नेपाली आरोहण समुदाय र नेपाली आरोही महिलाहरूलाई प्रेरणाको कुरा हो ।’ बेलायती दरबारबाट पुस्तक पढेर बेलायती प्रतिनिधिबाट औपचारिक पत्र आएता पनि नेपाली उच्च नेतृत्वहरूबाट भने त्यस्तो औपचारिक पत्र नआएको उनले बताइन् ।



Leave a Reply