आइडीयूले भन्यो- नेपालमा राजसंस्था पक्षधरको आन्दोलनलाई नजिकबाट नियालिरहेका छौं

काठमाडौं । दक्षिणपन्थी दलहरुको अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेसनल डेमोक्रेसी युनियन (आइडीयू) ले नेपालमा जारी राजसंस्था पक्षधरको आन्दोलनलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

लोकतन्त्रका मूल्य, शान्तिपूर्ण राजनीतिक अभिव्यक्तिको अधिकार र नागरिकको प्रजातान्त्रिक र मौलिक स्वतन्त्रताको संरक्षणप्रति संस्थाले आफ्नो अटल प्रतिबद्धतासमेत जनाएको छ ।

आइडियु मध्य दक्षिणपन्थी (सेन्टर टु राइट) राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय संगठन हो भने राप्रपा नेपालबाट आइडियुको सदस्य रहेको एक मात्र पार्टी हो । जर्मनीको म्युनिखमा मुख्यालय रहेको आइडियुमा ६० भन्दा बढी देशका ८० वटा पूर्ण तथा एसोसियट सदस्य दलहरू रहेका छन् ।

यसमा नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टीको अलावा प्रमुख रुपमा संयुक्त राज्य अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टी, बेलायतको कन्जर्भेटिभ एन्ड युनियनिस्ट पार्टी, जर्मनीको सत्तारुढ क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसियल युनियन (सीसीयू), क्यानडाको कन्जर्भेटिभ पार्टी, अष्ट्रेलियाको लिबरल पार्टी आदि छन् ।

आइडीयूले नेपालमा जारी राजसंस्था पक्षधरको आन्दोलनको बारेमा आज आफ्नो धारणा सार्वजनिक गरेको हो । संस्थाले नेपालको सरकारलाई आफ्नो नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने लोकतान्त्रिक अधिकारको पूर्ण प्रयोग गर्न दिन आग्रह गरेको छ ।

‘शान्तिपूर्ण प्रदर्शन हरेक लोकतान्त्रिक समाजको आधारशिला हो भन्ने कुरामा हामी दृढ रुपमा विश्वस्त छौं, र हामी नेपाल सरकारद्वारा थुप्रै राजावादी नेताहरू (जसमध्ये धेरैजसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यहरू छन् लाई गिरफ्तार गरिएको घटनाको कडा निन्दा गर्दछौ । हामी शान्तिपूर्ण रूपमा आफ्नो राजनीतिक विचार व्यक्त गरेका सम्पूर्ण नागरिकहरूको गैर कानूनी गिरफ्तारको तत्काल र विना सर्त रिहाइको माग गर्दछौं ।’

विज्ञप्तिमा थप विवरण यस्तो छः

हामी सबै सरोकारवालाहरू-सरकारी निकायहरू, राजनीतिक नेता, नागरिक समाज र नागरिकहरूलाई नेपालको संवैधानिक राजतन्त्रको पुनस्र्थापना, र देशमा व्याप्त प्रणालीगत भ्रष्टाचारको विरुद्धमा रचनात्मक र सम्मानजनक संवादमा संलग्न हुन आग्रह गर्दछौं ।

कुनै पनि निर्णय लोकतान्त्रिक प्रक्रियामार्फत गरिनु अनिवार्य छ र जुनसुकै परिस्थितिमा पनि सबै नागरिकको धर्म वा राजनीतिक विचारको आधारमा विभेद नगरी, तिनीहरुको अधिकार र स्वतन्त्रता कानूनको शासन अन्तर्गत सुनिश्चित गरिनुपर्छ ।

हामी नेपाल सरकारसंग सबै व्यक्तिहरूका मौलिक अधिकारहरूको संरक्षण र सम्मान गर्न तथा बल प्रयोग वा त्रासदी श्रृजना गर्ने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गर्दछौं ।

जबसम्म प्रदर्शनकारीहरूले देशको कानूनको सम्मान गर्छन् र हिंसाको बाटो अपनाउँदैनन्, तबसम्म तिनीहरूले सुरक्षित वातावरणमा आफ्ना असन्तुष्टि अभिव्यक्त गर्न पाउनुपर्छ
लोकतन्त्र, मानव अधिकार र कानुनी शासन प्रति ९क्ष्म्ग्० ले नेपालमा र विश्वभर समर्थन र प्रतिवद्धता जाहेर गर्दछ ।

हामी सबै प्रकारका राजनीतिक हिंसाको कडा निन्दा गर्दछौ र शान्तिपूर्ण तथा समावेशी समाधानको समर्थन गर्दछौं, जसले नेपालको लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाओस्, जनतामा सरकार प्रतिको विश्वास पुनःस्थापना गरोस्, र सबैका लागि स्थिर, समृद्ध भविष्य सुनिश्चित गरोस् ।

Comments

One response to “आइडीयूले भन्यो- नेपालमा राजसंस्था पक्षधरको आन्दोलनलाई नजिकबाट नियालिरहेका छौं”

  1. Mania Thompson Avatar
    Mania Thompson

    धेरै राम्रो कुरा।अब यो उखाने, ज्यान्मारा र र्यालेको मुटुमा लास्टै ढ्याङ्ग्रो बज्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *