हिलो, धुलो र जाम: साँगा-धुलिखेल ६ लेन विस्तारको ढिलाइमा सर्वसाधरण आजित (तस्बिरहरु)

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक ६ लेनमा विस्तारको काम ढिलासुस्ती हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । घाम लाग्दा हाेस् या पानी पर्दा याे  सडक  प्रयाेग गर्ने  सर्वसाधरणले दुख पाइरहेका छन् ।

वर्खाले हिलाम्मे सडक पार गर्न सवारीधनीहरुले ठूलै सास्ती खेप्नु परेको छ । हिलो बाटोको कारण दुर्घटना बढ्नुको साथै घण्टौं सवारी जाम बेहोर्नुपरिरहेको छ । साथै   घाम लाग्दा धुलाे उडेर  बसिनसक्ने  हुने स्थानीयहरु बताउँछन् ।

सडक विस्तारको समयमै नसकिँदा सर्वसाधरणहरु आजित भएका छन् । जसकाे कारण सर्वसाधरणहरु समयमै गन्तव्यमा पुग्न समस्या भइरहेको छ ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको थियाे ।

विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडक खण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।

हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ । ‘निर्धारित समयभित्र विस्तारको काम सकिँदैन, केही महिना समय थप्नुपर्ने हुन्छ’, आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीले भनिन् ।

यस्तै साँगा-धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ ।

उनका अनुसार बनेपा क्षेत्रको विवाद भने टुङ्गिएको छ । अझै घर भत्काउने र रूख काट्ने काम बाँकी नै छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *