काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा झण्डै दुई महिनापछि स्वीकृत भएको छ । हिजो बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय लिएको हो ।
सुमनाले विभिन्न विषयमा असन्तुष्टि दर्शाउँदै गत चैत १८ गते सभापति रवि लामिछानेसमक्ष राजीनामा बुझाएकी थिइन् । आफू पार्टीभन्दा संसदको जिम्मेवारीमा केन्द्रित हुन चाहेको उनको भनाइ छ । उनको राजीनामालाई अहिलेसम्म होल्डमा राखिएको थियो ।
हिजैको बैठकले पार्टीको प्रशिक्षक विभाग प्रमुखबाट अनिलकेशरी शाहले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । शाहले २८ वैशाखमा दिएको राजीनामा हिजो स्वीकृत भएको हो । बैठकमा उनले आफूले राजीनामा दिनुको कारण प्रष्ट्याएका थिए । प्रशिक्षक विभागको प्रमुख पद आफूलाई ‘सुट’ नगरेको भन्दै उनले अर्को विभागको जिम्मेवारी दिए स्वीकार्ने मनसाय व्यक्त गरेको एक केन्द्रीय सदस्यले बताए ।
अब श्रेष्ठ र शाह दुवै पार्टीको केन्द्रीय सदस्यको हैसियतमा रहनेछन् । सुमना प्रतिनिधिसभा सदस्यको जिम्मेवारी पनि छिन् । उनले हिजोको बैठकमा सभापति रवि लामिछानेमाथि भइरहेको ज्यादतीपूर्ण कारवाहीको पार्टीले एक ढिक्का भएर प्रतिरोध गर्नुपर्नेमा जोड दिएको स्रोतले बतायो ।

Leave a Reply