प्रदेशस्तरीय यू-१६ क्रिकेटः दाङ र नवलपरासी विजयी

रुपन्देही । दाङ र पश्चिम नवलपरासीले रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यू-१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा दाङले बर्दियालाई र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नवलपरासीले पाल्पालाई ६९ रनले पराजित गरेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दाङले निर्धारित ३५ ओभरमध्ये ३३ ओभर २ बल खेल्दै अलआउट भई १७० रन बनायो । उसका लागि योगेश्वर कुँवरले ४२, सन्दीप थापाले २४, शुभम खनालले १९, चन्द्र थापाले १७ र दक्ष ठाकुरले १६ रन बटुले ।

बलिङमा बर्दियाका आकाश थापाले ३, हेमन्त आचार्य र सक्षम बुढाथोकीले २-२ तथा निराजन थापा र श्रीजन भुजेलले १-१ विकेट लिए ।

प्रत्युत्तरमा बर्दिया ३० ओभर ४ बलमा अलआउट हुँदै १४० रनमै रोकियो । उसका लागि केशव विष्टले ४० र हेमन्त आचार्यले ३० रन बनाए ।

बलिङमा दाङका दक्ष ठाकुरले ३, सन्दीप थापा र शुभम खनालले २-२ तथा करण घर्तीमगर र रिजन बुढाथोकीले १-१ विकेट लिए । खेलमा दाङका दक्ष ठाकुर प्लेयर अफ द म्याच भए ।

एक्स्ट्राटेक ओभलमा भएको अर्को खेलमा टस जितेर ब्याटिङमा आएको नवलपरासीले निर्धारित ३५ ओभरमा २८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १३२ रन बनायो । उसका लागि आरोनजंग गिरीले २८, तिलक सापकोटाले २२, मनिष तिवारीले १४ र अजय चाईले ११ रन बनाए ।

बलिङमा पाल्पाका अमृत अर्यालले ४, दिवस अर्यालले ३, उपसन विक्रम जीसीले २ तथा कोसिस न्यौपानेले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले २१ ओभर २ बलमा सबै विकेट गुमाएर ६३ रनमात्रै बनायो । उसलाई सस्तैमा रोक्न नवलपरासीका आर्यन अली, तिलक सापकोटा र प्रेमसागर यादवले ३-३ तथा अजर्य चाईले १ विकेट लिए ।

पाल्पाका अमृत अर्यालले १३ र उज्ज्वल पाठकले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । खेलमा नवलपरासीका तिलक सापकोटा प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यू-१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।

प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टीम सहभागी छन् । प्रतियोगिता जेठ १६ गतेसम्म चल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *