रुपन्देही । मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठूलो षड्यन्त्रकारी नै पूर्वराजा ज्ञानेन्द्र भएको आरोप लगाएका छन् । शाह अहिले पनि पञ्चायत दोहोर्याउने सपनाले षड्यन्त्र गर्दै हिँडेको उनको भनाइ छ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाको आयोजनामा शनिबार बुटवलमा भएको नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता विषयक नागरिक संवादमा पहाडीले नेपाली जनतामाथि भयानक प्रहार गर्ने षड्यन्त्र अहिले पनि भैरहेको, तर मुख्य दलहरुले त्यसलाई ध्यान नदिएको बताए ।
मानव अधिकारकर्मी पहाडीले सामाजिक सञ्जालमा पोखिएको आक्रोश सडकमा पोखियो भने यसलाई थेग्नसक्ने अवस्थासमेत नआउने चेतावनी दिए ।
‘दलहरुको कमजोरीले गर्दा ज्ञानेन्द्रले चलखेल गर्ने मौका पाएका हुन्, अब तीन ठूला दल तत्काल आफ्ना कमजोरी हटाएर संविधान संशोधन गरेर अघि बढ्ने संकल्पका साथ अघि बढ्नुपर्दछ’, उनले भने, ‘लोकतन्त्रमा दलहरुलाई नै सच्चाउने, बलियो बनाउने हो, अहिलेका तीन मुख्य दलको यसमा ध्यान जाहोस्, अब जनताले सधैं एकैनासले दिन सक्दैनन् ।’
उनले अहिलेको सरकार ‘राष्ट्रिय पञ्चायत’ जस्तो भएको दाबी गर्दै अहिलेको सरकार जनताको सर्वोच्चताभन्दा पनि सेटिङमा चल्दै आएको गुनासोसमेत आएको बताए ।
उनले भने, ‘संवैधानिक निकाय नै भ्रष्टाचारको चंगुलमा फसेको, सेटिङमा सबै काम भइरहेको पाइएको छ ।’
मानव अधिकार तथा शान्ति समाजका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द खनालले जन्मसिद्ध प्राप्त गरेको नागरिक स्वतन्त्रतालाई राज्यले हरण गर्ने कार्य कुनै पनि कारणमा हनन नहुने बताए ।
मानव अधिकार तथा शान्ति समाजकी केन्द्रीय अध्यक्ष रेनुका पौडेलले नागरिकमा निराशा बढ्दै जाँदा नेपाली गणतन्त्रमाथि प्रहार हुँदै आएको बताइन् ।

Leave a Reply