गृहमन्त्रीबारे रास्वपा- नयाँलाई मुद्दा दर्ता हुनासाथ थुन्दिने, पुराना दललाई प्रमाणित हुनुपर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस-एमालेको गठबन्धनको औचित्य पुष्टि हुँदै गएको टिप्पणी गरेको छ । केन्द्रीय समितिको बैठकमा रविको मुद्दामा हालैको सर्वोच्चको आदेश, भिजिट भिसा प्रकरण, पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल भएको प्रवक्ता मनिष झाले बताए ।

अहिलेको सरकार भ्रष्ट र तस्करले चलाएको भन्दै झाले एकअर्कालाई बचाउन र खुलेको फाइल बन्द गर्न यो गठबन्धन बनेको आफूहरूले त्यहीबेला भनेको र भिजिट भिसा काण्डले त्यसलाई पुष्टि गरेको दाबी गरे ।

गृहमन्त्रीले प्रमाणित भए भने राजनीतिक छाड्छु भनेको सम्झिँदै उनले पुराना र नयाँ दलको हकमा किन फरक भन्दै प्रश्न गरेका छन् ।

‘अरु दलकालाई प्रमाणित नगरेरै थुनिरहनुभएको छ । पुरानो दललाई प्रमाणित हुनुपर्ने नयाँलाई चाहिँ दर्ता हुनासाथ थुन्दिने ? कर्मचारीले बदमासी गरेको स्वीकार्नुभयो । गृहमन्त्री नै गएर टाँचा लाउन बस्ने त होइन । मन्त्री नै गएर सबै विन्डोमा बस्ने हो र ? कसको पालामा भयो त्यहाँ कसले सरुवा गरेको । विधिअनुसार सरुवा गरेको थियो ? प्रश्न त त्यो हो नि !’

उनले सुशासनको पक्षमा आन्दोलनमै जानुपर्ने पनि अवस्था हुनसक्ने भन्दै त्यसबारे पनि छलफल भएको बताए ।

पर्सिको संसद सामान्य हुने छैन भन्दै रास्वपाले चेतावनीसमेत दिएको छ ।

सर्वोच्चको आदेशले रविलाई थुनामा पठाउने उच्चको आदेश सदरलाई कानूनीरूपमा मान्ने तर प्रक्रियागत त्रुटिमाथि सार्वजनिक बहस गर्ने झाको भनाइ छ ।

‘सर्वोच्च आफैँले त्रुटि भएर सच्याइसक्यो । बन्दी प्रत्यक्षीकरणको मुद्दामा कतै त्यो कुरा उल्लेख भएको छैन । अदालतको बारेमा कतै नबोल्नु भन्दा पनि अदालतले कतै त्रुटि, असन्तुलन हुन नदिएर आफ्नो सम्मान आफैँ कायम राख्नुपर्ने हो नि !’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *