काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा न्यायाधीशहरुका विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिने क्रममा न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालले यस्तो चेतावनी दिएका हुन् ।
आदेशको अन्तिम बुँदामा बहसका क्रममा नायब महान्यायाधिवक्ता र जाहेरवालाका वकिलहरुले तुल्सीपुर उच्च अदालतमा आदेश गर्ने न्यायाधीशहरु उपर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लाञ्छनापूर्ण टिप्पणी गरेको भनि इजलासलाई अवगत गराएको उल्लेख छ ।
यस विषयमा इजलासको ध्यानाकर्षण भएको आदेशमा जनाइएको छ ।
आदेशमा भनिएको छ, ‘अदालतबाट भएका आदेश एवम् फैसलाहरु उपर स्वच्छ र रचनात्मक टिप्पणीहरु सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढंगले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध (अब्स्ट्रक्सन अफ जस्टिस) हुन जाने भएकाले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ ।’

Leave a Reply