भिजिट भिसा सेटिङमा गृहमन्त्रीलाई जोडेकोप्रति मन्त्रालयको आपत्ति- अख्तियारले छानबिन गरिरहेकाे स्पष्टाेक्ति

काठमाडौं । भिजिट भिसा सेटिङमा गृहमन्त्री रमेश लेखकले मुख खोलेलगत्तै गृह मन्त्रालयले विज्ञप्ति निकालेको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार विज्ञप्ति जारी गर्दै विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं । साथै विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तुमात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।’

मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्न नीतिगत तथा संस्थागत सुधारका कार्यहरूसमेत गर्दै आएको जिकिर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ । आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *