रूपन्देही । पर्यावरणविद् र चराविद्हरूले हाइमास्ट लाइट वाइल्डलाइफका लागि खतरा रहेको औंल्याएका छन् । उनीहरूले जंगली जनावर आएर मानवलाई खतरा हुने ठाउँबाहेक अन्य क्षेत्रमा यस्तो बत्ती आवश्यक नै नभएको बताएका छन् ।
रातमा अँध्यारो नै हुन नदिने गरी जडान गरिएका यस्ता बत्तीले चराचुरुङ्गी र ससाना जीवहरूको बासस्थान तथा जीवनचक्रमा नकारात्मक असर पर्नसक्ने भन्दै वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका हुन् ।
चराविद् डा. हेमसागर बरालले बढ्दो हाइमास्ट लाइट जडानको प्रतिस्पर्धा वातावरणीय प्रभावको हिसाबले गलत र घातक भएको बताए ।
उनले वाइल्डलाइफलाई यसले पूरा ड्यामेज गराउने र मानवीय प्रभावको जोखिमलाई पनि बढाउने बताए ।
‘यो गलत छ, कसले कहाँबाट के अध्ययनका आधारमा हाइमास्ट जडान गरिरहेका छन्, मुख्य बजारमा सामान्य बत्ती बालिनु ठीकै हो, तर बजारोन्मुख क्षेत्रहरूमा ठूलो पावरका हाइमास्टले वाइल्डलाइफलाई ड्यामेज त बनाउँछ नै’, उनले भने, ‘मानवीय स्वास्थ्यका हिसाबले पनि यसले राम्रो गर्दैन, बन क्षेत्रमा वन्यजन्तुबाट सुरक्षित गराउन प्रयोग गरिनु बाध्यता होला, तर अन्य ठाउँमा यो जरुरी छैन ।’
वातावरण क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका अध्यापक तथा कानुनविद् युवराज कँडेलले पनि रुखविरुवा वरिपरि भएको ठाउँ र सामान्य वस्ती भएको ठाउँ, ठूलो घुम्तीहरू नभएको बाटोहरूमा यस्तो ठूलो क्षमताको लाइटले पर्यावरणीय प्रभाव पार्ने बताए ।
‘चराचुरुङ्गी, वन्यजन्तुलाई मात्र होइन, मानव जीवनलाई पनि ठूलो क्षमताको लाइट हानिकारक छ । अँध्यारोमा यस्ता लाइटले पार्ने प्रभावको कुनै अध्ययन नै भएको छैन, यसले धेरैलाई असर गरेको छ’, उनले भने, ‘सबै ठाउँमा यो आवश्यक नै होइन, हाइमास्टको चहकिलो हटाएर सामान्य लाइट राख्न सकिन्छ ।’
उनका अनुसार मुख्यचोकमा उज्यालोका लागि हाइमास्ट लाइट प्रयोग गर्न सकिए पनि घरमा राति यो लाइट बालेर सुत्दा निद्रा पुग्दैन । उनले हिजो सोलर लाइट जस्तै अहिले अध्ययनबिनै हाइमास्ट लाइटको प्रयोग भएको र यो सबै ठाउँमा आवश्यक नै नभएको बताए ।
‘बढी उज्यालो हुँदा सिकारी जीवहरूले चरालाई देख्ने र आक्रमण गर्ने भएकाले अनावश्यक प्रकाश प्रदूषण गर्न नहुनेमा चराविद् कृष्ण भुसालले जोड दिए । मानव निर्मित रातको उज्यालोले चराहरूको जीवनचक्रमा परिर्वतन हुने गरेको उनी बताउँछन् ।
‘हामीले त्यति ख्याल गर्दैनौँ । रातमा धेरैजसो चरा बसाइ सर्छन् । त्यस्ता चराहरूलाई रातको उज्यालोले गन्तव्यमा जान कठिनाइ हुन्छ’, उनी भन्छन् ।
उज्यालो प्रकाशले रातमा आराम गर्ने चराहरू सुत्न पाउँदैनन् । उज्यालो भएकै कारण बास बसेका चराहरूमा पनि आक्रमणमा पर्ने डर उत्तिकै हुन्छ । त्यति मात्र होइन, उज्यालो प्रकाशले उनीहरूको प्रजननमा पनि असर गर्ने उनले बताए ।
वातावरण संरक्षणका क्षेत्रमा लामो समयदेखि अभियान चलाउँदै आएका अग्रज पत्रकार डीआर घिमिरेका अनुसार अत्यधिक उज्यालोले कार्बन उत्सर्जन बढाउनुका साथै मानिस, कीरा, चराचुरुङ्गी र अन्य वन्यजन्तुको जीवनचक्रमा पनि अवरोध पुग्छ । त्यसैले उच्च प्रकाशलाई नियन्त्रण गर्ने प्रविधिको प्रयोग गर्नेतर्फ सरोकारवालाहरू सचेत हुनुपर्छ ।
‘सामान्यतः बजार क्षेत्रमा यस्ता काम गर्दा वातावरणीय अध्ययन गर्नुपर्ने हो । जस्तो कि बत्तीको प्रकाश जमिनमै केन्द्रित गरी आकाश र वरिपरि फैलन नदिने, स्मार्ट प्रविधिको प्रयोग गरी ट्राफिक नभएको समयमा बत्ती आफैं निभ्ने अर्थात् सेन्सर लगाउने, चरा, वन्यजन्तु र रुख विरुवा भएका क्षेत्रमा उज्यालो कम गर्ने, राति १२ बजेपछि कम उज्यालो हुने मोडमा राख्ने आदि जस्ता वैकल्पिक उपाय अपनाउन सकिन्छ’, उनले सुझाए ।
पौलैपिच्छे मेयरको नामः उज्यालोभन्दा प्रचार बढी
बुटवल उपमहानगरपालिकाको ‘उज्यालो बुटवल’ अभियानअन्तर्गत मुख्य चोक तथा सडकमा जडान भइरहेका हाइमास्ट बत्तीभन्दा बढी चर्चा मेयरको नाममा झुन्ड्याइएका ताम्रपत्रहरूले बटुलिरहेका छन् । पहिलेदेखि नै सडक बत्ती जडान भइसकेका ठाउँमा समेत पुनः हाइमास्ट बत्ती जडान गर्दै ती प्रत्येक पोलमा मेयर खेलराज पाण्डेको नाम र उद्घाटन मिति उल्लेख गरिएको शिलालेख (ताम्रपत्र) राखिएको छ । यिनै ताम्रापत्रले अहिले सामाजिक सञ्जालदेखि सर्वसाधारण जनमतमा आलोचना खेपिरहेका छन् । सामान्यतः कुनै आयोजना उद्घाटन गर्दा एउटा बोर्ड वा संकेतक राख्ने चलन रहँदै आएकोमा, बुटवलमा भने ‘प्रत्येक पोलमा ताम्रपत्र’ राखिएको दृश्यले ‘विकासको साटो प्रचारको मोह देखिएको’ टिप्पणी गरिएको छ ।
बुटवल नगरको नाममा गरिएको विकासलाई व्यक्तिगत श्रेय दिलाउने अभ्यास अस्वाभाविक, असंवैधानिक र करदाताको पैसाको अपमान भएको आलोचकहरूको धारणा छ ।
जनताको करः मेयरको प्रचार !
एमाले बुटवल नगर कमिटीका अध्यक्ष शोभाखर पोखरेल भन्छन्, ‘जनताको करबाट भएका कामलाई मेयरले आफ्नै खर्चबाट गरिएको झैँ देखाउने प्रयास गरेका छन् । कहीँ नभएको जात्रा बुटवलमा भएको छ ।”
उनको भनाइमा मुख्य सडकमा पहिले नै चलिरहेको बत्ती हटाएर अनावश्यक स्थानमा हाइमास्ट बत्ती राखिएको छ । ‘केही मिटर सडक बनेपछि त्यस्को छेउको कबस्टोनमा पनि नाम लेख्ने हो भने विकास होइन, नाङ्गो प्रचार हा’े, उनी भन्छन् ।
स्थानीय बुद्धिजीगी डीआर घिमिरे ‘उज्यालो शहर’ बनाउने नाउँमा गाउँ, बस्ती र गल्ली अन्धकारमै राखिएको गुनासो गर्छन् ।
‘मुख्य बजार क्षेत्रमा त हाइमास्ट जडानको दौड छ, तर ग्रामीण क्षेत्रमा सडक बत्तीको रकम तिर्ने नाममा बत्ती नै काटिएको छ’, उनी भन्छन् ।
सामाजिक सञ्जालमा पनि मेयर पाण्डेको आलोचना तीव्र छ । डीआर घिमिरे लेख्छन्, ‘हाइमास्ट जडान गर्नुपूर्व वातावरणीय असर मूल्यांकन आवश्यक थियो, गरियो या गरिएन थाहा छैन, तर प्रत्येक पोलमा ताम्रापत्र राख्नु सस्तो प्रचार हो । यस्तो अभ्यासले राजनीतिप्रति नै वितृष्णा बढाउँछ ।”
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जीसीले भौगोलिक संरचना नहेरी साँघुरा र घुम्ती स्थानमा बत्ती राखिँदा दुर्घटनाको जोखिम बढेको बताए ।
त्यस्तै बुटवल–११ का दिननाथ भट्टराई भन्छन्, ‘टोल र पथका बत्ती काट्दै मुख्य सडकमा अनावश्यक हाइमास्ट राख्ने, अनि हरेक पोलमा नाम झुन्ड्याउने मेयरको मोहले जनतालाई सास्ती मात्र दिएको छ ।’
स्थानीय शिक्षक तारा अर्याल टोलका बत्ती नहुँदा रातको समयमा दुर्घटना, चोरीको भय र पैदलयात्राको असुरक्षा रहेको बताउँछिन् ।
हाइमास्ट बत्तीको लागत र कार्यान्वयन अवस्था
२०८० माघ १२ गते नेपाल पावर सोलुसन प्रालिसँग दुई करोड सात लाख रूपैयाँभन्दा बढीको लागतमा पहिलो चरणको हाइमास्ट बत्ती जडान सम्झौता गरिएको थियो । गत फागुन २ गतेबाट काम सुरु भई पहिलो चरणमा २३ स्थानमा बत्ती जडान गरियो । त्यसपछि, चालु आर्थिक वर्षमा तीन करोड ८१ लाख रूपैयाँको बजेटमा थप २६ वटा हाइमास्ट बत्ती जडान कार्य भइरहेको छ ।
नपाका इन्जिनियर सुमन श्रेष्ठका अनुसार योमध्ये एक करोड ३० लाख उपमहानगरको बजेट हो । बाँकी संघीय सरकारको समपूरक अनुदानबाट जुटाइएको हो

Leave a Reply