जसपा नेपालले भन्यो- लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुनै सक्दैन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले गणतान्त्रिक व्यवस्था एक्काइसौँ शताब्दीको उन्नत राजनीतिक व्यवस्था भएको बताएका छन्।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै राजावादीहरूले गर्न लागेको प्रदर्शनबारे टिप्पणी गर्दै बस्नेतले हरेक नागरिक समान हुने र ‘नागरिक नै सार्वभौम’ हुने लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने बताए।

उनले भने, ‘आधुनिक नेपालको अस्तित्व प्रारम्भ भएदेखि आजसम्म भएका राजनीतिक आन्दोलन, संघर्ष, बलिदानी र परिवर्तनबाट प्राप्त राजनीतिक उपलब्धिहरूमध्ये गणतान्त्रिक व्यवस्था नेपाल र नेपालीका लागि महत्त्वपूर्ण र ऐतिहासिक राजनीतिक उपलब्धि हो। यो व्यवस्थाले वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीको अन्त्य गरेको छ।’

गणतन्त्रको घोषणासँगै देशमा शान्ति पुनर्बहाली भएको कुरामा जोड दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सम्पूर्ण नेपालीहरूको कर्तव्य भएको उनको भनाई छ।

जनप्रतिनिधिमार्फत् राज्यसत्तामा जनताको पहुँच र अधिकार स्थापित गर्न सकिने यो लोकतान्त्रिक व्यवस्थालाई व्यवस्थित र समृद्ध गर्नुपर्ने उनको धारणा रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *