सन्दीप लामिछानेसँग दुई घण्टा (भिडिओ)

काठमाडौं । रिपोर्टिङको सिलसिलामा सन्दीप लामिछानेसँग करिब डेढ बर्षअघि मेरो पहिलो भेट भएको थियो, जतिबेला उनी जिल्ला अदालतबाट ८ वर्षको जेल सजाय सुनाइएपश्चात थप कानूनी लडाइँको तयारीमा जुटिरहेका थिए । खेल करिअर बिथोलिएको र भविष्य नै अन्योलपूर्ण बनेको त्यो समयखण्डमा उनको अनुहारबाट मुस्कान हराएकोमात्र थिएन, एकदमै उजाड र भावशून्य देखिन्थे ।

क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन थोरबहुत योगदान गरेको एउटा प्रतिभावान खेलाडीलाई यस्तो मनोदशामा पाउँदा मलाई भित्रैबाट खिन्नता महसुस भएको थियो । यद्यपि, करिब डेढ-घन्टा लामो कुराकानीमा उनले मसित जसरी आफूमाथि लागेका आरोपहरूको आत्मविश्वासपूर्वक ‘डिफेन्स’ गरेका थिए, त्यसबाट मेरो मनभित्र बलियो आशा जागृत भएको थियो कि उनी चाँडै नै यो दलदलबाट निस्किने छन् ।

तथापि, यो सोचेभन्दा केही चाँडै नै भयो । सर्वोच्चसम्म पुग्ला भन्ने लागेको केस उच्च अदालतमै टुंगिएको छ । उजुरीकर्ता गौशाला-२६ स्वयंले आरोप फिर्ता लिइन् भने महान्यायाधिवक्ताको कार्यालयले मुद्दालाई सर्वोच्च नलैजाने विवेकपूर्ण निर्णय लियो । सन्दीपसँगै उनको लाखौं समर्थक र फ्यानहरूले सन्तोषको सास फेरे । र, आजका दिनसम्म आइपुग्दा ती सबै घटनाचक्रहरू अतितको कुम्भमा विसर्जन भइसकेका छन् । सन्दीप फेरि पहिलेकै दिनचर्या अर्थात् बल र ब्याट समातेर नेपाली क्रिकेटको सेवामा जुटिरहेका छन् ।

यद्यपि, त्यसयता पनि उनी कहिल्यै लाइमलाइटबाट बाहिर भने रहेनन् । अन फिल्ड र अफ द फिल्ड कन्ट्रोभर्सीहरूले उनलाई निरन्तर पछ्याइरहे । खासगरी, सन्दीपले फेसबुकमा लाक्षणिक ढंगले लेख्ने स्टाटसहरू समाचारका हेडलाइन बनिरहे । कहिले राष्ट्रिय मिडियामै उनले सन्न्यास लिन खोजेको चर्चा भयो त कहिले उनको बिहेको खबर सामाजिक सञ्जालमा भाइरल भयो । खैर, अहिले पनि सन्दीप राष्ट्रिय टीमबाट खेलिरहेका छन् र अविवाहित नै छन् ।

अहिले लिग-२ क्रिकेटको सिलसिलामा टिमसँगै बेलायत पुगेका छन् सन्दीप । जानुअघि उनले फेरि एकपटक आफ्नै शैलीमा फेसबुक स्टाटसमार्फत फ्यानहरूलाई झस्काइदिए । युके उड्ने दिन नै उनले आफू क्यानको ‘सेन्ट्रल कन्ट्र्याक्ट’ बाट बाहिरिएको घोषणा गरे, कुनै तार्किक कारण नखुलाइकन । यसले फेरि एकपटक उनका फ्यानहरूलाई अलमल र चिन्तामा पार्‍यो । आखिर यस्तो अप्रिय निर्णय उनले किन लिए ? के उनी क्यानसँग असन्तुष्ट छन् ? वा के राष्ट्रिय टीमभन्दा फरक केही योजना बनाइरहेका छन् ? यी प्रश्नहरू अहिले पनि नेपाली क्रिकेट जगतभित्र सल्बलाइरहेका छन् ।

प्रहरीमा जाहेरी परेदेखि सन्दीप मिडियाबाट टाढा थिए । यदाकदा आकस्मिक प्रेसमिट वा पोस्टम्याच प्रिजेन्टेसनमा देखापर्ने बाहेक उनले योबीचमा कुनै पनि मिडियामा अन्तर्वार्ता दिएका थिएनन् । आफूले खेपेको मुद्दाको विषयमा अहिलेसम्म उनको कुनै पनि सार्वजनिक प्रतिक्रिया आएको छैन ।

करिब अढाइ वर्षको मौनता तोड्दै नेपाल प्रेसमा अन्तरवार्ताका लागि तयार भए सन्दीप । बेलायत प्रस्थान हुनेभन्दा दुई दिन अगाडिको साँझ उनले अन्तर्वार्ताका लागि समय दिए र भनेकै समयमा ट्वाक्क नेपाल प्रेसको कार्यालयमा देखा परे । मैले पहिलोपटक र दोस्रोपटक भेटेको सन्दीपमा आकाश-जमिन फरक थियो । यसपालि उनी एकदम तरोताजा र उत्साही देखिन्थे । उनलाई आफ्नो करिअरका विषयमा पहिलेझैँ संशय थिएन ।

केहीबेरको अनौपचारिक कुराकानीपश्चात हामी क्यामरासामु बस्यौं । अन्तर्वार्ताका क्रममा अधिकांश अभिव्यक्तिमा उनी निकै सन्तुलित, समझदार र संयमित सुनिए । ‘डाउन टु अर्थ’ पनि । खासमा मैले उनीबाट २४ वर्षको उमेरमा यति परिपक्वताको आशा गरेको थिइनँ । यद्यपि, उनको मनभित्रको अन्तरकुन्तरमा अझै पनि केहीकुछ बेचैनी र व्यग्रताको महसुस मलाई नभएको भने होइन, जुन उनले खुलेर पोखेनन् ।

०००

सन्दीपलाई नेपाली क्रिकेट जगतभित्र कतिपयले घमन्डी, सन्की र ‘एटिट्युड बोकेको’ खेलाडीका रूपमा चिन्ने गर्छन् । सम्भवतः यो अन्तर्वार्ता पूरा हेरिसकेपश्चात उनलाई त्यसरी चिन्नेहरुको धारणा बदलिन पनि सक्छ । अन्तरवार्ताभरि कतै पनि ‘घमन्डी’ वा ‘एटिट्यूटवाला’ सन्दीप खोजेर पनि भेटिने छैनन् ।

अन्तर्वार्ताका मूल विषयवस्तु दुईवटा थिए, पहिलो क्रिकेट र दोस्रो उनले खेपेको मुद्दा । आफ्नो क्रिकेट करिअरका विषयमा उनी खुलेर बोले । जुन भन्ने गरिन्छ कि क्यानसँग सन्दीपको खटपट छ, पारस खड्कासँग सम्बन्ध राम्रो छैन, अन्य खेलाडीहरुसँग उनी मिल्दैनन् आदि । तर, उनका अभिव्यक्तिहरु सुन्दा ती सबै भ्रामक लाग्छन् ।

सन्दीपले क्यानको खुलेर प्रशंसा गरेका छन् । पारस खड्का क्यानमा आइसकेपश्चात नेपाली क्रिकेटमा आमूल सुधार भएको उनको अनुभूति छ ।

सन्दीपले भने, ‘अहिले प्लेयरलाई पछाडिबाट सपोर्ट पुगेको छैन, जस्तो लाग्दैन । क्यानले खेलाडीहरूलाई एकदम ब्याक गरिरहेको छ । फेसिलिटीहरू एकदमै राम्रो दिएको छ । गेमहरू धेरै भइरहेको छ । पुरुष क्रिकेट मात्र नभएर महिला क्रिकेट पनि राम्रो भएको छ । अन्डर १९, अन्डर १६, डोमेस्टिक एकदम राम्रो भइरहेको छ । राइट पर्सन राइट ठाउँमा आइसकेपछि यस्तो पनि हुन सक्छ है भन्ने पर्फेक्ट उदाहरण हो यो । यही तरिकाले अगाडि बढिरहोस हाम्रो क्यान ।’

क्यान सचिव पारससँग आफ्नो दाजुभाइजस्तो सम्बन्ध रहेको उनले बताए । पारसलाई आफूले गार्जियनका रूपमा पाएको उनको भनाइ छ ।

सन्दीप भन्छन्, ‘बनावटीरूपमा सन्दीप-पारस, सन्दीप-पारस भनेर द्वन्द्व फैलाउने कुरा मात्र गरिरहेका छन् । भित्रीरुपमा हामी दाजुभाइको रुपमा छौं । म त सानो फुच्चे थिएँ । दाइले गाइड गरेर यहाँसम्म पुर्याइदिनुभएको हो । मैले राम्रो गार्डियन पाएको छु । हामी सबै योङस्टरका लागि आइडल हुनुहुन्छ उहाँ । उहाँहरूको बारेमा हामीले नराम्रो सोच्दा पनि पाप लाग्छ ।’

आफूलाई लागेको मुद्दा र त्यसपछि खेप्नुपरेको हण्डरका विषयमा सन्दीप आंशिक खुले । जाहेरी दिने युवती र उनीसँगका घटनाक्रमबारे उनले केही पनि टिप्पणी गर्न चाहेनन् । तर, मुद्दा परिसकेपछि खेपेको मानसिक यातना र भोगाइहरुलाई उनले केही हदसम्म खुलेर पोखेका छन् । एकपटक आफूमा ‘सुसाइडल थट’ समेत आएको उनले भावुक बन्दै सुनाए ।

‘(मुद्दा परेपछि) धेरै नकारात्मक सोचहरु पनि आयो । के गरौं, लाइफ नै सकाइदिउँजस्तो पनि भयो । कहाँ गएर आफ्नो लाइफलाई नै इन्डिङ प्वाइन्टमा पुर्याइदिउँजस्तो भयो । तर मनलाई दह्रो बनाएँ । मलाई यति माया गर्ने परिवार छ, उहाँहरुको बारेमा सोच्नुपर्ने हुन्थ्यो । शुभचिन्तकहरु हुनुहुन्छ, उहाँहरूका लागि पनि बाँच्नुपर्छ भन्ने लाग्यो । मलाई त्यसबेला मेरो कानूनी टिम, खासगरी सरोज सर (सरोज घिमिरे) ले मलाई धेरै नै मोटिभेसन दिनुभयो,’ उनले भने ।

सन्दीप थप्छन्, ‘मैले सोच्दै नसोचेको फेज आयो लाइफमा । सबै कुरा एकदमै राम्रो भइरहेको थियो । सबै लिगहरुमा मेरो नाम थियो । अचानक रुखको सबैभन्दा माथिबाट हाँगा काटेर तल फ्याँकिदिएको जस्तो लाग्यो । तर, पनि हार मानिनँ ।’

सन्दीपबारे पछिल्लो चर्चाको विषय हो सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिने निर्णय । उनले लिग २ क्रिकेटका लागि बेलायत प्रस्थान गर्नुअघि सामाजिक सञ्जालबाट यो घोषणा गरेका थिए, जसले उनका फ्यानहरूलाई झस्काइदिएको छ ।

यो अन्तर्वार्ता लिँदा सन्दीपको यो घोषणा सार्वजनिक भएको थिएन । त्यसैले अन्तर्वार्तामा यो विषय छुटेको छ । पछि फोनमा कुराकानी हुँदा मैले उनीसँग सोधेको थिएँ । सन्दीपले यसमा त्यति खुल्न चाहेनन् ।

‘फेसबुकमा मैले जे लेखेको छु, त्यही नै हो । यसमा अहिले थप केही छैन,’ उनले भने ।

क्यानको सम्झौताबाट बाहिर रहेर सन्दीपले आफूलाई अलि बढी व्यवसायिक र स्वतन्त्र बनाउन खोजेको अनुमान गर्न सकिन्छ । अर्को अनुमान चाहीँ क्यानसँग कुनै कुरामा चित्त दुखाइ छ कि भन्ने पनि हो । तर, यति चाहीँ मैले ढुक्कसाथ भन्न सक्छु कि निकट भविष्यमा राष्ट्रिय टीमबाट उनी टाढा हुँदै छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *