सिन्धुलीको मुर्की र थाँक्रेगाउँमा खानेपानी- अब पर्दैन छोरीहरूले पानी बोक्नका लागि विद्यालय छाड्न

सिन्धुली । सिन्धुलीको गोलान्जोर गाउँपालिका-३ मा १ घर १ धारा खानेपानी आयोजनाको औपचारिक रूपमा उद्घाटन गरिएको छ। ब्याक टु लाइफ जर्मनीको सहयोग र इएसडीएस सिन्धुलीको व्यवस्थापनमा निर्मित दुईवटा खानेपानी आयोजनाको उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले गाउँगाउँमा खानेपानी पुर्‍याउने सपना पूरा भएको बताए।

उनले भने, ‘हामीले गाउँगाउँमा खानेपानी पुर्‍याउने जुन सपना देखेका थियौँ, आज त्यो सपना यथार्थमा परिणत भएको छ। यस आयोजनाले समुदायको स्वास्थ्य, समयको बचत, शिक्षामा पहुँच र श्रमको उचित प्रयोगमा महत्त्वपूर्ण सुधार ल्याउनेछ। यो केवल एउटा योजना होइन, जीवनशैलीको रूपान्तरण हो।’

खानेपानी आयोजना निर्माणपछि मुर्की र थाँक्रे गाउँका बासिन्दाहरू वर्षौँदेखि खानेपानीको लागि लामो दूरी हिँड्नुपर्ने बाध्यता हटेको उनले बताए।

उनले थपे, ‘विशेष गरी महिलाहरूले दिनको दुईदेखि तीन घण्टा पानीको जोहो गर्नमा खर्चिन्थे। अब घर आँगनमै धाराबाट निरन्तर स्वच्छ पानीको पहुँच पुगेको छ, जसले उनीहरूको दैनिक जीवनमा ठूलो सहजता ल्याएको छ।’

इएसडीएस सिन्धुलीका प्रतिनिधि विष्णु पौडेल यो आयोजनालाई हामी पूर्वाधारको रूपमा मात्र नभई स्थानीय सशक्तीकरणको प्रतीकको रूपमा लिन्छन्।

उनी सुनाउँछन्, ‘योजना चयनदेखि कार्यान्वयन र अपनत्व ग्रहण गर्ने कार्यमा समुदायले जुन प्रतिबद्धता देखायो, त्यसले हामीलाई यसको दिगोपनाको उज्ज्वल सम्भावना देखाएको छ।’

थाँक्रे उपभोक्ता समितिका अध्यक्ष भेषबहादुर बयलकोटीले अब छोरीहरूले पानी बोक्नका लागि विद्यालय छाड्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।

उनले भने, ‘यो प्रणाली हाम्रो गाउँको जीवनको अभिन्न हिस्सा हो। अब छोरीहरूले पानी बोक्नका लागि विद्यालय छाड्नुपर्ने छैन । हामी सबै मिलेर यसको संरक्षण र मर्मत सम्भारमा लाग्नेछौँ ।’

पालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले सफा पानी पाउनु कुनै सुविधा नभई नागरिकहरूको अधिकार भएको बताए ।

उनले थपे, ‘हामीले यो अधिकार सुरक्षित गर्न सफल भयौँ। यस्ता परियोजनाहरूले हामीलाई समृद्ध गाउँको बाटोमा अगाडि बढाउँछन् ।’

इएसडीएस सिन्धुलीका परियोजना संयोजक विष्णु पौडेलले कार्यक्रमको समापनमा सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गर्दै भने, ‘आजको यो हस्तान्तरण केवल प्रणालीको स्वामित्वको हस्तान्तरण होइन- यो भविष्यप्रति गरिएको सामूहिक प्रतिबद्धता हो ।’

उद्घाटन समारोहमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने, ओडाध्यक्ष कृष्णप्रयाद पोखरेल, स्थानीय जनप्रतिनिधिहरू, खानेपानी उपभोक्ता संस्थाका सदस्यहरू, शिक्षक, युवा, र समुदायका जनसाधारणको उल्लेख्य उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *