‘गाउँ फर्क’ को प्रोमो सार्वजनिक, जेठ १५ बाट मिडिया हबमा प्रसारण हुँदै

काठमाडौं । टेलिसिरियल ‘गाउँ फर्क’को प्रोमो मिडिया हबको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गाउँ फर्कको पूरा भाग भने यही जेठ १५ गते (गणतन्त्रको दिवसको दिन) देखि बिहीबार साँझ ६ः४५ बजे आउने छ ।

एलबी कटवाल र विश्वमणी घिमिरेको लेखन तथा निर्देशनमा बनेको उक्त सिरियलमा बिदेसिएका नेपाली र गाउँ रित्तिनुको कथा समेटिएको छ ।

रहर वा बाध्यताले गाउँ छाड्नले अहिले गाउँ बस्तीहरू रित्तिएको र गाउँको रीतिरिवाज, कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नको लागि यो सिरियल बनाईएको कटवालले बताए ।

कटवालले भने, ‘गाउँमा मान्छे मर्‍यो भने पनि लास उठाउने र उसको परिवारलाई सान्त्वना दिने मान्छे छैनन् । युवाहरूलाई गाउँमा गरिने श्रम लज्जाको विषय बन्दै गएको छ । तर, सहर वा विदेशमा गएर जे पनि गर्न तयार हुन्छन् । अहिले गाउँमा खेती योग्य जमिन बाँझो बनाई खाडी मुलुकमा श्रम बेच्न जानुलाई गर्व ठानिन्छ । गाउँ जोगाउने कुरा सबैले बिर्सिए । अब हामीले यसलाई रोक्नु पर्छ ।’

उनले राज्य नै अब गाउँको प्राथमिकतामा लागेर काम गर्नु पर्ने बताए । उनले भने, ‘राज्यको नीति नै गाउँ बनाउनेमा केन्द्रित हुनुपर्छ । यो भएमा हाम्रो देश कृषिमा आत्मनिर्भर भएर जान्छ । राज्यको आर्थिक स्रोतको मुख्य आधार कृषि मानिन्छ । तर कृषि योग्य जमिनहरू सबै जङ्गलमा परिणत भई सके । अबको पुस्तालाई हामीले गाउँ बनाउने र जाग्ने शिक्षा दिनु पर्छ । खेतबारी बाँझो नराख्ने, कृषिमा प्रविधि, मल, बिउ बिजन, सिँचाइ, अनुदान, राहत, क्षतिपूर्ति र बिमाको सहुलियत देखि किसानको ग्यारेन्टी सरकारले लिई युवाहरूलाई राज्यले नै गाउँ फर्काउन लाग्नु पर्छ । मेहनेत र परिश्रम गरे गाउँमै सब थोक छ ।’

उनका अनुसार गाउँ फर्क सिरियल युवापुस्ता विदेश पलायन भइरहेको समयमा आफ्नै गाउँमा उत्पादनसँग जोड्ने उद्देश्यले तयार पारिएको हो ।

गाउँ फर्क टेलिसिरियलमा मनमाया कटवाल, मुकुन्द मैनाली, लक्ष्मीनाथ तिमिल्सिना, अस्मिता बस्नेत, मेलीना ठकुरी, शिवशङ्कर रिजाल ‘जोगिन्दर’, दिवाकर घिमिरे, इच्छासिंह ठकुरी, प्रतीक्षा काफ्ले, चन्दा भट्टराई, अगम कटवाल लगायत स्थानीय कलाकारले अभिनय गरेका छन् ।

भिडियोको छायाङ्कन राहुल राईले गरेका हुन् । ‘गाउँ फर्क’ टेलिसिरियको गीतमा शंकर अधिकारी ‘घायल’को शब्द, विकाश चौधरीको सङ्गीत र नारायण थापाको स्वर रहेको छ । धनकुटाको झिलिमिलेको ग्रामीण भेगलाई सिरियलको परिवेश बनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *