नेकपा सम्झिँदै प्रचण्डले भने- एमालेसँग एकता गरेर गलत गरेँ भन्ने अहिले पनि लागेको छैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टहरू एकैठाउँमा हुँदा वामपन्थीको ठूलो जनमत देखिने दाबी गरेका छन् ।

नेसपाका गंगानारायण श्रेष्ठ पक्षसँग भएको पार्टी समायोजन घोषणा सभालाई सम्बोधन गर्दै अब कम्युनिष्टहरू एकैठाउँमा आउने नयाँ आधार बनेको बताए। घोषणा सभामा उनले ०७४ सालमा एमालेसँग एकता गरेर बनाएको नेकपाको पनि स्मरण गरे ।

उनले भने, ‘सरकारको तर्फबाटै समाजवादी आन्दोलन सुरू गर्न सकिन्छ भन्ने उद्देश्यका साथ नै मैले नै एमालेलाई हामी मिलेर निर्वाचन लडौँ र पार्टीलाई एउटै बनाएर समाजवादी क्रान्तितिर जाने तयारी गरौँ भनेर प्रस्ताव गरेका थियौँ । हामीले त्यस्तो गर्नुको पछाडि कुनै अवसरवादसँग समर्पण पनि थिएन । नेपालमा मौलिक समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित गरिएको थियो । त्यसैले यहाँसम्म आउँदा मलाई त्यसो गर्नु सैद्धान्तिक रूपमा गलत भयो भन्ने लागेको छैन । हामीले सही नै गरेका थियौँ ।’

उनले त्यसबेला कम्युनिष्ट र जनताहरूले पनि अनुमोदन गरेर झण्डै दुईको नजिक पुगेको भएपनि त्यो प्रयास असफल भएको स्मरण गरे ।

दाहालले थपे, ‘त्यो सफल हुन थालेपछि केहीले अलगै गुटबन्दी गरेर पार्टी एकता भत्काउने कसरत भए । त्यसमा प्रतिक्रियावादी देशी विदेशी शक्तिहरू पनि लागे । तत्काल हामीलाई सफल हुन दिइएन । अहिले फेरि हामीले नयाँ ध्रुवीकरणको सुरुआत गरेका छौँ ।’

Comments

One response to “नेकपा सम्झिँदै प्रचण्डले भने- एमालेसँग एकता गरेर गलत गरेँ भन्ने अहिले पनि लागेको छैन (भिडिओ)”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    अलग्गै गुटबन्दी गरेर एकता भत्काउने त ….. हाेला नि । कि कसाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *