काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराईको अहिलेसम्म औपचारिक बयान नलिएको खुलेको छ ।
अख्तियारका अधिकारीका अनुसार भिजिट भिसा प्रकरणमा अध्यागमनमा छापा मार्ने क्रममा उनलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको थियो । तर, बयान लिएको र भट्टराईले विभिन्न व्यक्ति मुछेको भन्दै बाहिर आइरहेका कुरा गलत भएको ती अधिकारीले बताए ।
अख्तियार स्रोतले भन्यो, ‘भिजिट भिसामा दैनिक लाखौं रकम असुल भइरहेको पटक-पटकको सूचनाअनुसार त्यस दिन छापा मारिएको हो । छापा मारुञ्जेल सम्बन्धित अधिकारीलाई नियन्त्रणमा लिनु सामान्य प्रक्रिया हुन्छ । तर, बयान लिएको भनेर आइरहेका प्रचारबाजी सबै गलत हुन् । अध्यागमन निर्देशक तीर्थ भट्टराईको भूमिका शंकास्पद देखिएकैले उनलाई नियन्त्रणमा लिएर हाजिरीमा छाडिएको हो । उनीसँग यो प्रकरणमा प्राप्त तथ्य र प्रमाणका आधारमा बयान हुन्छ तर अहिले फरेन्सिक रिपोर्ट समेत नआइसकेको र अनुसन्धानको प्रक्रिया अन्य ढंगले पनि चलिरहेकाले थप बयान भएको छैन । बाहिर आएका कुरा अनुमान र हल्लामात्र हुन् । यसको अख्तियारले वक्तव्य निकालेर खण्डन गर्ने भन्दा पनि सत्य तथ्य अनुसन्धानपछि बाहिर ल्याउने हो । दोषी देखिए उनीसहित संलग्नमाथि मुद्दा चल्छ । ‘
जेठ ७ गते अख्तियारको टोलीले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर भट्टराईको मोबाइल र केही डिभाइस बरामद गरी आवश्यक जाँचका लागि फरेन्सिक ल्याबमा पठाएको छ । घटनास्थलको मुचुल्का तयार बाहेक अहिले केही प्रक्रिया अघि नबढेको स्रोतको भनाइ छ ।
‘फरेन्सिक रिपोर्टपछि मात्र थप अनुसन्धान अघि बढ्छ । अहिले आएका कुरा सबै मनगढन्ते हुन्’, अख्तियार स्रोत भन्छ ।
विगतमा भिजिट भिसालगायत विभिन्न प्रकरणमा मुछिएकाहरू गृहमन्त्री रमेश लेखकको सचिवालयमा रहेकाले उनलाई तानेर बाहिरी दबाब सिर्जना भइरहेको केहीको भनाइ छ ।
तीर्थ भट्टराईलाई अध्यागमन पठाउने सन्दर्भबाहेक गृहमन्त्रीको भूमिका भिजिट भिसा प्रकरणमा अरु नदेखिएको भनाइ छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कर्मचारी पक्राउ पर्दा वा अनुसन्धानमा तानिदा मन्त्री दोषी नहुने भनेर गृहमन्त्रीको बचाउ गरेको बताइएको छ ।
यसैबीच गृहमन्त्रीको निजी सचिवालयमा रहेका दागी कर्मचारी विमल पौडेलको मन्त्रालय अन्तर्गत विपद व्यवस्थापन विभागमा सरुवा गरिएको छ । विगतमा भिजिट भिसा प्रकरणमा पक्राउ परी मुद्दा चलेका पौडेललाई सचिवालयमा राखेका कारण मन्त्री विवादमा परेका थिए । सचिवालयमा कस्ता कर्मचारी आए भन्ने चासो नदिनु गृहमन्त्रीको कमजोरी भएको कांग्रेस नेताहरुले बताएका छन् ।
एक व्यक्तिले लगातार आयुक्त र अख्तियारका अधिकारीहरूलाई प्राइभेट नम्बरबाट अध्यागमनको सेटिङबारे फोन गर्ने गरेको र कतिपय प्राविधिक सूचनासमेत दिएकाले छापा मारेको बताइएको छ । तर, छापा मार्ने अघिल्लै दिन त्यहाँका प्रमुख भट्टराईको सरुवा गरिएको थियो ।
प्राप्त जानकारीअनुसार भिजिट भिसाको सेटिङबाट उठेको रकम भक्तपुरका एक घरजग्गा व्यवसायीको नाममा ‘पार्किङ’ भइरहेको आशंकामा छानबिन भइरहेको छ ।
अख्तियार स्रोतका अनुसार अहिले भिजिट भिसा प्रकरणको समग्र जालोसम्म पुग्ने र पैसा पार्किङ हुने ठाउँको कनेक्सन खोजी भइरहेको छ । यो प्रकरणमा कतिपय मेनपावर,ट्राभल एजेन्सी र व्यवसायी संलग्न देखिएका छन् ।
यो जालो वर्षौदेखि रहेको र यसअघि अपराध महाशाखाले छानबिन गर्दा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान अधिकृत गोविन्द पन्थीको सरुवा गरेको उनी आफैंले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

Leave a Reply