काठमाडौं । न्यूजिल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपाल भ्रमणमा आउँदैछन् । दुई दिने भ्रमणमा आउन लागेका उपप्रधानमन्त्री पिटर्स बुधबार नेपाल आउने भएका हुन् ।
पिटर्सको भ्रमण मे २८ बाट २९ सम्म हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउने न्युजिल्यान्डका अहिलेसम्मकै उच्च सरकारी प्रतिनिधि हुन् ।
नेपाल भ्रमणका दौरानमा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र न्युजिल्यान्डको सम्बन्धले सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको प्रथम सगरमाथा आरोहणसँगै नागरिकस्तरमा व्यापकता पाएको थियो । कूटनीतिक रुपमा भने दुई देश पञ्चायतकालमा मात्रै जोडिएका हुन् ।
सन् १९६१ मे १ मा दुई देशको कूटनीतिक सम्बन्ध स्थापना भएको हो, तर दुई देशले एकअर्काको देशमा राजदूतावास भने स्थापना गरेका छैनन् । नेपालले अस्टे«लियाबाट गैरआवासीय राजदूत बनाएको छ भने न्यूजिल्यान्डले भारतबाट त्यस्तै गरेको छ ।
को हुन् उपप्रधानमन्त्री पिटर्स ?
उपप्रधानमन्त्री पिटर्स न्यूजिल्यान्डका प्रभावशाली नेता हुन् । उनी सन् २०१८ मा कार्यवाहक प्रधानमन्त्री भएका थिए । सन् १९७८ मा तत्कालीन नेसनल पार्टीमा आबद्ध भएर पिटर्स पहिलोपटक सांसद बनेका थिए ।
सन् १९९३ मा उनले न्यूजिल्यान्ड फ्रर्स्ट पार्टी स्थापना गरेका थिए । उनी अहिले त्यही दलका संसदीय नेता हुन् । विभिन्न दलहरुको गठबन्धनमा उनको दल सहभागी हुँदै आएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री भएका उनले रेसिङ तथा रेल मन्त्रालय पनि हेर्दै आएका छन् ।
न्यूजिल्यान्ड र अमेरिकाको सम्बन्ध बलियो बनाउन उनको भूमिका भएको बताइन्छ । उनी विभिन्न चुनाव तथा उपचुनावहरुमा विजेता बन्दै आएको इतिहासछ । ८० वर्षीय उनले जीवनमा प्राथमिक शिक्षक, वकिल तथा होटल कर्मचारी भएको अनुभव पनि लिएका छन् ।

Leave a Reply