स्वर्गद्वारीमा केबलकार निर्माण दशकयता अल्झियो, आश्रमको असहमतिको कारण परियोजना थाती

रुपन्देही । नेपाली तथा भारतीय गरी दैनिक हजारौँ तीर्थयात्री आउने प्युठानको स्वर्गद्वारीमा केबलकारको चर्चा चलेको धेरै लामो समय भयो । तर सरकारी पक्ष, निजी क्षेत्र र आश्रमबीच यसबारे कुनै सहमति हुन नसक्दा एक दशकदेखि यो चर्चामै सीमित भएको हो ।

यो भन्दा धेरै पछि सम्भाव्यता भएका स्थानहरूमा केबलकार सञ्चालन भइसकेका छन् । तर निकै डरलाग्दो बाटो हुँदै डाँडामा रहेको यो आश्रम लक्षित केबलकारको प्रक्रिया नै अघि नबढेको हो । बली, पशु वध निषेध, गाईको संरक्षण र वैदिक अनुष्ठानले विशिष्ट धार्मिक केन्द्र बनाएको र आज पनि यहाँ अखण्ड धुनी बलिरहेको छ, जसले हजारौँ भक्तजनलाई आध्यात्मिक सान्त्वना दिने काम गरिरहेको छ ।

यहीँ धार्मिक विश्वासले नेपाल भारतका अनुयायीहरूको केन्द्र बनेको भन्दै आश्रमका सन्तहरू यसको मौलिकता हराउने गरी यहाँको भौतिक विकास जरुरी नभएको भन्दै यसलाई अस्वीकार गर्दै आएका छन् ।

तर, स्थानीय, प्रदेश तथा संघीय सरकारले कार्यक्रममै समेटेर अघि बढाए पनि आश्रमले सहमति नजनाउँदा रोकिएको हो । स्वर्गद्वारी २१०० मिटरको उचाइमा अवस्थित छ । उकालो पहाडको अप्ठेरो सडक भएकाले धेरै दुर्घटना पनि भएकाले यहाँ केबलकारको प्रस्ताव अघि बढाइएको हो ।

०७५ मङ्सिर १९ गते प्रदेश सरकारले प्युठानको जुम्रास्थित होटेल आयुस्मामा तत्कालीन प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यहाँ केबलकारको सम्भावना रहेको र प्रदेश सरकारले त्यसलाई अगाडि बढाउने प्रतिबद्धता गरेका थिए ।

स्वर्गद्वारीमा केबलकार निमार्णका लागि प्रदेश सरकारले नीति नियमका कार्य अगाडि बढाएको जानकारी दिँदै उनले भनेका थिए–‘स्वर्गद्वारीमा पर्यटकको बढ्दो संख्या रहेकाले केबलकारको काम सफल हुन्छ । समृद्ध प्रदेश बनाउन कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको र यो आवधिक योजना तर्जुमामै यसलाई प्राथमिकतामा राखिएको बताएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका थिए ।

लुम्बिनी आएका पर्यटकहरूलाई पाल्पाको रानी महल, प्युठानको स्वर्गद्वारी, बागलुङको ढोरपाटन लगायतका क्षेत्रमा घुमाउने वातावरणको सिर्जना गर्न यो जरुरी रहेको व्यवसायीले जनाएका छन् । पर्यटकीय क्षेत्रको अध्ययन, व्यवस्थापन गर्ने गरी अगाडि बढेको बताए पनि अहिलेसम्म त्यसले कुनै सार्थकता पाउन सकेको छैन ।

स्थानीय र प्रदेश सरकारले नै गौरवको आयोजनामा राख्न खोजिएको स्वर्गद्वारी केबलकारलाई अघि बढाउन यहाँका जनप्रतिनिधि कसिए पनि त्यसले कुनै आकार लिन नसकेको हो । संघीय सरकारले धेरै पहिले ताप्लेजुङको पाथीभरा र प्युठानको स्वर्गद्वारीमा केबलकार निर्माण प्रक्रिया अगाडि बढाउने गरी छलफल गरेर अघि बढेपछि यहाँ लगानीका लागि निजी क्षेत्र पनि उत्साहित भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार विकास आयोजनाले दुवै आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सकेपछि निजी क्षेत्रका प्रतिनिधिहरू लगानी सम्भाव्यताका लागि पुगे । पाथीभरामा निर्माण प्रक्रिया अघि बढेर पनि विवादित बनाइएको छ तर स्वर्गद्वारीमा प्रक्रिया ने अघि बढ्न सकेन । केवल कार निर्माणपछि स्वर्गद्वारीमा वार्षिक १५ लाख पर्यटक (आन्तरिक र बाह्य) लैजान सकिने अध्ययनले देखाएको छ ।

आयोजनाका लागि २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । मन्त्रालयले सार्वजनिक निजी साझेदारी (पीपीए) मोडलमा निर्माण गर्ने गरी विस्तृत अध्ययन पूरा गरे पनि त्यसले सार्थकता पाउन नसकेको हो ।

स्वर्गद्वारी नगरपालिकाले नै यहाँ केबलकार सञ्चालन गर्नका लागि पटक पटक नीति तथा कार्यक्रम र बजेटमा राखेर प्रक्रिया अघि बढाएको छ । नगरपालिकाका मेयर टेकप्रसाद भण्डारीले अघिल्लो कार्यकालमै यहाँ केबलकार सञ्चालन गरेर यो क्षेत्रमा लाखौँ पर्यटक भित्राउन सकिने गरी योजनाअघि बढाए पनि आश्रमले स्वीकृत नदिएकाले अहिलेसम्म रोकिएको बताए ।

‘हामीले धेरै पहल गरेको अवस्था हो, आश्रमले जग्गा नै दिएको छैन, लगानीकर्ता पनि तयार नै भएर अध्ययन गर्न आएका हुन् तर उनीहरूले जुन क्षेत्रसम्म केबलकार लैजान चाहेका छन् त्यो क्षेत्रमा लैजान जग्गा नपाइएपछि यतिकै रोकिएको छ’ उनले भने ।

प्रतिनिधि सभा सदस्य सूर्य थापाले भारतीय तीर्थयात्रीको ठूलो घुइँचो लाग्ने यो क्षेत्रको केबलकारको सम्भाव्यता देखेर नै पहल गरे पनि जग्गा व्यवस्थापन नहुँदा पार नलागेको बताए ।

‘भिंग्री आसपासको दुई तीन स्थानबाट माथिल्लो डाँडामा केबलकार पुराउन अध्ययन गरिएको थियो, गोडी वाङ घन्टे खोला छेउबाट, भिंग्रीबाटै पनि त्यहाँको सम्भाव्यता गरियो तर माथिको जग्गा व्यवस्थापन नहुँदा अहिलेसम्म रोकिएको हो’ उनले भने–‘अहिले उद्योग वाणिज्य संघको अध्यक्ष चन्द्र ढकालले नै पुगेर अध्ययन गर्नुभएको हो, अन्य निजी क्षेत्रबाट पनि लगानीको लागि अध्ययन भएको छ तर आश्रम र लगानीकर्ताको चाहना फरक फरक हुँदा समस्या भएको हो ।’

आश्रमका सूचना अधिकारी तमु प्रसाद न्यौपाने (देवता गुरु)ले परम्परागत संरचना र यसको ऐतिहासिकता बिगार्ने संरचना आवश्यक नभएको भन्दै सबै स्वामीहरूको सल्लाहमा यो योजना अस्वीकार गरेको जानकारी दिए ।

‘भौतिक सामग्री मात्रै थपेर विकास हुने होइन, त्यो ठाउँको ऐतिहासिक महत्व के हो भन्ने बुझ्नुपर्दछ, महाप्रभुको कठोर साधनाको महत्त्व बुझेर दर्शन गर्न भक्तहरू यहाँ आउने हुन्, यहाँ रमाइलो गर्न आउने होइन’ उनले भने–‘अनावश्यक तरिकाले बाटोहरू बनाएर पुराना मूल सुकेका छन्, आश्रममा पानीको व्यवस्था छैन, यति धेरै भक्तहरू आउने ठाउँमा धर्मशाला पहिले चाहिन्छ तर ध्यान ठेकेदारतिर गयो, धरम पानीदेखि माथि त हामीले बाटो समेत खोलेका छैनौँ नि, त्यही भएर यसको महत्त्व छ, सबै ठाउँमा धनीहरूले कमाउने योजना अघि बढाउनु मौलिक पहिचान गुमाउनुजस्तै हो ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *