दुर्गा प्रसाईँले ‘आओ आओ’ भन्दा गाडीभित्र बसेर भिडिओ खिच्ने दाहालविरुद्ध ५ वटा मुद्दा

काठमाडौं । गत चैत १५ गते काठमाडौंमा राजावादीले गरेको आन्दोलनका क्रममा कथित जन कमाण्डर दुर्गा प्रसाईँको गाडीभित्र बसेर उनको उत्तेजक हर्कतको भिडिओ खिच्ने नेपाल पुकार युट्युव च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहालविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा प्रकाशचन्द्र दाहाल पनि परेका हुन् । उनीविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता भएको छ । दाहाल भने सोही घटना भएको दिनदेखि फरार छन् ।

उनले दुर्गा प्रसाईँकै गाडीमा बसेर त्यस दिनको भिडिओ लाइभ गरेका थिए । प्रसाईँ बानेश्वरतर्फ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरूलाई ‘आओ आओ’ भन्दै उक्साइरहेको भिडिओ प्रकाशचन्द्रले प्रसारण गरिरहेका थिए । प्रसाईँको गाडीले प्रहरीलाई नै किचेर अघि बढ्न खोजेपछि स्थिति भड्किएको थियो ।

दाहालले भने आफूले पत्रकारका रूपमा एक्सक्लुसिभ भिडिओ खिच्नेबाहेक अरु भूमिका नरहेको भन्दै प्रहरीले आफ्नो कमजोरी लुकाउन उल्टो मुद्दा चलाएको आरोप लगाए । नेपाल प्रेससँग कुरा गर्दै उनले प्रहरीले टायरमा गोली चलाएर वा प्रसाईँलाई नियन्त्रणमा लिनुपर्नेमा कमजोरी ढाकछोप गर्न आफूमाथि असम्बन्धित ६ वटा गम्भीर मुद्दामा फसाउन खाजेको बताए ।

पत्रकार महासंघले पनि आफ्नो पक्षमा बोल्न नचाहेको दाहालको गुनासो छ । एउटा पत्रकारको काम राम्रो फोटो र भिडिओ खिच्ने तथा पाठक स्रोता दर्शकले रुचाउने कन्टेन्ट पस्किने भएकाले आफूले सोही काम गरेको उनको दावी छ । दाहाल प्रायः दुर्गा प्रसाईसँगै हिड्ने गर्थे ।

Comments

3 responses to “दुर्गा प्रसाईँले ‘आओ आओ’ भन्दा गाडीभित्र बसेर भिडिओ खिच्ने दाहालविरुद्ध ५ वटा मुद्दा”

  1. AA Avatar

    खुच्चिङ भन्न चाहन्छु

  2. Kiran Avatar
    Kiran

    यी युट्युबे हुन्। पत्रकार चै पुर्व हुन्। यस्ताको पक्षमा पत्रकार महासँघ नबोलेर ठिक गर्‍यो !

  3. Bishnu Samari Avatar
    Bishnu Samari

    यस्ता झोले लाइ प्रहरिले ठिक गर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *