आजभोलि स्वास्थ्य जागरण बढेको छ । गाउँशहर र टोलहरूमा योग, प्राणायामका केन्द्रहरू खुलेका छन् । पालिकाहरूले शारीरिक कसरतका लागि कतिपय साधनसम्पन्न व्यायामशाला र उद्यानहरू बनाएका छन् । बिहानमा प्रायः हिँड्ने, दौड्ने र जिममा जाने क्रम बढेका छन् । बुटवलको मणिमुकुन्द उद्यान, हिल पार्कको डाँडो, लक्ष्मीनगर, नुवाकोट सडकको उकालो, पाणिनि उद्यानको उकालोलगायत तमाम ठाउँमा हेर्दा बिहानमा हिँड्नेको ताँती देखिन्छ । राजमार्गमा हिँड्नेहरू पनि पर्याप्त छन् । वडैपिच्छे जिम सिकाउने गरिन्छ ।
यो अत्यन्तै सकारात्मक पक्ष यसकारणले हो कि अस्पताल खोलेर उपचार गर्नेभन्दा रोग लाग्न नदिने विधिलाई आत्मसात गर्नु कैयौं गुणा राम्रो हो । योग गरेर निको भएका वा रोगलाई नियन्त्रण गर्नेको संख्या अत्यधिक छ । हामीकहाँ कुनै पनि विषयको अध्ययन गरिँदैन । पालिकाहरूले ठूलो रकम खर्चेर भौतिक पूर्वाधारका लागि गुरुयोजना बनाउने गर्छन् । गुरुयोजना बनाएर कति काम भएका होलान् वा कति दराजमा थन्किएका होलान् ? यसको खोजी गर्दा नै थाहा होला, तर आजसम्म स्वास्थ्यबारे कसैले पनि अध्ययन गरेको विवरण सार्वजनिक भएको छैन ।
जहाँसम्म रोग लाग्नै नदिने सन्दर्भको कुरा हो, आजभोलि जीवन विज्ञानले टोलटोलमा प्रशिक्षक खटाएर शारीरिक र मानसिक स्फुर्ती तथा आत्मिक शान्तिका लागि महत्वपूर्ण अभियान चलाएको छ । यो आफैंमा स्वास्थ्य क्रान्ति हो । स्वास्थ्य क्षेत्रको कुरा गर्दा आधुनिक चिकित्साका साथै आयुर्वेद र परम्परागत पद्धतिलाई पनि आत्मसात गर्नैपर्छ । रोग लागिसकेपछि कुनै एउटालाई मात्र आधार मान्दा मानिसको ज्यान जानसक्ने खतरा हुन्छ । आजभोलि रोग लागेर पहिचान नहुँदै मृत्यु हुनेको संख्या बढ्दै गएको पाइन्छ । यसको एउटा कारण खानपानमा लापरबाही र तत्काल चिकित्सककहाँ नजानु हो ।
निश्चय नै रोग निको पार्न अस्पतालको उपचारभन्दा पनि रोग लाग्नबाट कम गर्ने योग, प्राणायाम, आहारविहार र स्वस्थ जीवनशैलीको महत्वपूर्ण भूमिका हुन्छ । जसलाई ‘प्रिभेन्टिभ हेल्थकेयर’ (रोगप्रतिरोधक स्वास्थ्य चिन्तन) भनिन्छ । माथि उल्लेखित विधिहरू आज संसारभरि देखापर्दै गएको मानसिक रोगका लागि उपयोगी मानिन्छ । यो आलेखमा संसारभरि नै समस्याग्रस्त बन्दै गरेको मानसिक समस्या र योग, ध्यान तथा अन्य विधिका सम्बन्धमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।
रोग लागिसकेपछि कुनै एउटालाई मात्र आधार मान्दा मानिसको ज्यान जानसक्ने खतरा हुन्छ । आजभोलि रोग लागेर पहिचान नहुँदै मृत्यु हुनेको संख्या बढ्दै गएको पाइन्छ । यसको एउटा कारण खानपानमा लापरबाही र तत्काल चिकित्सककहाँ नजानु हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार संसारमा लगभग १ अर्ब मानिस मानसिक रोगबाट पीडित छन् । यसबाहेक डिप्रेसन, एन्जाइटी, बाइपोलर, सिजोफ्रेनिया जस्ता रोगबाट पनि उत्तिकै पीडित छन् । सन् २०२५ को तथ्याङ्कअनुसार संसारभरि डिप्रेसन र मानसिक रोग व्यापक रूपमा फैलिएका छन् । डिप्रेसनबाट लगभग २८० मिलियन मानिस अर्थात् विश्व जनसंख्याको करिब ३.८ प्रतिशत पीडित छन् । यसमा महिलाको संख्या पुरुषभन्दा करिब ५० प्रतिशत बढी छ । यसमध्ये डिप्रेसन र एन्जाइटीका कारण हरेक वर्ष करिब १२ अर्ब मानिसको कार्यक्षमता हराएको छ । जसका कारण वार्षिक ४१ ट्रिलियनभन्दा बढी आर्थिक नोक्सानी पुगेको अनुमान गरिन्छ ।
साथै मानसिक रोगका कारण संसारभरि हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् । हुन पनि आत्महत्या मानसिक रोगको प्रमुख कारण नै हो । अर्को तथ्यअनुसार ७५ प्रतिशत मानसिक रोगी विकासशील देशमा बस्छन् । यसको अर्थ विकसित देशमा यो समस्या नभएको हैन । बढ्दो क्रममा छ, तर विकासशील देशमा ज्यादा छ । यसरी मानसिक समस्या बढ्नुका कारण धेरै होलान्, तर डिजिटल लतलाई प्रमुख रूपमा लिन थालिएको छ । त्यसबाहेक शहरीकरण, प्रतिस्पर्धा र व्यस्त जीवनशैलीले सामाजिक सम्बन्ध कमजोर बनाएर झेल्नुपरेको तनाव र एक्लोपन, बेरोजगारी, ऋण र आर्थिक असुरक्षा, मादकपदार्थ र लागुऔषध हुन् ।
आधुनिक जीवनशैलीका नाममा अनियमित खानपान, निद्राको अभाव, शारीरिक निष्क्रियता पनि अर्को पक्ष हो । खानपानमा आएको परिवर्तनलाई नरोक्ने हो भने मानसिक हैन, अरु गम्भीर स्वास्थ्य समस्याको पनि सामना गर्नुपर्नेछ । स्वास्थ्यका लागि रातको निद्रा अत्यन्तै महत्वपूर्ण पक्ष हो, तर आजभोलि रातमा मोबाइलले भुलाएको छ र बिहान ९ बजेसम्म सुत्ने क्रम बढेको छ । यो शारीरिक हिसाबले रोग निम्त्याउने मुख्य कारण बन्दै गएको छ ।
नियमित योग, ध्यान, व्यायाम र पर्याप्त निद्रा, सन्तुलित आहार र सकारात्मक सोच अपनाउने हो भने धेरै हदसम्म मानसिक रोगबाट मुक्ति मिल्छ । यदि रोग लागी नै सक्यो भने मनोपरामर्श, पेशागत, कानूनी र पारिवारिक परामर्श सेवा उपलब्ध गराउने हो । यसका लागि योग, प्राणायाम र आहारविहारलाई सँगसँगै लैजान जरुरी छ । उपयुक्त विधिले रोग प्रतिरोधात्मक शक्ति बढाउनुका साथै तनाव, मधुमेह, मोटोपन, रक्तचाप जस्ता समस्या पनि समाधान हुन्छन् ।
डिप्रेसनबाट लगभग २८० मिलियन मानिस अर्थात् विश्व जनसंख्याको करिब ३.८ प्रतिशत पीडित छन् । यसमा महिलाको संख्या पुरुषभन्दा करिब ५० प्रतिशत बढी छ । यसमध्ये डिप्रेसन र एन्जाइटीका कारण हरेक वर्ष करिब १२ अर्ब मानिसको कार्यक्षमता हराएको छ ।
आजभोलि नास्ता र खाना भनेकै चाउचाउ, मःम, पिज्जा, बर्गरलगायत पत्रु खाना हुन् । यस्ता खानाको व्यापक प्रयोगले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको अध्ययनले देखाएका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले ६ प्रतिशत किशोरी र ३५ प्रतिशत महिलामा मोटोपन हुनुका साथै पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन, आठ प्रतिशतमा ख्याउटेपना, १९ प्रतिशतमा कम तौल, ४३ प्रतिशतमा तथा १५ देखि ४९ वर्ष उमेरका महिलामा ३४ प्रतिशत रक्तअल्पता देखाएको छ । यसको कारण खानपान हो ।
समाधानका लागि धेरै दुःख गरिरहनु पर्दैन । बिहानको सुत्ने समयलाई सदुपयोग गर्दा निःशुल्क उपचार हुन्छ भनेर सम्झने हो भने अरु धेरै समय दिइरहनु पर्दैन । एक पटक बिरामी भएपछि उपचारका लागि अस्पताल जानैपर्छ, तर त्यो महँगोमात्र हुँदैन, पीडादायी र लामो समय पनि लिने हुन्छ । उपचारको खर्चमात्र हैन, घरमा एक जना बिरामी भएपछि कति जनाको काम रोकिन्छ ? कति आम्दानी रोकिन्छ ? बिहानको समयले कति बचत हुन्छ ? हरेकले हिसाब निकालेर जोड्दा हुन्छ । हाम्रो ध्यान यसतर्फ गएको छैन ।
यो परम्परागत उपचार विधिमात्र हैन, आधुनिक उपचार विधिलाई पच्छाउँदा पनि यस्ता कर्म गर्नैपर्छ । विश्व स्वास्थ्य संगठनले क्यान्सर, मुटु रोग, मधुमेहलगायतका रोगलाई जीवनशैलीजन्य मानेको छ र त्यस्ता रोगको निदानका लागि जीवनशैलीमा सुधार गर्नु हो भनेर सबैभन्दा महत्वपूर्ण उपायको रूपमा परिभाषित गरेको छ । डब्ल्यूएचओ र अन्य अध्ययनहरूले सन् २०३० सम्ममा मानसिक रोगहरू विश्वव्यापी महामारी बनेर आउने अनुमान गरेका छन् । यो भविष्यवाणीलाई चेतावनीका रूपमा होइन, तयारीका रूपमा लिने हो भने अवसरका रूपमा लिन सकिन्छ । यो अवसरलाई अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्ने माध्यम बनाउन सकिन्छ ।
नियमित योग, ध्यान, व्यायाम र पर्याप्त निद्रा, सन्तुलित आहार र सकारात्मक सोच अपनाउने हो भने धेरै हदसम्म मानसिक रोगबाट मुक्ति मिल्छ । यदि रोग लागी नै सक्यो भने मनोपरामर्श, पेशागत, कानूनी र पारिवारिक परामर्श सेवा उपलब्ध गराउने हो ।
नेपालका एक जना वरिष्ठ आयुर्वेद चिकित्सकका अनुसार लुम्बिनी प्रदेशमा अल्जाइमर (बिर्सने रोग) निको हुने जडिबुटी अत्यधिक पाइन्छ । विश्वव्यापी रूपमा क्यान्सरभन्दा भयानक समस्याका रूपमा देखापरेको अल्जाइमरको उपचार केन्द्र भैरहवा जस्तो अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँमा बनाउने हो भने नेपालको ऋण तिर्न धेरै वर्ष लाग्दैन । विडम्बना यस्ता कुरालाई हावामा उडाएर ठट्टाको विषय बनाइन्छ । मेरो विचारमा मानसिक रोगको उपचार योग र ध्यान बनाएर प्रचारप्रसार गर्दा नेपालको जनशक्ति निर्यात हुनसक्छ र विदेशीका लागि उपचार गर्ने थलो ।
आभोलि उपचारका अनेक विधिहरू प्रमाणित हुँदै आएका छन् । ‘रिमोट सर्जरी’ वा ‘टेली सर्जरी’ जस्ता प्रविधिको प्रयोग गरेर पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा उपचार हुन्छ । यस्ता विधिअन्तर्गत शारीरिक रूपमा चिकित्सक बिरामीसँग नभए पनि इन्टरनेट, रोबोटिक्स र उच्च गतिका सञ्चार प्रविधिहरूको माध्यमबाट अप्रेसन गरिन्छ । सन् २००१ मा पहिलो पटक फ्रान्सको एक बिरामीको अप्रेसन अमेरिकाबाट यसरी नै गरिएको थियो र त्यसलाई ‘टेली सर्जरी’ भनिएको थियो । अहिले भारत, चीन, अमेरिका र युरोपेली देशहरूमा यो विधिको व्यापक प्रयोग हुन थालेको छ ।
उपचारका लागि हरेक देशका मौलिक विधिहरू हुने रहेछन् । जस्तो कि हात वा टाढैबाट ऊर्जा प्रवाह गर्ने जापानी विधि हो । जसले शरीर, मन र आत्मालाई सन्तुलन गर्न सार्वभौमिक जीवन ऊर्जा (Universal Life Energy) प्रवाहित गर्छ । हिलिङ अर्थात् प्राण (श्वास) मार्फत ऊर्जा शुद्धी गर्ने नेपाली र भारतीय विधि हो । क्याकीबाट ऊर्जा सन्तुलन गर्ने तरिका चिनियाँ विधि हो । तान्त्रिक विधिअन्तर्गत फुकेर निको पार्ने विधि नेपाली नै हो । जुन रेकीसँग मिल्दो देखिन्छ ।
आखिरी हाम्रा पुर्खाहरूले फुकफाक गरेर बिरामीलाई निको पार्ने गरेको जानकार पुस्ता अहिले छँदैछ । आजको वैज्ञानिक युगमा त्यस्ता विधिमा सम्पूर्ण रूपले भर पर्नु निश्चय नै अनुचित हुन्छ, तर त्यसभित्र रहेको उपयोगी अंश केही थियो कि भनेर हामीले अध्ययन अनुसन्धान पनि गरेनौं । जसरी जापानीहरूले रेकीलाई विश्वास र प्रयोग गर्छन् ।
नेपालका एक जना वरिष्ठ आयुर्वेद चिकित्सकका अनुसार लुम्बिनी प्रदेशमा अल्जाइमर (बिर्सने रोग) निको हुने जडिबुटी अत्यधिक पाइन्छ । विश्वव्यापी रूपमा क्यान्सरभन्दा भयानक समस्याका रूपमा देखापरेको अल्जाइमरको उपचार केन्द्र भैरहवा जस्तो अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँमा बनाउने हो भने नेपालको ऋण तिर्न धेरै वर्ष लाग्दैन ।
फुक्ने वा रेकी गर्ने भनेको कुनै विज्ञानसम्मत कुरा त हैन, तर सकारात्मक ऊर्जा प्रवाह गर्ने माध्यम चाहिँ सत्य हो । मान्छेको शरीर, मन र आत्मा सूक्ष्म ऊर्जाले चलेको हुन्छ भन्ने मान्यताका आधारमा ऊर्जाको प्रवाह (Energy Flow) गरिन्छ । जुन ऊर्जालाई उपचारकर्ताले टाढैबाट नियन्त्रण गर्नसक्छ भन्ने विश्वास गरिन्छ । जब टाढैबाट ऊर्जाको प्रवाह गर्न सकिन्छ भने शारीरिक रूपमा छोएर हुँदै हुँदैन भन्न सकिन्न । क्वान्टम फिजिक्सको सिद्धान्तले पनि उपचारकर्ताले मनोवैज्ञानिक वा ऊर्जागत रूपमा रोगीलाई प्रभाव पार्नसक्छ भनेर विश्वास गरिन्छ ।
यस्तै ध्यान, प्रार्थना, मन्त्र वा सकारात्मक विचार भनेको मनको शक्ति हो । जसले शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले त भनिन्छ, विश्वास र विज्ञान दुबैले मानिसको स्वास्थ्यलाई प्रभाव पार्न सक्छन् । मानसिक रूपमा तनाव र चिन्ता कम गर्नु भनेको निद्रा लगाउनु र शरीर एकाग्र बनाउनु हो । जसबाट कतिपय दुखाइ र शारीरिक पीडा घटाउन र भावनात्मक घाउलाई निको पार्नु सहज हुन्छ । यति हुँदा मान्छे स्वस्थ भएको महसुस गर्छ र इम्युनिटी बढ्छ । यो भनेको रोग प्रतिरोध गर्ने क्षमता बढ्नु हो ।
यस अर्थमा हरेक पालिकाहरूले गाउँगाउँमा र टोलटोलमा यस्ता योगशालाहरू बनाउन ढिला गर्नुहुँदैन । सार्वजनिक भवनलाई यस्ता काममा उपयोग गर्न सकिन्छ । स्वास्थ्य क्षेत्रमा गर्ने लगानीलाई अस्पताल बनाउने अर्थमा मात्र बुझ्नुहुँदैन । पार्कहरूमा टहल्ने र बिहान-साँझ योग ध्यान गर्ने कामलाई संस्कृतिका रूपमा विकास गर्न समाजका अगुवाहरू लाग्नुपर्छ ।
अन्तमा, कतिपय ठाउँमा योगको नाममा थोरै अनुभव गरेका व्यक्ति प्रशिक्षक बनेर अभ्यास गराउने चलन पनि छ । यसले रोगलाई न्यून गर्नुको साटो बढाउने सम्भावना हुन्छ । त्यसैले परिपक्व र पूर्ण ज्ञान भएको तथा स्वास्थ्य विज्ञानसमेत जानेको व्यक्तिबाट यस्ता अभ्यास गराउन सकियो भने सकारात्मक प्रभाव पार्ने निश्चित छ ।

Leave a Reply