ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छ्न् ।
पार्टीको बागमती प्रदेशस्तरीय निर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा उनले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न निर्देश गरे ।
‘तपाईँहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिए जस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलब छैन भन्न मिल्दैन । अर्को निर्वाचन पनि आउँछ । त्यसकारण तपाईँहरूले अहिले पार्टीका नीति, निर्देशनहरुलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ ।’
ओलीले थपे, ‘यो पार्टी वास्तविक जनतन्त्रका लागि बनेको हो । देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो । एमाले देशको नायक पार्टी हो । तथाकथित वामपन्थीहरू एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरु चकनाचुर बनाएर अगाडि बढेका छौँ ।’
प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर पार्टी एकता गरे पछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गरे ।
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै ओलीले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्न आग्रह गरे ।
‘प्रतिगामीहरूको जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहनू’, उनको निर्देशन थियो ।
अहिले भ्रष्टाचारीहरू र सहकारी पीडितले उल्टै भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय देजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीको भनाइ थियो ।

Leave a Reply