लेखकका रूपमा ईश्वर पोखरेल ‘आमा सपना र ताराहरू’ लिएर बजारमा आउनुभएको छ । स्रष्टाका दृष्टिले पोखरेलको यो चौथो सन्तान वा कृति हो ।
सांग्रीला मिडिया ग्रुप प्रालिले प्रकाशन गरेको ‘आमा सपना र ताराहरू’ भन्दा अगाडि ‘दमन र प्रतिरोधको कथा (२०४१)’, ‘माघ १९ (२०६३)’, ‘पूर्वको रातो तारा (२०७२)’ र ‘राष्ट्रिय सुरक्षा र नेपाली सेना (२०७७)’ बजारमा आइसकेका छन् । ‘आमा सपना र ताराहरू’ का १ सय ४० पृष्ठभित्र आमाप्रति समवेदित कविता बाहेक २४ वटा शीर्षकहरू समेटिएका छन् । पुस्तकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका लेखन पाइन्छ ।
संसारमा थुप्रै साहित्यकार, राजनीतिक नेताले आमासम्बन्धी लेख, पुस्तक लेखेका छन् । आमासम्बन्धी आफ्ना अभिव्यक्तिमा सम्मान प्रकट गरेका छन् । ईश्वर पोखरेलको आमाका बारेमा चर्चा गर्नुभन्दा अगाडि संयुक्त राज्य अमेरिकाका १६ औँ राष्ट्रपति, दासप्रथा अन्त्य गर्ने व्यक्ति अब्राहम लिंकनको आमाप्रतिको समर्पणको एउटा वाक्य यहाँ उल्लेख गर्न उपयुक्त हुन्छ । ‘म जे छु, वा जे बन्ने आशा राख्छु, त्यो सबै मेरो परीसमान आमाकै कारण हो ।’ ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरू’ पढेपछि लिंकनको आमाप्रतिको बुझाइजस्तै आज ईश्वर पोखरेल राजनीतिक, सामाजिक र सांस्कृतिक व्यक्तित्व जे हुनुहुन्छ, त्यो पोखरेलले आफू १० वर्षको उमेर हुँदा उहाँकी आमासँग सिकेका सामाजिक, सांस्कृतिक आर्थिक पक्षबाट सिकेको ज्ञान र संस्कारको परिणाम हो भनेर किटान गर्न सकिन्छ ।
आमाको संघर्ष र बाल्यकालको कथा
भोजपुर गोगनेका ज्योतिष नरनाथ न्यौपानेकी छोरी, ईश्वर पोखरेलकी आमाको जन्म विसं १९७० चैत्र ३० गते भएको हो । उहाँको न्वारनको नाम रामकुमारी र बोलाउने नाम लालकुमारी थियो । उनै लालकुमारीको ओखलढुङ्गा माम्खा रुपनालुका मेघनाथ पोखरेलका १४ वर्षे छोरो शिवराज पोखरेलसँग ११ वर्षको उमेरमा विवाह भएको थियो । ११ वर्षको उमेरमा गोगनेबाट विवाह गरेर माम्खा आएकी ईश्वर पोखरेलकी आमाले १२ सन्तानलाई जन्म दिनुभयो । ४० वर्षको उमेरमा कान्छो सन्तानका रूपमा ईश्वर पोखरेलको २०१० साल चैत्र २५ गते पूर्णिमाको रातमा जन्म भयो । लेखक ८ वर्षको उमेर हुँदा २०१८ सालमा उहाँको बुवाको स्वर्गारोहण भयो । एउटा मध्यमवर्गीय किसान र ब्राह्मण परिवारको यो परिवेश र अवस्थाबाट ईश्वर पोखरेलकी आमाको संघर्षको कथा र जीवन भोगाईलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ ।
सबै मानिसका आ–आफ्ना कथा छन्, व्यथा छन् । ती कथा र व्यथालाई जितेको मान्छे मात्रै महान् बन्छ, जसरी एउटा ढुंगो छिनोका हजारौँ चोटहरू सहेर देउता बन्दछ, त्यस्तै मान्छेले पनि अनेक चोट र प्रहार सहेर मात्रै आफ्नो लक्ष्य र उचाइ प्राप्त गर्न सक्छ । ईश्वर पोखरेलको जीवनमा पनि आफ्ना बाल्यकाल, भूमिगत कालका यस्तै सयौँ कथा छन् । व्यथा छन् । भावना छन् । भावना र यथार्थका अन्तर्द्वन्द्व छन् । यो पुस्तक ईश्वर पोखरेलको बाल्यकाल र भूमिगत कालका भोक, अभाव, सपना र आमाप्रति समर्पित क्यानभास हो ।
बाल्यकालको संघर्षबाट सुरु भएको पोखरेल र उहाँकी आमाको संघर्ष र जीवनका हरेक कालखण्डमा छातीभित्र टाँसिएकी, सजिएकी आमाप्रतिको समर्पणको कथा हो यो पुस्तक ।
किताबमा आमाको फोटो सुरुमै राखिएको छ, तर उहाँकी आमाको नाम के रहेछ भनेर पाठकले तुरुन्तै थाहा पाउँदैनन् । त्यहाँ आमाको नाम, जन्ममिति र स्वर्गारोहण मिति राखिदिएको भए आमाको बारेमा पहिले पाठकले बुझ्ने थिए । किताबको प्रारम्भमा ईश्वर पोखरेल जन्मिएको गाउँ माम्खा, रुपनालु, त्यसको भौगोलिक वातावरणीय र आर्थिक पक्ष (पेशा, दैनिक दिनचर्या) उहाँका परिवारका सदस्यको विवरण, उहाँको जन्म मिति, बाबाको अल्पआयुमा स्वर्गारोहण भएपछि परिवारले भोगेको कठिनाइ, लेखकको बाल्यकालको अवस्था, दाजुहरू परदेशी बनेपछि र दिदीहरूको बिहे भएपछि १० वर्षको उमेरसम्म उहाँले आमासँग बिताएका क्षण र संघर्षबारेमा जानकारी पाइन्छ ।
गयाको श्राद्धपछि जनकपुरको यात्रा
रोगी बाबाको मृत्यु नजिक छ भन्ने अनुमानमा कलिलो उमेरमा व्रतबन्ध गरिदिने आमा, आफ्ना पति स्वर्ग पुग्ने विश्वासमा कान्छो छोरालाई लिएर फर्किफर्की भारतको गया पुगेर श्राद्ध गर्ने आमा, ब्राह्मण परिवारको ज्योतिषमय संस्कारमा जन्मिएकी र बाह्र सन्तान जन्माएकी ती आमा साँच्चै महान् थिइन् । जसले मृत्यु भएकाबाहेक सबै सन्तान घर बाहिर निस्किएर आफ्नो भविष्य निर्माण गरुन् भन्ने दृढ चाहना राखेकी थिइन् । त्यसैले त गयामा आफ्ना पतिको श्राद्ध गरेर फर्किएपछि आफूसँग रहेको एउटा कान्छो छोरालाई पनि उसको शिक्षादीक्षा र उज्ज्वल भविष्यका लागि आफू रुपनालुमा एक्लै बस्न र दुःख गर्न तयार भइन् । उनले जबर्जस्ती ईश्वरलाई जनकपुरमा रहेका दाजुकहाँ पुर्याइन् । ईश्वरले नमान्दा नमान्दै पनि मुटु माथि ढुङ्गा राखेर आफ्नो कान्छो छोरालाई जनकपुर छोडेर माम्खा रुपनालु फर्किने आमा निकै दूरदर्शी थिइन् ।
पुस्तकका अनुसार ईश्वर १० वर्षको हुँदासम्म निरक्षर नै थिए ? गयामा श्राद्ध गरेर फर्किएपछि आमाको करबलले उनलाई जनकपुर नलगेको भए वा जनकपुर पुगेर पनि उनको आमासँग फर्किने जिद्दीलाई आमाले जित्न नसकेको भए आज ईश्वर पोखरेलको जुन अग्लो व्यक्तित्व छ, त्यो हुने थियो कि थिएन होला ? किताब मौन छ, यस्ता विषयमा लेखकले खुल्न सक्नुपर्छ ।
आमा र छोरा: मिलन-बिछोडको अन्तर्द्वन्द्व
सबै मानिसलाई आफ्नो आमा महान् नै लाग्छ, आमाप्रति सम्मान हुन्छ नै । तर ईश्वर पोखरेलको आमासँगको सम्मान अलिक फरक खालको छ । प्रस्तुत पुस्तकमा पोखरेलका आमासँगका थुप्रै मिलन र बिछोडका अन्तर्द्वन्द्व भए पनि यहाँ आमासँगको मिलन र बिछोडका केही प्रसंग उल्लेख गर्नु सान्दर्भिक हुन्छ । जब गयामा श्राद्ध गरेर घर फर्कन्छन्, त्यसपछि आमाले उहाँलाई जनकपुर दाइकहाँ राखेर पढाउने अठोट गर्नुहुन्छ । पाँच दिन लगाएर भरिया र ढाकरसहित जनकपुर पुगेका पोखरेल, दाजुको घर वा डेरा थाहा नपाएर जानकी मन्दिरको धर्मशालामा बसेको कथा पनि पुस्तकमा पढ्न पाइन्छ । एक महिनाको आमाको जनकपुर बसाइँपछि जब आमा ओखलढुङ्गा माम्खा फर्कँदा उहाँ आमासँग फर्कन जिद्दी गरेको, तर लेखकको शिक्षादीक्षा र उज्ज्वल भविष्यकालागि आमाले उहाँलाई पछाडिसम्म नहेरी कठोर भावनाका साथ छोडेर हिँडेको प्रसंगले भावना कमलो भएका पाठकको आँशु आउन सक्छ ।
आमासँगको त्यस्तै मिलन र बिछोडको अर्को हृदय विदारक प्रसङ्ग छ उक्त पुस्तकमा । जब पोखरेलले कीर्तिपुरमा विएडसम्मको अध्ययन सकेर, स्वीजरल्याण्डमा उच्च शिक्षाकालागि पाएको ५ वर्षे छात्रवृत्ति त्यागेर सहपाठी रत्नकुमार वान्तवासहित भूमिगत हुने प्रण गरेर जनकपुर पुग्नुहुन्छ । आमाले आफ्नो शिक्षित कान्छो छोराबाट अपेक्षा राख्नु स्वाभाविक हो । ‘छोरा, अब म झापा–जनकपुर र ओखलढुङ्गा गर्न सक्दिनँ, म तिमीसँगै बस्छु’ भन्ने आमाको बुढेसकालको सहारा बन्ने अपिलका बाबजुद पनि एक साँझ, ईश्वर पोखरेलको भूमिगत जीवन बिताउन घरबाट निस्कनु भयो, साथीकहाँ जाने बहाना गरेर । जब उहाँ एउटा लुङ्गीमा सानो झोला च्यापेर घरबाट निस्कनु हुन्छ । आमाले उहाँलाई पछि पछि आएर उहाँको हात समाउँदै कान्छा, केही खाएर जाऊ भन्दा समेत क्रान्तिका लागि भूमिगत हुन खोजेको छोराले आमाको हात झड्कारेर हिँडेको र केही पर पुगेर मनभरि रोएको प्रसङ्गले पनि पाठकलाई रुवाउन सक्छ ।
त्यस्तै झापामा अर्को मार्मिक प्रसंग छ ।
आमा दाइको घर झापा हुनुहुन्थ्यो । लामो समयको भूमिगत जीवनपछि उहाँ लुक्दै छिप्दै झापा पुग्नुभयो । साँझको समय थियो । अँध्यारोले मान्छे चिन्न कठिन थियो । उहाँ भूमिगत जीवन बिताइरहेको मानिस सीधै घरभित्र जान पनि सम्भव थिएन । उहाँ घरबाहिर यता उता गरिरहेको अवस्थामा घरको सहयोगी मानिस उहाँलाई चोर हो की भनेर चिर्पट बोकेर आए । हान्न खोज्दा आमा भनेर चिच्याउनुभयो । त्यसपछि आमाले बोलीबाट छोरालाई चिनेर उहाँलाई घरभित्र लैजानुभयो । राति केही समय आमासँगको भलाकुसारीपछि उज्यालो नहुँदै बिदा भएर बाटो लागेको अत्यन्तै प्रसंगले पनि पाठकको मन रुवाउन सक्छ ।
एक महिना लामो चीन भ्रमणपछि जनकपुर पुगेर आमालाई झापाबाट झिकाएर आमासँग भेटेको, माया र बाध्यताको बीचमा आमा छोराका गाँसिएका र च्यातिएका मन पुस्तकका प्रमुख पक्ष हुन् । जसले माया, सम्मान र बाध्यताको अन्तर्द्वन्द्वमा मन कसरी हाँस्छन् र कसरी रुन्छन् भन्ने कुरा पाठकलाई बुझ्न सहयोग गर्दछ ।
औतारी लामा र ईश्वर पोखरेल
ईश्वर पोखरेल बाल्यकालमा रोगी हुनुहुन्थ्यो । १२ सन्तान मध्ये ४ सन्तान गुमिसकेको त्यो परिवारमा पोखरेलको जीवन के हुने हो ठेगान थिएन । छिमेकी बस्नेतनी दिदीको सल्लाहमा सोलुको औतारी लामासँग उपचार गर्न नगएको भए के हुन्थ्यो होला पोखरेलको जीवन ? उपचार वा झारफुकका लागि बस्नेतनी दिदी र आमाले पोखरेललाई बाटोमा लाँदा बाटोमै मर्यो भनेर रोइरहेकी आमा र बस्तेननी दिदीले श्वास बाँकी नै रहेछ भनेपछि आमाले ग्वार्लाम्म अंगोल हालेका प्रसंग साँच्चै हृदय विदारक छन् ।
औतारी लामाको उपचारको साँझ नै जीवन पाएको र जीवन बाँच्ने आशामा आमा छोराका ओठमा देखिएका मुस्कान र छोराको दीर्घ जीवनका लागि औतारी लामाको दलानमा सुतेर उपचार गर्ने पोखरेलकी आमाप्रतिको सम्मान किताबले बोलको छ । पोखरेल राजकीय निकायको उपल्लो तहमा हुँदा औतारी लामा नभए पनि औतारीको गाउँमा विकासका पुर्वाचारहरु बनाएर ऋण तिर भनेर पोखरेललाई सम्झाउने आमाप्रति हामी सबैको सम्मान छ ।
रुम्जाटार र ईश्वर पोखरेल
पुस्तकले रुम्जाटारप्रति लेखकको रुझानलाई समेटेको छ । माम्खा, रुपनालुको तुलनामा रुम्जाटार व्यापारिक केन्द्र भएको, भौगोलिक हिसाबले टारको रूपमा रहेका रुम्जाटारमा सुन्तला फल्ने, त्यहाँका गुरुङ र गुरुङसेनीप्रति लेखकको निकै ठूलो सम्मान रहेको पुस्तकबाट बुझ्न सकिन्छ । सेपिलो रुपनालुबाट नदेखिएको रुम्जाटार हेर्न लेखक धेरैपल्ट डाँडा उक्लिएको, स्वास्थ्य उपचारदेखि अनिकालमा समेत सहारा दिने रुम्जाटार र कवि ज्ञानदील दासको समेत पुस्तकमा वर्णन गरिएको छ । त्यो समयमा त्यति वैभव र इज्जत कमाएको रुम्जाटार अहिले उजाड बन्दै गएकोप्रति लेखकको खिन्नता रहेको प्रसंग बुझ्न यो पुस्तक उपयोगी छ ।
स्कुलको कुराउनी र आमाले पकाएको खीर
१० वर्षको उमेरमा, बिदाको छेको पारेर जनकपुरबाट चार वर्षपछि लेखक आफ्नो गाउँ फर्कन्छन् । तर जनकपुर फर्कने बेलामा आमाले ‘मलाई छोडेर जान्छस् कान्छा’ भन्ने वाक्यले लेखकलाई गाउँमै बस्न बाध्य बनाउँछ । त्यसपछि उनी माम्खा विद्यालयमा कक्षा ९ मा भर्ना हुन्छन् । तर माम्खा विद्यालय पहिलोपल्ट एसएलसी परीक्षामा सामेल हुने भएकोले पोखरेललाई केही समयपछि कक्षा १० मा भर्ना गरिन्छ । लेखकको स्वीकारोक्तिअनुसार उनी पढाइमा उम्दा नभए पनि टेष्ट परीक्षामा पहिलो हुन्छन् ।
अहो, आफू पहिलो भएको खुसीयाली साट्न घर पुगेका पोखरेल, आमा नभेटेपछि आमालाई खोज्दै जाँदा भारी बोकी रहेकी आमालाई छाँद हालेर आफू प्रथम भएको प्रसंग सुनाउँदाका क्षण कम्ती रोमाञ्चकारी छैनन् । सबैभन्दा रमाइलो सन्दर्भ भनेको उनी प्रथम भएको खुसीयालीमा विद्यालयले खुवाएको कुराउनी र आमाले घरमा खुवाएको खिर । जसले गाउँमा सानो सानो खुशी कसरी साटिन्छन् भन्ने कुराको चित्रण गर्दछ ।
एउटा खड्किएको प्रसंग हो, टेष्ट परीक्षामा प्रथम भएका पोखरेललाई किन दाइले जनकपुर बोलाएर फेरि १० कक्षा मै पढाए ? यो दाइको मूर्खता थियो वा विद्वता ? अनि, ९ कक्षामा भर्ना गरेको विद्यार्थीलाई एसएलसीमा राम्रो गर्न सक्छ भनेर १० कक्षामा भर्ना गर्ने स्कुलको अपेक्षालाई पोखरेलले कसरी सम्बोधन गरे ? त्यो पाठकको खुलदुलीलाई लेखकले बताउन सकेका छैनन् ।
भूमिगत जीवन, आमाको सम्झना र विश्वास
पोखरेल माम्खाको एसएलसी छोडेर जनकपुर आएपछि नै पहिलोपल्ट जुलुसबाट पुलिस हिरासत पुगेका हुन् । एसएलसीका लागि उनका सहायक हेडसरले उनलाई जमानीमा छुटाएर एसएलसी दिलाए । उनी आईए पढ्दा जलेश्वर कारागारमा थिए । आमालाई यो कुरा थाहा नहोस् भन्थे । कीर्तिपुरको पढाई सकेर भूमिगत भएपछि उनका भूमिगत जीवनका कथाव्यथा यो पुस्तकले पाठकलाई बुझाउँछ । मधेशको प्रचण्ड गर्मी, भोक तिर्खा, दिउँसो शरीरमा माटो दलेर गर्मी छलेका दिनहरू साँच्चै हृदय विदारक छन् ।
यी सबै घटनामा आमाको छोराप्रतिको विश्वास कम छ अर्थात्, छोरा के का लागि जेल गयो ? आमालाई थाहा छैन । तर, जब पोखरेल जलेश्वर काराकारमा केशव कोइरालासँगै छन् भन्ने सुनेपछि आमालाई मेरो छोरा राम्रै कामकालागि जेल गएको रहेछ भन्ने विश्वास आमालाई भएको कथाहरू यो पुस्तकमा पढ्न पाइन्छ ।
पुस्तकमा मीरा म्याडम (पत्नी मीरा सैँजु) सँगको विवाह, आमाले बुहारी भेट्न चाहेको र बुहारी भेटपछि आमाले बुहारीप्रति देखाएको माया, ६५ वर्षपछि उपप्रधान तथा रक्षा मन्त्री हुँदा पहिलोपल्ट मावली घर पुगेको प्रसंग अत्यन्तै रोचक छन् । सीपी मैनाली र पोखरेलको चीन यात्राको क्रममा, चीन प्रवेशदेखि विभिन्न भूभागहरू घुमेका विवरण छन् । तर, चिनियाँ सेनाले चीनबाट फर्कँदा चीनमा टिपेका टिपोटहरू ल्याउन नदिएको यथार्थतालाई पुस्तकले समेटेको छ ।
किताबमा वर्णन गरेर मात्रै होइन, ईश्वर पोखरेलकी आमा साँच्चै महान् हुनुहुन्थ्यो । आफू मर्ने वेलामा आमाले महान् कार्य आँखा दान गर्नुभयो । एउटा छोराले आफ्नी आमाका नेत्र ज्योतिबाट कसैले संसार हेरिरहेको प्रसङ्ग उप्काउँदा र एउटा छोराको भावनाबाट आमाको बाल्यकालदेखि मृत्युसम्मको महान् सोच र कर्मले कुन सन्तानले गौरव गर्दैन होला, लेखकले यो पुस्तकमा आफ्नो आमाप्रतिको सम्मान भावलाई माथिल्लोस्तरबाट उजागर गरेका छन् ।
म्याक्सिम गोर्कीका ‘पावेल’ र ईश्वर पोखरेलकी आमा
ईश्वर पोखरेलकी आमालाई रुसी साहित्यकार म्याक्सिम गोर्कीद्वारा लेखिएको र सन् १९०६ मा प्रकाशन गरिएको ‘आमा’ उपन्याससँग पनि तुलना गर्न सकिन्छ । रुसी क्रान्तिकालीन यथार्थता, मजदुर आन्दोलन र राजनीतिक सचेतनालाई केन्द्रमा राखेर लेखिएको मदर उपन्यासले सुरुमा डरपोक, चुपचाप र परम्परागत जीवन बाँचिरहेकी एक मजदुरकी आमा । तर, उनको छोरा पावेल जब क्रान्तिकारी विचारमा लाग्छ, त्यसपछि पाभेलकी आमा पनि उसको विचार, सपना, र संघर्ष बुझेर क्रान्तिकारी सचेतनाको मार्गमा हिँडेजस्तै ईश्वर पोखरेलकी आमा पनि उनको संघर्ष बुझेर बद्लिएको उक्त पुस्तकबाट बुझ्न सकिन्छ ।
फरक यत्ति हो, गोर्कीको उपन्यासमा वर्णन गरिएकी आमा क्रान्तिमा समर्पित भइन्, पोखरेलकी आमा परिवार र संस्कारमा केन्द्रित भइन् । गोर्की उपन्यासकी आमा मजदुर वर्गकी आमाकी प्रतीक थिइन् । पोखरेलकी आमा नेपाली ग्रामीण परिवेशकी आदर्श आमा थिइन् । पावेलकी आमाले राजनीतिक उत्पीडनविरुद्ध संघर्ष गरेकी थिइन् भने पोखरेलकी आमाले पारिवारिक रूपमा देखिएको आर्थिक अभावविरुद्ध एक्लो जिन्दगी बोकेर आफ्ना सन्तानहरूको खुसी र शिक्षादीक्षाकालागि संघर्ष गरेकी थिइन् । उहाँकी आमाको निरन्तरको स्नेह र संस्कार नै त ईश्वर पोखरेलको आजको व्यक्तित्वको पहिलो पाठशाला थियो । पाठकहरूलाई पोखरेलको आमा सपना र ताराहरूले यही कुरा पढाउँछ । परिवर्तनको आन्दोलनमा नेपालको तत्कालीन आर्थिक राजनीतिक र आर्थिक चेतना र धरातल कस्तो थियो भन्ने कुराको यथार्थताको चित्रण समेत गर्दछ ।
अन्त्यमा मलाई पुस्तक पढ्दा यस्तो लाग्यो,
आमाप्रतिको समर्पणमा पोखरेल भावनाको नदीमा बगिरहेका छन्, जहाँ न श्रद्धाको किनारको टुङ्गो हुन्छ । न त्यहाँ प्रेमको गहिराइको अन्त्य । पोखरेललाई अर्को कृतिकोलागि अग्रिम शुभकामना ।

Leave a Reply