कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव पेश गरेका थिए । उनले गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित गरिएको हो ।

नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रदेश सांसदले उठाएका प्रश्नका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका थिए ।

उनले प्रदेश सरकारले दीर्घकालीन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार गरेको बताएका थिए । नीति तथा कार्यक्रममाथि ४६ जना प्रदेशसभा सदस्यले आफ्नो धारणासहित सुझाव दिएका थिए ।

मुख्यमन्त्री कार्कीले अहिलेको नीति कार्यक्रमले प्रदेशमा आर्थिक उन्नति र आन्तरिक आय बढाउन जोड दिएको उल्लेख गरे ।

नीति कार्यक्रमले दोस्रो आवधिक योजनाको लक्ष्य र प्रदेश सरकारले लिएको दीर्घकालीन लक्ष्यलाई समेत समेटेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘कुनै व्यक्तिले, संस्थाले वा दलले सरकारले अघि सारेका राम्रा योजनाको समर्थन गर्नु भनेको सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरू बन्ने चाहना देखाउनु होइन । यो सामान्य प्रक्रिया हो ।’

उनले नीति तथा कार्यक्रममा राष्ट्रिय विभूति, पूर्वराष्ट«ाध्यक्ष तथा आन्दोलनका शहीदहरुको घर संरक्षण गर्ने र यसलाई प्रदेश सरकारको मातहतमा ल्याउने कुराको विरोध गर्नसमेत आवश्यक नभएको बताए । इतिहासको संरक्षण गर्दै भावी पुस्तालाई जानकारी दिन पनि ती संरचनाको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *