बझाङमा प्रधानमन्त्रीमाथि घनश्याम भुसालकाे प्रहार– ओली त्याग्यौं, जनता अपनायौं

बझाङ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन् । बझाङको झोता बजारमा आजदेखि सुरु भएको पार्टीको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीको राजनीतिक निर्णयहरू संविधान र जनभावनाविपरीत रहेको टिप्पणी गरे।

भुसालले संसद विघटनको घटनालाई स्मरण गर्दै भने, ‘त्यो बेला हामीमाथि प्रश्न थियो- ओलीको साथ दिने कि जनताको ? हामी जनताको पक्षमा उभियौं । हामीले ओलीलाई छोड्यौं, तर जनतालाई कहिल्यै छोडेनौं ।’

ओलीको विकास मोडेललाई ‘जनविरोधी’ र ‘अवास्तविक’ भन्दै आलोचना गर्दै उनले संसद विघटन, जनमतको दमन र राज्य स्रोतको दुरुपयोग जस्ता कदमहरूले संविधानको मर्यादा हनन् गरेको आरोप लगाए ।

वर्तमान सत्ता गठबन्धन जनताको हित होइन, सत्ता संरक्षणको सौदाबाजी भएको महासचिव भुसालले बताए ।

‘जनताको अधिकारको निम्ति होइन, सत्ता टिकाउने सौदाबाजीका लागि यो गठबन्धन गरिएको हो’, भुसालले आरोप लगाए ।

महासचिव भुसालले एकीकृत समाजवादी पार्टीले कम्युनिष्ट आन्दोलनको मूल मर्म जोगाउँदै जनमुखी राजनीति अघि बढाइरहेको उल्लेख गरे । पार्टी विचार, मूल्य र सिद्धान्त बेच्ने होइन, जनताको पक्षमा अडिने शक्ति भएको उनले स्पष्ट पारे ।

अब पार्टीको प्राथमिकता संगठन सुदृढीकरण र जनस्तरसँगको सम्बन्ध विस्तारमा हुने उनको भनाइ थियो।

कार्यक्रममा उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशी र सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घ सोडारी पनि सहभागी थिए ।

Comments

One response to “बझाङमा प्रधानमन्त्रीमाथि घनश्याम भुसालकाे प्रहार– ओली त्याग्यौं, जनता अपनायौं”

  1. bharat kumar thapa Avatar

    कम्युनिस्ट आन्दोलनमा घनश्याम भुसाल संक्रिण अवसरवादले घेरिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *