सडक भासिएपछि दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध

रूपन्देही । सडक भासिएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। रूपन्देही–नवलपरासी जोड्ने महत्त्वपूर्ण राजमार्ग अन्तरगत बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकको सडक भासिँदा यातायात ठप्प बनेको हो।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिमतर्फ पर्ने सो क्षेत्रमा करिब ७ मिटर सडक भासिएको छ। सडक स्तरोन्नतिको क्रममा गरिएको ढलानसमेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए। उनका अनुसार शुक्रबारदेखि अवरुद्ध भएको सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

शनिबार बिहानसमेत सामान्य वर्षा भइरहेकाले मर्मतमा कठिनाइ भइरहेको छ। पानी रोकिएलगत्तै सडक डिभिजन कार्यालय र निर्माण कम्पनीसँग समन्वय गरेर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको बानियाँले बताए।

दाउन्ने सडकखण्ड केही दिनअघि मात्र आंशिक रूपमा बन्द गरेर निर्माणकार्य भइरहेको थियो। पछिल्लो समय सामान्य वर्षामा पनि सडक चिप्लिने, पहिरो खस्ने, वा भासिनेजस्ता समस्याले यो खण्ड बारम्बार अवरुद्ध हुँदै आएको छ।

गएरातिदेखि पूर्ण रूपमा सडक बन्द हुँदा पूर्व–पश्चिम यातायातमा व्यापक असर परेको छ। अहिले पश्चिमबाट पूर्वतर्फ गएका सवारीसाधन बर्दघाटमा रोकिएका छन् भने पूर्वबाट पश्चिमतर्फ गएका सवारीहरू दुम्किबासस्थित ज्यामिरेमा रोकिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *