लिम्बुवान केन्द्रको एक करोडको प्राज्ञिक कोष खडा, एक लाखको पुरस्कार दिइने

काठमाडौं । लिम्बुवान अध्ययन केन्द्र किरात याक्थुङ चुम्लुङले एक करोड रुपैयाँको प्राज्ञिक कोष खडा गर्ने घोषणा गरेको छ । कोषबाट एक लाखको पुरस्कार दिइने बताइएको छ ।

लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नामले दिएको जानकारी अनुसार यस अगाडिको ५० लाखको कोषको रकम अपर्याप्त भएकोले थप रु. ५० लाख बढाएर जम्मा रु. १ करोडको कोष राशि पुर्‍याइने इङ्नामले बताए ।

कोषको एक करोड रुपैयाँ प्राज्ञिक कोषको घोषणा पनि यही २०८२ जेठ १० गते पुरस्कार समर्पण कार्यक्रमसँगै प्रदान गरिने भएको छ ।

२०८२ जेठ १० गते दिनको २ बजेबाट ललितपुरको १४ तिखेदेवलको सयल बाटिकामा आयोजना हुने प्राज्ञिक पुरस्कार समर्पण तथा सो एक करोड रुपैयाँको प्राज्ञिक कोष घोषणा कार्यक्रम हुने भएको छ ।

यस्तो छ लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नामले संस्थाको तर्फबाट बिहीबार जारी गरेको पुरा विज्ञप्ति

एक करोड रुपैयाँको प्राज्ञिक कोष घोषणा तथा प्राज्ञिक पुरस्कार समर्पण सम्बन्धी लिम्बुवान अध्ययन केन्द्र किरात याक्थुङ चुम्लुङको एक विषयगत सङ्गठन हो । यसको स्थापना २०७० साल पुस १४ गते भएको हो । यो अध्ययन केन्द्र एक विशुद्ध प्राज्ञिक संस्था हो ।

यसले लिम्बुवानका आदिवासी ज्ञान, सीप र इतिहास तथा सांस्कृतिक, सामाजिक, भाषिक, आर्थिक, शैक्षिक एवम् मौखिक परम्परा मुन्धुम लगायतका विविध पक्षहरूमा बहस, अध्ययन, अनुसन्धान र प्रकाशनको कार्य गर्दै आएको छ ।

लिम्बुवान अध्ययन केन्द्रको याक्थुङ लिम्बु र लिम्बुवान सम्बन्धी सबै क्षेत्र र विषयहरूमा सबै पक्ष, व्यक्ति र निकायहरूसँग सहकार्य वा साझेदारीमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने उद्देश्य अनुसार लिम्बुवाननको हाङ्पाङ, ताप्लेजुङ स्थायी थातथलो भई हाल क्यानडामा रहनु भएका विष्णुदत्त आङ्बुहाङ परिवारको सहकार्यमा वि.सं. २०७३ सालमा अध्ययन केन्द्रको एक विनियमावली बनाई सोही अनुसार रु। ५० लाखको ‘विष्णुत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ स्थापना गरिएको थियो ।

यस कोषबाट वर्षेनी दुईजना महिला–पुरुष अध्येतालाई अनुसन्धानवृत्ति, एक अध्येतालाई विद्वतवृति र प्रत्येक दुई–दुईवर्षमा एक प्रकाशित कृतिलाई प्राज्ञिक पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसै क्रममा यो दुई वर्ष २०८०–०८१ को ‘‘विष्णुदत्त–सरस्वती आङ्बुआङ् प्राज्ञिक पुरस्कार २०८१’’ पौवा सारताप, पान्थर, लिम्बुवान स्थायी थातथलो भई ललितपुर २६ चिबहाल, सुनाकोठीमा बसेर प्राज्ञिक कर्म गर्दै आउनु भएका स्व। कृष्ण विक्रम नेम्बाङ लिखित तथा मुन्धुम एकाडेमीबाट प्रकाशित कृति ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध (२०८०) लाई नियमानुसार रु. १,००,०००।– (एकलाख रुपैयाँ) र प्रमाण–पत्र प्रदान गरिने व्यहोरा घोषणा गरिएको छ ।

यो पुरस्कार यही २०८२ जेठ १० गते शनिवार नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला र कोषदाताको संयुक्त बाहुलीबाट पुरस्कृत स्व. नेम्बाङ्का परिवारलाई प्रदान गरिने कार्यक्रम रहेको छ। पुरस्कृत पुस्तकमा लेखकले याक्थुङ लिम्बूजातिको इतिहास पहिल्याउन लिम्बूसँग जोडिने तिब्बती, लेप्चा, कोच, सेन र रायसँगको वास्तविक सम्बन्धलाई खुट्याएका छन् । वि.सं. १९९८ चैत्र ६ गते पान्थरको पौवा सारतापमा जन्मनुभएका नेम्बाङ्को यो कृति प्रकाशित भएलगतै वि।सं। २०८० मङ्सिर ३ गते निधन भइसकेको छ ।

लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ लाई अझ सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न पहिले राखिएको रु. ५० लाखको कोष अपर्याप्त महसुस गरी कोषदाता आङ्बुहाङ् परिवारबाटै थप रु. ५० लाख बढाएर जम्मा रु. १ करोडको कोष राशि पुर्‍याइने भएको छ । यो एक करोड रुपैयाँ प्राज्ञिक कोषको घोषणा पनि यही २०८२ जेठ १० गते पुरस्कार समर्पण कार्यक्रमसँगै गरिने व्यहोरा सबैमा सूचित गरिन्छ ।

लिम्बुवान अध्ययन केन्द्रको यो प्राज्ञिक ध्येय र कोषदाता आङ्बुहाङ परिवारको आर्थिक तथा प्राज्ञिक योगदानबाट याक्थुङ लिम्बु र लिम्बुवान सम्बन्धी अध्ययन अनुसन्धान गरी प्राज्ञिक योगदान पु¥याउने जोकोही पनि उत्प्रेरित भई लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यसै विज्ञप्तिमार्फत यही २०८२ जेठ १० गते दिनको २ बजेबाट ललितपुरको १४ तिखेदेवलको सयल बाटिकामा आयोजना हुने प्राज्ञिक पुरस्कार समर्पण तथा सो एक करोड रुपैयाँको प्राज्ञिक कोष घोषणा कार्यक्रममा उपस्थिति भई यो प्राज्ञिक अभियान र कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुन सबै सञ्चारजगत तथा प्राज्ञिक वर्गहरूमा हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद !

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *