सुर्खेत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुर्खेतस्थित आवाज नेपाललाई सरसफाइ तथा उपभोग्य सामग्री सहयोग प्रदान गरेको छ। एकल महिला, बालबालिका, द्वन्द्व प्रभावित तथा घरेलु हिंसाबाट पीडित व्यक्तिहरूको सशक्तिकरणमा समर्पित आवाज नेपाललाई प्रदान गरिएको यो सहयोग करिब दुई महिनासम्मका लागि पुग्ने उल्लेख गरिएको छ।
आवाज नेपाल हाल करिब ४० जना महिला तथा बालबालिकाहरूको हेरचाह गर्दै आइरहेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संस्थामा आयोजित एक विशेष समारोहका क्रममा सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पोखरेलले यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने बैंकको निरन्तर प्रयासमा गर्व महसुस भएको बताउनुभयो। साथै उहाँले आवाज नेपालजस्ता संस्थाहरूले एकल महिला र बालबालिकाको अधिकारको संरक्षणमा उदाहरणीय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।
सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्ता क्रियाकलापलाई अझ सशक्त बनाउने योजना रहेको जनाएको छ।
हालै मात्र ‘बैंक अफ द इयर २०२४’ को प्रतिष्ठित उपाधि जितेको सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। यसका साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन, रिचार्ज नम्बर सेवा, तथा क्रस बैंक टेलर सुविधा पनि प्रदान गर्दै आइरहेको छ।
देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइमार्फत सिटिजन्स बैंकले १८ लाख ९१ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

Leave a Reply