सगरमाथाको तेस्रो क्याम्पमा उक्लिएपछि विश्वप्रकाशलाई अलमल, पत्नीले लेखिन् भावुक स्टाटस

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अहिले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो क्याम्पमा छन् । बेसक्याम्पसम्म मात्रै जाने भनेर हिँडेका उनले नयाँ निर्णय लिँदै सगरमाथा आरोहणको प्रयास गरेका हुन् ।

यद्यपि, शर्माको यो आकांक्षामा मौसम र समयको पाबन्दीले चुनौती खडा गरेको छ । सगरमाथा शिखरबाट उनी डेढ किलोमिटर मात्रै तल छन्, तर मौसम अनुकूल छैन । अब माथि उक्लिने कि तल झर्नेमा अलमलमा परेका छन् उनी ।

हिजो फेसबुकमा एउटा स्टाटस लेख्दै शर्माले आफ्नो स्थितिबारे अपडेट गराएका थिए । आफू उच्च मनोबलमा रहेको र स्वास्थ्य स्थिति पनि नबिग्रिएको सुखद खबर उनले आफ्नो शुभचिन्तकहरूलाई बाँडेका छन् । सगरमाथा आरोहण बन्द हुन ६ दिन मात्र बाँकी रहेको र मौसम अस्थिर भएको हुँदा अब चढ्ने कि झर्ने भनेर निर्णय लिन नसकेको उनको भनाइ छ ।

शर्माले लेखेका छन्, ‘मे २९ मा सगरमाथा आरोहण ‘क्लोज’ हुन्छ । समय केवल ६ दिन बाँकी छ । चैत दोस्रो साता तिरै बेसक्याम्प पुगेकाहरू अहिले कोही आरोहणमा छन्, कोही तेस्रो/चौथो क्याम्पमा ‘क्यु’ मा छन् । म यसपालि ‘सेमिफाइनल’ बेसक्याम्पसम्म भनेर वैशाख २७ मा पुगेको मान्छे, ट्रेनिङ सकाएको लगत्तै क्याम्पस १ हुँदै क्याम्प २ पुगेको छु । अब यहाँबाट ‘फाइनल’ अघि बढूँ कि, फर्कूँ कि, या ‘रोटेसन’ मा जाऊँ ? शेर्पा साथीहरूसँग आजको साँझ परामर्शमा छु ।’

हेर्नुस स्टाटस

यो स्टाटस उनले हिजो लेखेका हुन् । पत्नी कविता शर्माका अनुसार अहिले पनि माथि चढ्ने कि झर्ने भन्नेबारे निर्णय भइसकेको छैन । एक घण्टा अगाडि मात्रै आफ्नो श्रीमानसँग कुरा भएको उनले सुनाइन् ।

‘उहाँ तेस्रो क्याम्पमा पुग्नुभएको छ र अभ्यास गर्दै हुनुहुन्छ । तर, मौसमको स्थिति ठीक छैन भन्नुभएको छ । भारतीय सेनाको टोली पनि मौसमका कारण आरोहण स्थगित गरेर फर्किएको रहेछ । उहाँले चाहिँ आज र भोलिको अवस्था हेरेर निर्णय गर्छु भन्नुभएको छ,’ शर्माले बताइन् ।

शर्मासित दुई जना शेर्पा गाइडहरू छन् । उनीहरूको सल्लाह र सुझाव अनुसार निर्णय लिन कविताले श्रीमानलाई सुझाएकी थिइन् ।

भारतीय सैनिकको टिम ७२०० मिटरको क्याम्प ३ बाट फर्किएको हो । उनीहरूभन्दा पछाडि शर्मा क्याम्प ३ मा पुगेका हुन् ।

विश्वप्रकाशकी पत्नी कविताले श्रीमान् सगरमाथा आरोहणमा जाँदाखेरि आफ्नो भावनात्मक उथलपुथललाई आज सामाजिक सञ्जालमा पोखेकी छन् ।

उनी लेख्छिन्, ‘उहाँ घरबाट हिँडेको दिनदेखि नियमितरुपमा फोन सम्पर्क मै हुनुहुन्थ्यो । त्यहाँका सबै भिडिओहरू पठाइरहनु हुन्थ्यो । छोरा–छोरीसँग भिडिओ कलमा जिस्किरहनु हुन्थ्यो । बेसक्याम्पबाट माथि चढेपछि टेलिफोन–नेट सम्पर्क नहुँदा जीवन कै सबैभन्दा ठूलो छटपटी, डर र चिन्ता लाग्यो । मध्यरातमा पनि झसङ्ग–झसङ्ग हुँदै फोन आयो कि मेसेज आयो कि भनेर हेरिरहेँ । कुनै पल पनि फोन छेवैमा राखिरहेँ । नेटवर्क नहुने तर दिउँसो घाम लाग्दा मात्र सोलारमार्फत आएको नेटले दुई दिनपछि कुरा हुँदा मन एकदमै भक्कानियो मेरो आशुले उहाँलाई कमजोर नबनाओस् भनेर आशु लुकाएँ ।

यति कडा परिश्रम र मिहिनेतका साथ सबैभन्दा जोखिम यात्रा–खुम्बू आइसफल पार गरिसक्नु भएको छ । अब सगरमाथाको चुचुरोमा पुग्नका लागि डेढ किलोमिटर (१५०० मिटर) भए पनि मौसम अनुकूल भएन भने नजानु होला भनेर आग्रह गरेकी छु । स्वास्थ्यले साथ दिए अर्को सिजनमा समयमै जानु होला भनेकी छु । तेन्जिङ शेर्पाले ७ औँ पटकमा आरोहण गरेको कुरा हामी सबैलाई थाहा छ । भने यस पटक हजुरले पुरा गर्न नसकेको कुरा, अर्को टक अझ बढी तयारीका साथ पुरा गर्नु होला, परिवारको तर्फबाट मैले दिनुपर्ने साथमा केहि कमी हुने छैन । तर मौसम प्रतिकुल हुँदा हुँदै जाने कुरामा चाहिँ गम्भीर भएर सोच्नु होला भनेकी छु ।

श्रीमान्–श्रीमती भनेको जीवन रहेसम्मको सबैभन्दा नजिकको साथी रहेछ । भगवान् श्री कृष्णले तातो दूध पिउँदा उता रुक्मिणीको ओठ पोलेको थियो रे, पक्कै श्रीमान्–श्रीमतीको सम्बन्ध यस्तै रहेछ । हजुरका हरेक कठिन परिस्थितिहरू मैले पल पल महसुस गरिरहेकी छु । भागवानसँग प्रार्थना छ र हजुरको आत्मबलप्रति विश्वास छ बाँकी यात्रा सहज रहने छ ।’

हेर्नुस् पूरा स्टाटस

हिमाल आरोहणमा जानुभएका श्रीमानका प्रति
श्रीमतीको भावना 🙏😘🥲

केहि दिन यतादेखि हजुरलाई माया गर्ने परिवारजन, आफन्त,…

Posted by Kavita Sharma on Thursday, May 22, 2025

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *