काठमाडौं । जेठ १५ गते प्रस्तुत हुने नयाँ बजेट निर्माणमा अर्थ मन्त्रालय जुटेको छ । बजेट निर्माण भइरहेकाले अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को लागि बजेट सिलिङ १८ खर्ब ६० करोड रहेको छ । बजेट निर्माणमा आयोजनाको माग गर्न आउनेको भीडभाड हुने गरेकोले मन्त्रालय प्रवेशमा गडाइ गरिएको अर्थले जनाएको छ ।
‘बजेट निर्माणसम्बन्धी सबै पक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन्’, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पङ्गेनीले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।’
आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।
यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।
जेठ १४ गते राति सचिवलगायत केही कर्मचारी मन्त्रालयमै बस्ने गरेका छन् । त्यो रात करका दर हेरफेर गर्न बिचौलियाले चलखेल गर्ने भनेर चर्चासमेत हुने गरेको छ ।
जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटको अघिल्लो रात बिचौलिया प्रवेश गरेर करका दर हेरफेर गरेको आरोप पनि रहेको छ ।

Leave a Reply