बेङ्गलोर । भारतको दक्षिणी राज्य केरलाको तटीय क्षेत्रमा एउटा कन्टेनर जहाज डुबेको भारतीय नौसेनाले आइतबार जनाएको छ । केही जोखिमजन्य सामान रहेको दुर्घटनाग्रस्त जहाज लाइबेरियाली झण्डाबाहक जहाज हो ।
भारतीय नौसेनाका अनुसार १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज (एमएससी ईएलएसए ३) भारतीय बन्दरगाह भिझिन्जमबाट शनिबार कोच्चितर्फ जाँदै गरेको थियो ।
कोचीबाट करिब ३८ नटिकल माइल दक्षिणपश्चिममा कन्टेनर जहाज खतरनाक अवस्थामा देखिएको भारतीय नौसेनाले जनाएको छ ।
भारतीय तटरक्षक बल (आईसीजी) र नौसेनाको गस्ती डुङ्गाले जहाजमा रहेका जर्जिया, रुस, युक्रेन र फिलिपिन्सबाट आएका चालक दलका सबै २४ सदस्यलाई उद्धार गरेको छ ।
‘जहाजमा ६४० वटा कन्टेनर रहेको र तीमध्ये १३ वटामा हानिकारक कार्गो थियो भने १२ वटामा क्याल्सियम कार्बाइड थियो’, भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
रक्षा मन्त्रालयले ती कन्टेनरभित्र हानिकारक कुरा के थियो भन्नेबारे केही बताएको छैन । जहाजमा मल उत्पादन र स्टिल उत्पादनका लागि उपयोगी ‘क्याल्सियम कार्बाइड’ पनि थियो । क्याल्सियम कार्बाइड रासायनिक उद्योगमा प्रयोग हुने हानिकारक रसायन हो ।
‘केरलाको तटमा संवेदनशील समुद्री इकोसिस्टमलाई ध्यानमा राख्दै आईसीजीले पूर्ण प्रदूषण नियन्त्रणका लागि आवश्यक तयारी गरेको छ’, नौसेनाले भनेको छ ।
उक्त जहाजमा करिब ३७० टन इन्धन र तेल पनि थियो । अहिलेसम्म कुनै पनि तेल चुहिएको खबर नआएको बताइएको छ । -रासस/एएफपी

Leave a Reply