काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरुको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियानको थालनी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यस्तो अभियानको सुरुवात कोशी प्रदेशबाट गरेको जानकारी दिए । बिहीबार कोशी प्रदेशको विराटनगरमा त्यहाँका उद्योगी, व्यवसायी र वितरण केन्द्रका प्रमुखहरुसँग छलफल गर्ने, त्यहाँ वरिपरिका सव–स्टेशन र वितरण केन्द्रको अनुगमन गर्ने जस्ता काममा मध्यरातसम्म आफू व्यस्त रहेको जानकारी शाक्यले दिए ।
आर्थिक वर्ष २०८१ मा उच्चतम विद्युत खपत र नियमित महशुस भुक्तानीको आधारमा कोशी प्रादेशिक कार्यालय अन्तर्गतका उत्कृष्ट दश अत्यन्त महत्वपूर्ण उपभोक्तालाई सम्मान गर्ने कार्यक्रमका लागि लागि विराटनगरमा आयोजित कार्यक्रममा पुग्नु भएका शाक्यले उक्त कार्यक्रमसँगै सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।
शाक्यले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको अवस्थामा विश्वसनीय विद्युत आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाउन पनि आफू अभियानकै रुपमा गुनासो सुन्ने र तत्काल समस्याको समाधान खोज्ने गरी निस्किएको जानकारी दिए ।
‘प्राधिकरणको प्रमुख ध्यान नै विश्वसनीय विद्युत आपूर्तिमा छ,’ शाक्यले भने, ‘विराटनगरमा पनि बिहीबार मध्यरातसम्म सरोकारवालाहरुसँग डेडिकेटेड फिडर, विद्युतको विश्वसनियता, नियमित विद्यूत आपूर्तिलगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौँ ।’
कार्यकारी निर्देशक शाक्यले उनीहरुले गरेका गुनासो ढुक्कसँग सुनेको भन्दै नियमित र विश्वसनीय विद्युत आपुर्तिमा प्राधिकरण प्रतिवद्ध रहेको भनी आश्वस्त पार्ने प्रयास गरेको समेत जानकारी दिए ।
‘कोशी प्रदेशका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर उहाँहरुको प्रगति विवरण, त्यहाँ देखिएको समस्या र समाधानका उपायहरुसँग केन्द्रित भएर छलफल गरेको छु,’ शाक्यले भने, ‘नियमित विद्युत आपूर्ति, विद्युतको विश्वसनीयता र ग्राहकको गुनासोलाई तत्काल सम्वोधन गर्न निर्देशन पनि दिएको छु ।’
प्राधिकरणको नेतृत्वसँग यसरी आफ्ना गुनासा र समस्याहरु सुनाउँदा पाउँदा र नेतृत्वले पनि योजनासहित समस्याको पहिचना गरी समाधानको उपाय खोज्ने बताउँदा खुशी लागेको भन्दै प्राधिकरणको सकारात्मक अभियानमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेको शाक्यले जानकारी दिए । उनीहरुले पनि यसरी प्राधिकरणको नेतृत्वले आएर कुराकानी गर्दा खुशी व्यक्त गरे ।

उनले विद्युत आपुर्तिमा समस्या भएको भनिएका औधोगिक क्षेत्रसँगै त्यहाँका वितरण केन्द्रहरुको पनि गहिरो गरी अनुगमन गरी प्राविधिक समस्याको समेत पहिचान गरी अघि बढ्ने र अभियानलाई निरन्तरता दिने जानकारी दिए ।
‘यो अभिानको सुरुवात विराटनगरबाट गरेका छौँ । अब विरगञ्ज, भैरहवा, नेपालगञ्जलगायतका स्थानहरुमा पनि हामी यो अभियानलाई निरन्तरता दिन्छौं,’ शाक्यले भने, ‘हामीले बुझेको समस्या एक खालको हुन्छ । उद्योगी र उपभोक्ताहरुका समस्या र गुनासा हामीले बुझेको भन्दा फरक पनि हुनसक्छन । त्यसैले हामी उहाँहरुका पनि समस्या सुनेर समस्याको पहिचान गर्दै अघि बढ्छौँ ।’
उनले यो अभियान छलफल मात्रै नभई समाधानको खोजि पनि भएको उल्लेख गरे। ‘समाधानका लागि हामी जहाँ–जहाँ पुग्छौँ । ती ठाउँ वरिपरिका क्षेत्रका सवस्टेशन र वितरण केन्द्रहरुको अनुगमन गरेर त्यहाँका प्राविधिक समस्याहरुको पनि जानकारी लिन्छौँ,’ उनले भने, ‘कोशी प्रदेशमा पनि मैले चार वटा सवस्टेशन र केही वितरण केन्द्रहरुको अनुगमन गरेँ । अन्य ठाउँमा पनि वितरण केन्द्रका प्रमुखहरु र उद्योगीहरुसँग छलफल गर्ने, त्यहाँका वसस्टेशन र वितरण केन्द्रको अनुगमन गर्ने कामलाई निरन्तरता दिन्छौँ ।’

Leave a Reply