युनुस मारिने सूचनापछि नख्खु कारागारबाट छुट्नेबित्तिकै पक्राउ, जेलभित्रै मार्न खोज्ने मनमित सिंह कहाँ छन् ?

काठमाडौं । नक्कली भारतीय नोटको कारोबारमा संलग्न युनुस अन्सारी नख्खु कारागारमा सजाय काटेर छुटेगत्तै लगत्तै अर्को मुद्दाको अनुसन्धानका लागि पक्राऊ परे । तर, उनी पुनः पक्राउ पर्नुमा अर्को मुद्दामात्र नभई ज्यानमाथिको खतरा मुख्य कारण रहेको प्रहरी स्रोतले जनाएको छ ।

नेशनल टेलिभिजन सञ्चालनको आवरणमा उनी नक्कली भारतीय मुद्राको कारोबार गर्थे । त्यसक्रममा पहिलोपटक २०६६ पुस १३ मा २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय मुद्रासहित उनी काठमाडौंबाट पक्राउ परेका थिए ।

दोस्रोपटक २०७६ असोज ६ गते प्रहरीले फेला पारेको ४० लाख ११ हजार नक्कली नोटको कारोबारमा पनि उनको संलग्नता देखिएको थियो ।

तेस्रोपटक २०७० माघ १० गते उनी पक्राउ परेका थिए । त्यसबेला उनीबाट ३५ लाख नक्कली भारु बरामद भएको थियो । फेरि २०७६ जेठ १० गते ७ करोड ६७ लाख ९४ हजार नक्कली नोटसहित पक्राउ परे ।

उनलाई अन्तिमपटक ६ वर्ष कैद, ६० हजार रुपैयाँ जरिवाना र क्षतिपूर्तिबापत १३ सय रुपैयाँको सजायँ सुनाइएको थियो । सोही कैदको भुक्तानी जेठ १० गते शनिबार भएको हो । आइतबार कार्यालय समय शुरु हुनासाथ उनी ललितपुर, नख्खुस्थित कारागारबाट मुक्त भए ।

तर, प्रहरीले त्यहीँबाट पुनः नियन्त्रणमा लियो । कारण थियो, नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्नका लागि दिएको पत्र ।

तर, मुद्दाभन्दा पनि गम्भीर विषय थियो, उनको ज्यानसम्बन्धी । प्रहरी स्रोत भन्छ, ‘उनको हत्याका लागि भारतीय सार्पसुटर तयार भइसकेका थिए ।’ तर, प्रहरी त्यस्ता कोही पनि सार्पसुटर पक्राउ गरेको छैन ।

युनुस बारा जिल्लाका बासिन्दा हुन् । पूर्वमन्त्री तथा तत्कालिन एमाले नेता स्व.सलिम मियाँ अन्सारीका छोरा हुन् ।

२०६७ फागुन २६ गते सुन्धारा, जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा कैद रहेकै अवस्थामा उनको हत्या प्रयास भएको थियो ।

त्यसबेला केन्द्रीय कार्यालयमा कैद सिरियल किलर चाल्र्स शोभराजलाई ‘साथीका रुपमा’ भेट्ने बहानामा भारतीय सार्फसुटर जसजित सिंह भनिने मनमित सिंह भाटिया कारागार हाताभित्र छिरेका थिए ।

गुप्ताङमा लुकाएर पेस्तोलसहित भित्र छिरेका उनले युनुसको निधारलाई लक्षित गर्दै ६ राउण्ड गोली हाने । त्यसमध्ये ५ राउण्ड गोलीको निशाना लागेन । तर, छैठौँ राउण्डको गोली उनको दाहिने हातको कुहिनामा लागेको थियो ।

भाटियालाई ड्युटीमा रहेका प्रहरीले तत्कालै नियन्त्रणमा लिएका कारण युनुस मारिनबाट जोगिएका थिए ।

उक्त घटनामा भाटियालाई पक्राउ गर्ने एकजना प्रहरी हवल्दार पुरस्कृत भएका थिए भने कारागार ड्युटीमा रहेका बाँकी सबै प्रहरी त्यहाँबाट हटाइएका थिए । तत्कालिन जेलर तीर्थराज भट्टराईको जिम्मेवारी पनि खोसिएको थियो ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा काण्ड’ लागेका सहसचिव भट्टराई शाखा त्यसबेला उपसचिवका रुपमा जेलरको जिम्मेवारीमा थिए ।

२०६७ सालदेखि गरिएको उनको हत्या प्रयास अहिले पनि जारी रहेको सूचनाका कारण उनलाई हत्तपत्त नियन्त्रणमा लिनुपरेको प्रहरीस्रोतले जनाएको छ । नत्र, सम्पत्ति शुद्धीकरण मुद्दामा शुरुमै मानिस पक्राउ नगरी अनुसन्धानबाट दोषी करार गर्न मिल्ने स्थिति भएपछि मात्रै पक्राउ गर्ने गरिन्छ ।

भारतबाट नेपालका विभिन्न स्थानमा भारतीय ‘सार्पसुटर’ हरुको निर्वाध आवतजावत चल्ने गरेको यसअघिका विभिन्न घटनामा देखिएको छ ।

प्रहरी स्रोतका अनुसार, उनीहरुले भारतबाट हतियारसहित मानिस पठाउने गरेका छन् । काम लगाएर पठाइएका व्यक्ति बिनाहतियार काठमाडौं छिर्ने, त्यसअघि नै नावालकहरुलाई प्रयोग गरी हतियार भित्र्याइसकिएको हुन्थ्यो ।

त्यसैले हतियारसहित कोही मानिस फेला नपरेसम्म ऊ अपराध गर्नकै लागि काठमाडौं आएको हो भनी किटान गर्न नमिल्ने प्रहरीको भनाइ छ । ‘युनुसलाई मार्ने टास्क सकिएको छैन भन्ने सूचना हामीसँग छ, तर को मान्छे पठाइएका छन् र कहाँ बसेका छन् भन्ने कुरा खुलिसकेको छैन’, प्रहरी स्रोतको भनाइ छ ।

यस्तै, सूचनाका कारण प्रहरीका आईजीको प्रत्यक्ष नियन्त्रण र रेखदेखमा रहने केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोली उनलाई पुनः पक्राउका निम्ति खटिएको हो ।

भाटिया पनि पुनः पक्राउ

जेलभित्रै युनुस हत्याका लागि जाने भारतीय नागरिक मनमित सिंह भाटियालाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग एवं हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाएको थियो । २०६७ फागुन २६ गते पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले १२ वर्षको जेल सजायँ तोकेको थियो । २०८० असार पहिलो साता उनले कैद भुक्तान गरे ।

कैद भुक्तान गरी नेपालगञ्जको बाटो हुँदै भारत जाने क्रममा उनलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले नेपालगञ्ज बजारबाट पक्राउ गरेको थियो ।

उनले युनुसको हत्याप्रयासअघि बाँकेकै बासिन्दा अब्जुद मजिद मनिहारको हत्या गरेका थिए । २०६६ असोज १९ गते नेपालगञ्जस्थित होटल लालीगुराँशमा मनिहारको हत्या गरेपछि भारतमै लुकेर बसेका उनी एक वर्षपछि युनुुस हत्याको जिम्मेवारीसहित वीरगञ्ज नाकाबाट काठमाडौं भित्रिएका थिए ।

२०६६ सालमा मारिएका मनिहार पनि नक्कली भारतीय मुद्राका कारोबारी थिए । उनको हत्यामा संलग्न सिंहलाई कर्तव्य ज्यान मुद्दा चलाइएको बाँके प्रहरीका तत्कालिन प्रमुख एसपी सन्तोषसिंह राठौर (हाल एसएसपी) ले बताए । अहिले उनी बाँके कारागारमा कैद छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *